site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
अदालतमा समिति होइन, भ्रष्ट न्यायाधीशलाई कारवाही गर्ने कानुन आवश्यक छ 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्, बलराम केसी । सर्वोच्च अदालतमा न्यायाधीश बहाल रहेकै बेला न्यायपालिकामा भ्रष्टाचार छिर्‍यो, अनुसन्धान हुनुपर्छ भनेर उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए ।  सर्वोच्च अदालत आफैँले भ्रष्टाचार, विकृति, विसंगति खोज्न भन्दै पटक–पटक समिति गठन पनि गर्‍यो । 
तर, समितिले दिएका प्रतिवेदनहरु दराजमै थन्किएका छन् । अहिले पुनः त्यस्तै नयाँ समिति गठन गरिएको छ ।  पूर्वन्यायाधीश केसी नयाँ–नयाँ समिति गठन गर्ने भन्दा पहिलेका प्रतिवेदन कार्यान्वयन गर्नु उपयुक्त हुनुपर्ने बताउँछन् ।  संविधान जारी भएको पाँचवर्ष भइसक्दा अझै सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्ने ऐन नबनेको पनि केसीले बताए । 

सो ऐन बनाउनेतर्फ सरोकारवालाको ध्यान जानुपर्नेमा उनको जोड छ ।  उनै पूर्वन्यायाधीश केसीसँग न्यायपालिकाको कार्यसम्पादन, भ्रष्टाचार खोज्नका लागि गठित समिति र न्यायपालिकासँग सम्बन्धित विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि जगन्नाथ दुलालले गरेको कुराकानी : 

न्यायपालिकाका सन्दर्भमा पछिल्ला दिनमा भइरहेका टिकाटिप्पणीलाई यहाँले एकजना पूर्वन्यायाधीशका हिसाबले कसरी लिनुभएको छ ?

Dabur Nepal

न्यायपालिकामा न्यायाधीश नियुक्तिमा विवाद थियो । अब पेशी तोक्ने र मुद्दा फैसलामा पनि विवाद उक्लियो । विवादले सीमा नाघ्यो । यसको मतलव, के देखियो भने न्यायाधीश राजनीतिक भागबण्डाका आधारमा भयो । त्यो हुनुहुँदैन भन्नेमा कडा विवाद थियो । तर पनि त्यसलाई महत्व दिइएको थिएन ।
अहिले पेशी तोक्दा पनि पक्षले चाहेअनुसार हुन्छ । फैसला पनि त्यस्तै आउँछ भन्ने विवाद भयो । फैसलामाथि नै शंका भयो ।  न्यायपालिकाको सन्दर्भमा नेपाल बार एसोसियसनजस्तो आधिकारिक संस्था अरु हुँदैन । बार अदालतकै अभिन्न अंग हो । 
बारले प्रतिवेदनमै न्यायाधीश नियुक्ति भएन भनेर भन्यो ।

फैसला पनि पुनः अध्ययन गर्नुपर्छ भन्यो । नाम त तोकेन तर, केही न्यायाधीशहरुलाई लामो समय तालिम दिनुपर्छ भनेर भन्यो । यसले आजको न्यायपालिका बिरामी भएर अस्पतालको इमर्जेन्सी वार्डमा बसेको अवस्थाजस्तो देखियो । 

अदालतभित्रका विकृति, विसंगति र भ्रष्टाचार खोज्नका लागि विशेष समिति गठन भएको छ । यसअघिका समितिले दिएका प्रतिवेदनहरु अलपत्र छन् । नयाँ समितिबाट केही आशा गर्न सकिन्छ ? 

