काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म संघीय राजधानी काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन आयोजना गर्ने गरी तिथिमिति तय गरेर महाधिवेशनसम्बन्धी गतिविधिहरु सुरु गरिसकेको छ । यद्यपि, चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप लिँदा कांग्रेसले महाधिवेशन उन्मुख गतिविधिहरु अपेक्षाकृत ढंगले अघि भने बढाउन सकेको छैन ।
कोरोनाभाइरसको सन्त्रास र भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको ‘लकडाउन’ (बन्दाबन्दी) र निषेधाज्ञाका कारण कांग्रेसले महाधिवेशनका लागि तय गरेको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिकाअनुरुप पार्टीका आन्तरिक संरचनाहरुको समायोजन र क्रियाशील सदस्यता नवीकरण तथा वितरण गर्न नसकेका कारण पूर्वनिर्धारित मितिमा महाधिवेशन सम्पन्न नहुने निश्चितप्रायः छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।
नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ । यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।
विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ ।
कांग्रेसले कोभिड–१९ को महामारीकै कारण संरचना समायोजनमा ढिलाइ भएको बताइरहेको छ । कोभिड–१९ को महामारीले कार्यतालिका प्रभावित भएका कारण पूर्वनिर्धारित मितिमा आगामी महाधिवेशन सम्पन्न गर्न कठिनाई हुने नेताहरु पनि बताउँदै आएका छन् । यद्यपि, पनि आगामी महाधिवेशनमा सभापति पदमा उमेदवारी दिने आकांक्षी नेताहरु भने आन्तरिक तयारीमा जोडतोडका साथ लागेका छन् ।
सरकारले लागु गरेको ‘लकडाउन’ र निषेधाज्ञामा भौतिक रुपमा सम्भव नभएपछि उनीहरु ‘भर्चुअल’ विधि अपनाएर आ–आफ्नो तयारी गरिरहेका छन् । यसरी तयारी गर्ने नेताहरुमा संस्थापनइतर समूहमा रहेका नेताहरु अग्रपंक्तिमा देखिएका छन् । उनीहरु एकल रुपमा आफू निकटका नेता–कार्यकर्ताहरुदेखि संस्थापनइतर समूहका अन्य आकांक्षीहरुसँग सामुहिक रुपमा ‘भर्चुअल’ संवाद गर्दै आएका छन् ।
तर, सभापति शेरबहादुर देउवा भने फरक ढंगले शक्ति आर्जन गरेर झन् बलियो बन्ने दाउमा लागेका छन् । उनी इतर समूहका आवाज सुनेको नसुन्यै गरेर आगामी महाधिवेशनमा झन बलियो बन्न प्रयासरत देखिन्छन् । इतर समूहको विरोध र आलोचनाका बीच सभापति देउवाले विभिन्न २० वटा विभागहरुमा नेता–कार्यकर्ताहरु ‘सेटल’ गरेर शक्ति सञ्चय गरेका छन् ।
कांग्रेसको विधानअनुसार एउटा विभाग बढी ५१ सदस्यीय बनाउन सकिन्छ । तर, गठन भएका विभागहरु सबै ५१ सदस्यीय भने बनाइएका छैनन् । सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको विरोधका बीच फेरि नौ वटा विभाग गठनको तयारीमा छन् । देउवा उपसभापति विजयकुमार गच्छदारलाई तीनवटा विभाग दिएर थप नौ विभाग गठनको तयारीमा रहेका उनीनिकट एक केन्द्रीय सदस्यले पुष्टि गरेका छन् ।
