माओवादी केन्द्र र एमाले नामका दुई कम्युनिस्ट पार्टीबीच संसदीय निर्वाचनमा भएको गठबन्धनले उल्लेख्य बहुमत प्राप्त गरेर सरकार बनायो । त्यसपछि यी दुई दलबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल बन्यो । त्यस दलले सरकार चलाएको पनि साढे दुई वर्ष बितिसकेको छ ।
अहिले नेकपाभित्र शक्ति संघर्षले चरम रुप लिँदा दल नै विभाजित हुनेसम्मको शंका बढेको छ । यस गठबन्धनले निर्वाचनमा सचेत मतदातालाई समेत दिग्भ्रमित बनाउने अभिव्यक्ति र घोषणा पत्र प्रस्तुत गरेको थियो । उनीहरूलेआफूलाई वामपन्थी, कम्युनिस्ट, लोकतन्त्रवादी, समाजवादी, सुधारवादी, विकासवादी आदि सबै बनाउन खोजेका थिए । यसरी मतदातालाई भ्रममा पार्न खोजिएको छ । अन्य विषयमा धेरै छलफल गर्नु नपर्ला तर यो पार्टी ‘वामपन्थी’ कि ‘कम्युनिस्ट’ भन्ने विषयमा भने नेकपाले प्रष्ट गर्न सकेको छैन । त्यसैले यस आलेखमा यी दुई सिद्धान्तबीचको पृथकताको बारेमा छलफल गर्ने प्रयास गरिएको छ ।
वामपन्थ र कम्युनिज्म (साम्यवाद) भिन्न सिद्धान्त हुन् । नेपालमा सामान्यरूपमा कम्युनिस्टहरूलाई वामपन्थी र लोकतन्त्रवादीलाई दक्षिणपन्थी पनि भन्ने गरिएको पाइन्छ । आखिर के हो त वामपन्थी राजनीति ? यसको इतिहास हेर्ने फ्रान्ससम्म पुग्नुपर्छ । फ्रान्सको राज्य क्रान्तिका बेला अर्थात् सन् १७८९ देखि १७९९ सम्मको अवधिमा राजावादी र यथास्थितिवादी सोच राख्ने एउटा, क्रान्तिकारी अथवा आमूल परिवर्तन चाहने अर्को गरी दुई राजनीतिक शक्ति क्रियाशील थिए । यसै विषयमा छलफल गर्न इस्टर्न जनरल (फ्रेन्च संसद्) को बैठक बोलाइएको थियो । त्यस सदनमा यथास्थितिवादी दायाँतर्फको स्थानमा र राजतन्त्रको विरोध गर्ने, क्रान्तिकारी, गणतन्त्रवादी र धर्म निरपेक्षताका पक्षमा बहस गर्नेहरूलाई बाँयातर्फ राखिएको थियो । त्यही आधारमा दायाँतर्फ र वायाँतर्फ रहनेहरू क्रमशः दक्षिणपन्थी र वामपन्थीका नामले सम्बोधित हुन थाले । यसैलाई अरू देशमा पनि अभ्यास गरियो ।
विश्व राजनीतिमा दक्षिणपन्थी राजनीतिकै बाहुल्य थियो र अझै पनि छ । दक्षिणपन्थी राजनीतिले सञ्चालन गरेका प्रणालीबाट उपेक्षित भएका, नसमेटिएका, असन्तुष्ट रहेका, पछि परे/पारिएकाका पक्षमा वकालत गर्दै यस्ता असन्तुष्ट समूहहरूलाई समेटी वामपन्थी राजनीति अघि बढ्छ । वामपन्थीहरू धार्मिक र राजनीतिक हिसाबले यथास्थितिवादी सोचबाट अघि बढ्दै सुधारका पक्षमा लाग्छन् । अन्यायमा परेका कमजोर वर्गको सहानुभूति र सहयोगबाट अस्तित्वमा रहन्छ । राजनीतिक र आर्थिक प्रणालीको मुख्य पक्षमाथि राज्यको नियन्त्रण रहन्छ । मजदूरी गरी जीविकोपार्जन गर्ने श्रमजीवीहरूको पक्षमा प्रतिबद्ध रही समानतावादी समाजको सृजना गर्नुलाई गन्तव्यको रूपमा लिने गर्छन् ।
वामपन्थीहरूको वर्गीकरणसमेत विभिन्न प्रकारले गरिएको छ । केद्रीय वामपन्थी धार यसको सबैभन्दा प्रारम्भिकरूप हो । यसमा लोकतन्त्रका विशेषता पाइन्छ । यसको अर्को तह भनेको उदारवादी धार हो । उदारवादको विकास हुँदै जाँदा समाजवादमा पुगिन्छ । समाजवाद हुँदै साम्यवाद र साम्यवादको विकसितरूपमा अधिनायकवादको अन्तिम बिन्दुमा पुगिन्छ । वामपन्थी धारको प्रारम्भिक यात्रा केन्द्रीकृत वामपन्थी हो भने विषम बिन्दुका रूपमा कम्युनिस्ट अधिनायकवाद, सर्वसत्तावाद, एकदलीयतन्त्र सबै विशेषता समेटी अघि बढ्छ । संरक्षणवादले महत्व पाउँछ । स्वदेशी उत्पादनले प्रोत्साहन पाउने हुँदा स्वतन्त्र व्यापार, भूमण्डलीकरण र आर्थिक उदारीकरणका विपक्षमा प्रस्तुत हुने रणनीति अवलम्बन गर्छ । आर्थिक प्रणालीमा सरकारी हस्तक्षेप हुन्छ । केन्द्रबाटै आपूर्तिमुखी योजना तयार पारी कार्यान्वयनमा लगिन्छ । यस प्रकार सुधार प्रक्रियामा तल्लीन रहने राजनीतिक धार नै वामपन्थ हो ।