हरेक प्रधानन्यायाधीशले समिति गठन गर्ने, प्रतिवेदन बुझ्ने चलन देखियो । प्रतिवेदन बुझ्ने बेलामा अवकाशको बेला आइसक्छ । त्यतिबेला मैले जिन्दगीभर न्यायपालिकामा बिताएँ, अवकाश भएपछि न्यायपालिकाका लागि ज्यान दिन्छु भन्ने भाषण गर्दै बिदाइ खाएर मोटरको झण्डा झिकेर चिल्लो सरकारी गाडी फिर्ता नगर्ने शर्तमा लिएर जानेतर्फ फेसन बढ्यो । 

त्यसले गर्दा प्रतिवेदन बेवारिसे भयो । समिति गठन, प्रतिवेदन बुझ्ने र प्रतिवेदन थन्कने, कार्यान्वयन नहुने अवस्था आयो । अदालतको विकृति विसंगति अध्ययन गर्नेसम्बन्धमा त विभिन्न न्यायाधीशको अध्यक्षतामा ३–४ वटा प्रतिवेदन बनिसकेको हुनुपर्छ मैले सम्झेसम्म । 
चलन के भयो भने कुनै विषय उठेपछि त्यसलाई पन्छाउनका लागि समिति गठन गरिदियो । 

प्रतिवेदन आउँदा अवकास हुने बेला आइसक्छ । अनि, पछि आउनेले अर्को समिति गठन गरिदिने चलन भयो ।

जवाफदेहीता पन्छाउने ट्रेन्डले अदालत चल्दैन । विकृति त पहिल्यै थियो । अहिले समिति गठनको विकृति देखिएको छ । पहिलाको प्रतिवेदन हेरेर एकएक कार्यान्वयन गरिसकेपछि अनि कमी रहेछ भने कमिटी गरे भयो नि ! नयाँ कमिटीका सदस्यहरुलाई पनि पहिलेकै कार्यान्वयन गरेको छैन यो पनि त्यस्तै हुने कि भनेर झर्को लाग्न पनि सक्छ । त्यसैले अहिले पन्छने बाटोतिर ट्रेन्ड गइरहेको छ । अहिले अदालत अस्पतालको झन्डैझन्डै इमर्जेन्सी वार्डजस्तो छ । यसलाई प्रधानन्यायाधीशले धेरै मेहेनत गरेर सुधार गर्नुपर्छ । 

विशेष समिति गठन गर्नुलाई अदालतभित्र विकृति, विसंगति, भ्रष्टाचार र विचौलियाको बिगबिगी छ भन्ने स्विकारोक्तिका रुपमा पनि बुझ्न सकिन्छ ? 

बल्ल बल्ल स्वीकार्‍यो । मैले सर्वोच्च अदालतमा न्यायाधीश हुँदै ०६७ सालमा न्यायाधीशको च्याम्बरबाटै पत्रिकाहरुमा अन्तर्वार्ता दिएको थिएँ । न्यायपालिकामा भ्रष्टाचार छिर्‍यो, यसलाई अनुसन्धान गरेर कारवाही गरिएन भने यो फैलिन्छ भनेर त्यतिबेलै मैले भनेको थिएँ । 

त्यसो भनेँ भनेपछि २–४ जना न्यायाधीश केही दिन मसँग बोलेनन् पनि । न्यायाधीश भएर अदालतमा भ्रष्टाचार छ भनेर भन्ने तपाईं भनेर मलाई भने । मैले भएको भ्रष्टाचार छ भन्दा के भयो र ? मैले कसैलाई भ्रष्टाचारी देखाएको छैन भनेर भनेँ । घुस खान न्यायाधीश हुने होइन भनेर पनि मैले अन्तर्वार्तामा भनेको थिएँ । 
पैसा कमाउने भए व्यापार गरे हुन्छ भनेको थिएँ ।

अदालतमा भ्रष्टाचारसँगै विकृति, विसंगति छिर्छ । विकृति र विसँगतिभित्र भ्रष्टाचार छिर्दैन । ठूलो घेरा भ्रष्टाचार हो । 

तपाईंको विचारमा न्यायालयमा हुने भ्रष्टाचार रोक्न के गर्नुपर्ला ? 