महाधिवेशनको मिति निर्धारण भइसकेको अवस्थामा विभाग गठन र विस्तारलाई सभापति देउवाले दिएको निरन्तरतालाई पौडेल समूहले विधान विपरीत भन्दै आएको छ । विभाग विस्तार र गठनलाई पौडेल समूहले आशन्न निर्वाचनलाई प्रभावित पार्नका लागि थप शक्ति आर्जनको प्रयासका रुपमा अर्थ्याइरहेको छ ।
तर, सभापति देउवाका विश्वास पात्रमध्येका एक केन्द्रीय सदस्य रमेश लेखक भने विभाग गठन र विस्तारलाई आगामी महाधिवेशनको तयारीका रुपमा लिन नहुने तर्क गर्छन् ।
पार्टीको आशन्न महाधिवेशन सफलतापूर्वक सम्पन्नका लागि गर्नुपर्ने आवश्यक कामहरु अन्तर्गत विभागहरु गठन र विस्तारको काम भइरहेको उनको आशय छ ।
“सभापतिले फेरि उमेदवार बन्न चाहनुभएको छ । तर, विभाग गठनलाई महाधिवेशनमा लड्ने तयारीसँग जोडिएको विषय हो जस्तो मलाई लाग्दैन,” नेता लेखकले बाह्रखरीसँग भने, “सभापतिको पहिलो दायित्व महाधिवेशन गर्ने नै हो । महाधिवेशन सफलतापूर्वक कसरी सम्पन्न भन्ने कुरामा उहाँको ध्यान केन्द्रित छ । त्यहीअनुसार गतिविधिहरु भइरहेका छन् ।”
विभाग गठनमा ढिलाइ भएको स्वीकार गर्दै उनले इतर समूहले भने जसरी सभापति देउवाले विभाग गठननै गर्न नपाउने कुरामा सहमत हुन नसकिने प्रतिक्रिया दिए ।
“विभाग गठनका दुईटा कुरा छन्– पहिलो, सभापतिले गठन गर्न पाउने नै हो, यसमा दुविधा छैन । दोस्रो, तर गठन गर्ने कुरामा ढिला भएको, यो पनि दुविधा छैन,” लेखकले भने, “चाँडो गरेको भए राम्रो हुन्थ्यो । ढिलो गरेको कुराले आलोचनाको विषय बनेको हो ।”
सभापति देउवाका विश्वास पात्रमै पर्ने अर्का केन्द्रीय सदस्यले विभाग गठन र विस्तारलाई आगामी महाधिवेशनको उमेदवारीका लागि तयारीका रुपमा लिन सकिने प्रतिक्रिया दिएका छन् । सभापति देउवाले इतर समूहमा रहेका आकांक्षी नेताहरुले जस्तो इन्टरनेटका माध्यमबाट नेता–कार्यकर्ताहरुसँग अन्तरक्रिया नगरे पनि आन्तरिक तयारी भइहरेको उनको भनाइ छ ।
“सभापतिजीले फेरि उमेदवारी दिने इच्छा राख्नुभएको कुरा साचो हो । पार्टी सभापतिले अरु नेताहरुका जसरी गुटको भेला बोलाएर, गुटका नेताहरुलाई जुममा बोलाएर छलफल गर्ने कुरो हुँदैन,” उनले बाह्रखरीसँग भने, “देशभरका नेता–कार्यकर्ताहरुसँग नियमित सम्पर्कमा हुनुहुन्छ । महाधिवेशन सम्पन्न गर्नका लागि गर्नुपर्ने कामहरु मध्ये विभाग गठन भइरहेका हुन् । अब यसलाई जसरी ब्याख्या गरे पनि भयो ।”
यस्तै १३ औं महाधिवेशनमा जिताउन सहयोग गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहमा आवद्ध एक केन्द्रीय सदस्यले विभाग गठन गरेर सभापति देउवा थप शक्तिशाली बनेको प्रतिक्रिया दिए । देउवा १३ औं महाधिवेशनभन्दा झनै शक्तिशाली बनेको बताउँदै उनले भने, “देउवा पहिलेभन्दा अहिले एकदमै बलियो हुनुभएको छ । विभागहरु गठन गरेर थप शक्ति आर्जन गर्नुभएको छ ।”
पार्टीको केन्द्रीय कार्यालय आफू अनुकूल प्रयोग गरेर, अन्य पार्टी बिघटन र परित्याग गरेर आएका नेताहरुलाई आफू अनुकुल बनाएर शक्ति आर्जनमा लागेका सभापति देउवा विभाग गठन गरेर अझै शक्तिशाली बनेको ती नेताको भनाइ छ ।