कम्युनिज्य (साम्यवाद) भिन्न राजनीतिक प्रणाली हो । यसमा लोकतन्त्रको गुञ्जायस रहँदैन । साम्यवादका बारेमा विश्लेषण गर्दा माक्र्स, लेनिन, स्टालिन र माओ त्से तुङ्गलाई स्मरण गर्नुपर्ने हुन्छ । श्रमिक र पुँजीवादी दुई वर्गबीचको सङ्घर्षको उपजको रूपमा श्रमजीवीहरूको शासनका अर्थमा कम्युनिज्मलाई लिइन्छ । माक्र्सले यसलाई वैज्ञानिक समाजवाद भनेका छन् । मार्क्सका अनुसार — अतिरिक्त मूल्यको सिद्धान्तको प्रयोग पुँजीपतिहरूबाट हुन्छ, श्रमिकहरूको शोषण गरी मार्जिन रकम सबै पूँजीपतिहरूले लिन्छन । पुँजी, प्रविधि र जमिनमाथि पुँजीपतिहरुकै आधिपत्य हुन्छ । यसैको आधारमा श्रमिकहरू माथि शोषण हुन्छ । त्यसैले अतिरिक्त मूल्यको सिद्धान्तलाई माक्र्सले लुट भनेका छन् । व्यक्तिगत पुँजीको स्थान जब सामूदायिक वा सामूहिक पुँजीले लिन्छ, त्यसलाई समाजवाद भनिन्छ । वर्तमान अवस्थासम्म आइपुग्दा देखिएको समाजको इतिहास भनेको भनेकै वर्ग सङ्घर्षको इतिहास हो । श्रमजिवीहरूको पुँजीपति विरुद्धको सङ्घर्ष भूमिगत रूपमा वा प्रकट रूपमा निरन्तर चली नै रहन्छ ।
विकसित प्रविधिको प्रयोगबाट श्रमिक शोषण अन्त्य गर्नको लागि नयाँ प्रकृतिको सङ्घर्ष पुनः सुरु हुन्छ । अन्त्यमा मजदुर वर्गको विजय हुन्छ र सर्वहारावर्गको शासन चल्छ । यस्तो शासनमा केन्द्रीय सरकार वा एक व्यक्तिको पूर्ण अधिकार स्थापित हुन्छ । सरकारी नियन्त्रण कायम हुन्छ । आयको समान वितरण गरिन्छ । धनी र गरिब हुँदैनन्, सबैले काम गर्नुपर्छ ।
सबैले परिश्रमको मूल्य समान प्राप्त गर्छन् । मेसिनको प्रयोग मजदुरहरूको कामलाई सहज बनाउन गरिन्छ । लेनिन र कार्ल माक्र्सको यस प्रकारको कम्युनिज्मलाई रसियामा स्टालिनले कार्यान्वयनमा ल्याएका थिए । प्रायः विश्वभर प्रयोगमा रहेको कम्युनिस्ट शासन यही लगभग आधारमा अघि बढेको छ । माओ त्से तुङ्गको कम्युनिज्म पृथक् खालको छ । उनले पेसाका आधारमा विभेद नगरी सबै कमजोर र उपेक्षितहरूको शासनलाई कम्युनिन्म भनेका थिए । माओले किसानहरूलाई समेटेका थिए र माक्र्सवाद र लेनिनवादलाई मिति पुगेको औषधि भनेका थिए । सबै प्रकारको साम्यवादमा एकदलीय शासन हुन्छ । सर्वसत्तावादी प्रभुत्व हुन्छ । लोकतन्त्र र साम्यवाद विपरीत सिद्धान्तहरू हुन् । त्यसैले व्यक्तिगत स्वतन्त्रताको कल्पना साम्यवादमा गरिँदैन ।
अब नेपालको सन्दर्भमा विश्लेषण केन्द्रित गरौँ । हालसम्म नेपालमा थुप्रै साम्यवादी दलहरू अस्तित्व आएका छन् । पुष्पालालले स्थापना गरेको कम्युनिस्ट पार्टी, मोहनचन्द्र अधिकारीले नेतृत्व गरेको झापा आन्दोलनबाट सृजित माले र यिनै दलहरूबाट विभिन्न समयमा टुक्रिँदै साना साना कम्युनिस्ट पार्टी अस्तित्वमा थिए । यिनै पार्टीहरूमध्येको संयुक्त जनमोर्चाले दस वर्षसम्म माओवादका नाममा भूमिगत हिंसात्मक विद्रोह गरेर १७ हजार नेपालीको हत्यापछि शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा आएको नेकपा माओवादी लगायत यी सबै नेपालका कम्युनिस्ट पार्टीहरू हुन् । यी सबै दलहरूमा केही समानताहरू पाइएका छन् । यी सबैको जन्म प्रायः हत्या हिंसाबाटै भएको छ । सबैले स्वार्थलोलुप झुण्डका रूपमा परिचय बनाएका छन् । फुटपरस्त राजनीति नै यिनीहरूको पहिचान बनेको छ ।