अहिलेको कानुनअनुसार सर्वोच्च अदालतका न्यायाधीशहरुलाई भ्रष्टाचारमा कारवाही गर्ने ऐन छैन । संविधानअनुसार ऐन छैन भने त्यो अपराध हुँदैन ।  आज तपाईं हामीले खसी र राँगो मार्न पाइन्छ । भोलि खसी र राँगो मार्न नपाइने कानुन बन्यो भने त्यो अपराध हुन्छ । आज कानुन छैन र हामी खसी, कुखुरा र राँगो खान्छौं । त्यस्तै, आजको दिनसम्म सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्ने ऐन छैन ।  नयाँ संविधान लागु भइसकेपछि सर्वोच्च अदालतको न्यायाधीशलाई कारवाही गर्ने अधिकार झिकियो । न्यायपरिषद्ले भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतका न्यायाधीशलाई कारवाही गर्न सक्दैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सक्दैन । 

संघीय कानुन बनाएर मात्र भ्रष्टाचारमा कारवाही गर्ने भनेको छ संविधानले । संविधान लागु भएको ५ वर्ष भयो अहिलेसम्म कानुन बनेको छैन । भ्रष्टाचारमा कारवाही गर्ने कानुन बनाउनुको सट्टा समिति बनाएर रोगको उपचार हुँदैन । 

सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्नसक्ने कानुन बनाउनका लागि कसैको चासो देखिएन नि ! 

प्रधानन्यायाधीशले प्रधानमन्त्रीलाई भेटेर र सांसदहरुलाई सार्वजनिक रुपमै सम्बोधन गरे हुन्छ । अदालतमा भ्रष्टाचार बढ्यो भनेर गुनासो आयो । आजको कानुनअनुसार सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्ने ऐन छैन । प्रजातन्त्रमा कोही पनि अनुत्तरदायी हुनुहुँदैन । प्रजातन्त्रमा राष्ट्रपति पनि संविधानमुनि हुन्छ । कसैले पनि भ्रष्टाचार गर्‍यो भने कारवाही गर्नुपर्छ । आजको दिनसम्म सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचार गर्‍यो भने कारवाही गर्ने ऐन नै बनेको छैन । 

अहिले मिडिया र बारले नै सर्वोच्च अदालतमा भ्रष्टाचार छिर्‍यो भनिसक्यो । ऐन नभइकन प्रजातन्त्रमा कारवाही गर्न मिल्दैन । प्रधानन्यायाधीशले पहिलेको प्रतिवेदन कार्यान्वयन गरिदिएको भए हुने थियो । अहिले प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई र प्रधानमन्त्रीलाई पत्र लेखेर भ्रष्टाचारमा न्यायाधीशलाई कारवाहीका लागि ऐन नभए पनि तुरुन्त अध्यादेश ल्याउनुस् भनेको भए पनि हुन्थ्यो । आवश्यक्ता त्यहाँ थियो ।

नयाँ समिति गठनभन्दा अहिले प्रधानन्यायाधीशको प्राथमिकतामा पहिलेका समितिले दिएको प्रतिवेदन कार्यान्वयन हुनुपथ्र्यो भन्नेमा यहाँको जोड हो ? 

अनुपराज शर्मा, रामप्रसाद श्रेष्ठ, श्रीहरी अर्याल र नेपाल बार एसोसियसनले पनि प्रतिवेदन दिएको थियो ।   बारले बनाएको प्रतिवेदनलाई सर्वोच्च अदालतले मेरो होइन भन्न पाउँदैन । सुधारका लागि जसको प्रतिवेदन पनि हेर्नुपर्छ । लागु गर्नुपर्छ । त्यसकारण अहिले नयाँ समिति गठन गर्नुको साटो पहिलेका प्रतिवेदनहरु भटाभट कार्यान्वयन गरिसकेपछि अनि पनि नपुग भयो भने नयाँ समिति बनाएको भए हुनथ्यो । अहिले मुद्दा थुप्रिएको छ । सर्वोच्चमा दुईजना न्यायाधीश कम छन् । त्यता डिस्टर्ब नगरिकन मुख्य रजिष्ट्रारलाई हेर्न लगाएको भए पनि हुन्थ्यो । 