विसं २०४६ सालसम्म आइपुग्दा माले प्रमुख कम्युनिस्ट राजनीतिक पार्टी थियो भने २०६३ सालमा आइपुग्दा माओवादी राष्ट्रव्यापी सङ्गठन खडा गरी राष्ट्रिय पार्टीका रूपमा अग्रस्थानमा उभिन सफल भयो । अत्यन्त अस्वस्थ प्रतिस्पर्धा गर्दैगएका मालेबाट रुपान्तरित एमाले र माओवादीबीच एक्कासि २०७४ सालको निर्वाचनमा गठबन्धन भयो । यो गठबन्धन नेकपा बनेर सत्तामा छ र आफूलाई साम्यवादी, वामपन्थी, समाजवादी, लोकतन्त्रवादी, राष्ट्रवादी सबै भएको दाबी गरिराखेको छ ।
सबै यी कम्युनिस्ट दलहरू पूर्णरुपमा साम्यवादी शासन लागू गर्ने अभिष्टका साथ आन्दोलित भई समाजलाई आतङ्कित बनाई सत्तामा पुगेका हुन् । यसको प्रमाण नेपालको राजनीतिक इतिहास हो । कम्युनिज्म लोकतन्त्र, समाजवाद, वामपन्थ केही होइन, फगत सर्वसत्तावाद र अधिनायकतन्त्र हो । साम्यवादमा लोकतन्त्रको कल्पना गर्नुसम्म पनि हास्यास्पद हुन्छ ।
माक्र्स र लेनिनले तयार पारेको सिद्धान्तकै आधारमा स्टालिनले देशमा रहेका पत्रकार, बुद्धिजीवी, पुँजीपतिहरूको ठूलो सङ्ख्यामा हत्या गरी बर्बर शासन चलाएकै हुन् । कम्युनिस्टको नाममा माओले चीनमा जनगणतन्त्र ल्याउने क्रममा गरेको आन्दोलनमा एउटा प्रान्तमा मात्र १० लाख मानिसहरूको हत्या गरेका थिए । हत्या, हिंसा र आतङ्क नै कम्युनिस्टहरूको मौलिक पहिचान भएको छ । यस्ता तत्वको सामान्य उपस्थितिमा पनि लोकतन्त्रको विकास हुनै सक्दैन ।
समाजवाद भने लोकतन्त्रमा मात्र हासिल हुन्छ । हो जसबाट सामाजिक न्याय प्रदान शोषणरहित समाज निर्माणको दिशामा अग्रसर होइन्छ । वामपन्थीहरूको सिधा उद्देश्य समाजमा सुधार गर्नु हो, शासकीय कमी कमजोरी सच्याउनु हो । त्यसैले वामपन्थी राजनीतिको अभ्यास लोकतन्त्रमा राम्ररी गर्न सकिन्छ । लोकतन्त्रमा समाजवाद र वामपन्थी विचारधाराले प्रोत्साहन पाउँछ । तर, कम्युनिज्ममा लोकतन्त्र, वामपन्थ र समाजवाद स्वीकार्य हुनै सक्तैन । आधुनिक विश्वमा साम्यवाद उत्तर कोरियामा छ । जहाँ किम जोङ् परिवरको तानाशाहीतन्त्र मात्र चलेको छ ।
नेपालका कम्युनिस्ट घटकहरूमा नेकपाका अध्यक्ष केपी ओलीले पूर्वएमालेभित्र सबै (साम्यवाद, समाजवाद, वामपन्थ र लोकतन्त्र) सुदृढ गरिने प्रतिबद्धता जनाउँदै आएका थिए । यसबाट बुझ्नु पर्ने कुरा हो, कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद, लोकतन्त्र र वामपन्थ जनतामा भ्रम सृजना गर्ने नारामात्र हुन् । मूल ब्रान्ड कम्युनिज्म नै हो । ओलीले ‘वामपन्थ’ रट लगाउने र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिज्मको थेगो दोहोर्याउने गर्न छाड्नुपर्छ । जनतालाई भ्रममा राखी गरिएको राजनीतिले स्थायित्व प्राप्त गर्न सक्दैन । राजनीतिक अस्थिरताको लक्षण देखिन पनि थालेको छ । अहिलेको नेकपा वामपन्थी हुन् कि कम्युनिस्ट ? जुन कित्तामा उभिए पनि प्रस्ट हुनु जरुरी छ ।