नेपालमा प्रधानमन्त्री अध्यादेश ल्याउन सिपालु हुनुहुन्छ । दल फोडेर भागबण्डा मच्चाउने अध्यादेश त ल्याइदिनुभयो । सर्वोच्च अदालतका न्यायाधीशलाई भ्रष्टाचारमा कारवाही गर्ने अध्यादेश त महत्वपूर्ण अध्यादेश हो । अध्यादेश ल्याइदेऊ भनेको भए पनि हुन्थ्यो । 

न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशको भूमिका कत्तिको अर्थपूर्ण हुन्छ ? 

कार्यपालिकाको कार्यकारी प्रधानमन्त्रीमा छ । त्यस्तै, न्यायपालिकाको कार्यकारी अधिकार प्रधानन्यायाधीशमा छ । संविधानको धारा १३६ मा देशको न्यायपालिका सुधार र प्रभावकारी बनाउनका लागि एक्लो अधिकार प्रधानन्यायाधीशलाई दिएको छ ।  प्रचलित कानुन ननाघ्ने गरि प्रधानमन्त्रीले अरु मन्त्रीको वास्तै नगरि काम गर्न सकेजस्तै न्यायपालिकाभित्र सुधारको काममा अरु न्यायाधीशहरुको सहारा लिनैपर्दैन । आफैँ गर्न सक्छन् ।

संविधानको धारा १३६ संविधानको पानामा निदाएरै बसेको छ । कार्यान्वयन भएको छैन । प्रधानन्यायाधीशले संविधानको पाना पल्टाएर मलाइ न्यायपालिकालाई प्रभावकारी बनाउने अधिकार दिएको रहेछ भनेर उहाँ त्यता लाग्नुपर्थ्यो ।  उहाँको त दुईवर्ष कार्यकाल बाँकी छ । दुईवर्ष उहाँले प्रतिवेदन भटाभट कार्यान्वयन गरेर प्रतिवेदन सम्पूर्ण रुपमा कार्यान्वयन गरेपछि अपुग देखेमा अहिलेको समिति गठन गरिदिएको भए हुन्थ्यो । 

न्यायाधीशको त बहुमुल्य समय छ । न्यायाधीशको समय खेर जाँदैनथ्यो । अहिले त समय पनि खेर जाने भयो । पहिलेका प्रतिवेदन अब के हुने त ? ती प्रतिवेदन ‘डेट एक्स्पायर’ हो अब ? त्यसो हो भने त फाल्नुपर्छ । सर्वोच्चले गठन गरेका समितिका प्रतिवेदन फ्याँक्दै जाने त ? 

न्यायपालिकामा बेथिति र विकृतिको चाङ छ भनिन्छ । त्यसको खास कारणचाहिँ के हो ? 

५ जना सदस्य भएर मात्र न्यायपरिषद् बन्छ । ३ जनाले बन्दैन । कुनै कारणले २ जना रिक्त भए पनि अर्को पूर्ति नभइकन काम गर्न पाइँदैन ।  २ जनालाई अवकाश दिएर पनि ३ जनाले यहाँ भरमार नियुक्त गरियो । त्यसपछि त्यही सिकेर वर्षमान पुन र रमेश लेखकलाई अगाडि राखेर राति १२ बजे एकजना सदस्य रिटायर्ड र अर्को सदस्य उठेर गइसकेपछि बाँकीले भागबण्डामा न्यायाधीश नियुक्त गरे । 

तिनले हामीले ६–६ जना भागबण्डा गर्‍यौं भनेर अन्तर्वार्ता नै दिए । यी दुईवटैलाई महाभियोग लगाउनुपर्छ भनेर लेखेको थिएँ मैले । बिग्रने काममा संसद् चुप लागेर बस्यो । न्यायपालिकाका लागि लडेका वरिष्ठ अधिवक्ता शम्भु थापाले यस्ता न्यायाधीशलाई नियुक्त गर्नुहुँदैन भनेर सर्वोच्च अदालतमा रिट पनि दिनुभयो । संसदीय सुनुवाई समितिले पारित गरिदियो । संसद् पनि उस्तै छ । तौल निकालेर जोख्नुभयो भने सपार्नमा होइन बिगार्नमा कोही पनि कम छैन । अनि बिग्रँदैन ? विकृति एकदमै बढ्यो । यो न्यायपालिकाको लागि खतरा हो । प्रधानन्यायाधीशसँग २ वर्षको समय छ । उहाँले समयलाई पनि दोष दिन पाउनुहुन्न । प्रधानन्यायाधीश हुनेबित्तिकै उहाँले भाषण पनि गर्नुभएको थियो । आश पलाएको थियो । तर, उहाँ पनि निर्विवाद पात्र त होइन । सुन तस्करी काण्डमा उहाँले राम्रो काम गर्नुभएको पनि हो । तर, के कारणले हो निरन्तरता दिन सक्नुभएन । 

अहिले संवैधानिक आयोगहरुमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भागबण्डाको कुरा आएको छ । यसरी आयोगहरुमा भागबण्डाका आधारमा नियुक्ति गर्न मिल्छ ? 

नेपालमा प्रतिपक्ष छैन । जस्तो भारतमा भारतीय कांग्रेस बिलाउँदै गएको छ । नेपालमा पनि नेपाली कांग्रेसको त्यही रुप हुँदैछ । यस्तो पनि प्रतिपक्ष हुन्छ ? विनाकारण संसद् अन्त्य गरियो । देशमा यति धेरै जल्दाबल्दा समस्याहरु छन् । त्यहाँ आवाज उठाउँदैन । भागबण्डाको नियुक्तिमा प्रतिपक्षी दल ढुकेर बसेको छ । प्रतिपक्षी दलमा पनि तगडा युवाहरु छन् । उनीहरु पनि शिथिल भएर गए । यहि ताल हो भने कांग्रेस अझै खुम्चने छ । प्रजातन्त्रमा प्रतिपक्षी भए पनि पञ्चायतमा परिणत हुन्छ । पञ्चायतमा त कमसेकम राजाको डर थियो । पञ्चायतका मान्छेहरु राजादेखि डराउँथे । 

संवैधानिक परिषद्मा छलफल गरेको फोटो सञ्चारमाध्यममा देख्नुभएन ? त्यहाँ प्रधानमन्त्री, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा थिए । 

संविधानले संवैधानिक परिषद्मा प्रचण्डलाई चिन्दैन । त्यो छलफलमा उहाँलाई बस्ने अधिकार नै हुँदैन । प्रतिपक्षी दलको नेता भनेको मान्छे परिषदको बैठकमा भागबण्डाको कुरा गरिराखेको देखिन्छ । प्रधानन्यायाधीशसहित बस्नुपर्छ । बैठक औपचारिक हुनुपर्छ । अब यो भागबण्डा मिल्छ । ३ जना बसेका थिए, सबैले ३३–३३ प्रतिशत ताकेका होलान् । 

आगामी दिन कस्तो देख्नुहुन्छ ? 
यही ट्रेन्ड चालू हो भने जनताको आशा अदालतप्रति मर्दैजान्छ । कार्यपालिकाप्रति त जनताको आशा मरेकै छ । यसले कानुनी शासनलाई थेग्न सक्दैन । अन्याय भएर मानिस सडकमा ओर्लिने अवस्था आयो भने यो संविधाननै खतरामा पर्न सक्छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro