site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बाँच्नै पर्‍यो : स्टुडियो फर्किन थाले गायक–गायिका 
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल

० ० ०

कोरोनाको जोखिमका कारण सरकारले गरेको लकडाउनकै बीचमा गायक हेमन्त शर्माले तीनवटा गीत रेकर्ड गरे । उनको अर्को एउटा गीत एरेन्जका क्रममा बीबी अनुरागीको प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा छ । अनुकूल समय पारेर केही दिनमा उक्त गीत पनि रेकर्ड गर्ने तयारीमा छन् हेमन्त । 

Prabhu Bank
Agni Group
NIC Asia

“अब विस्तारै समय अनुकूल पारेर रेकर्डिङ गर्नुपर्छ । स्रोता दर्शकले नबिर्सिउन् भनेर पनि गीत लिएर आउनुपर्ने बाध्यता छ,” उनी भन्छन् । 

गायक सत्यराज आचार्य पनि गीत गाउन स्टुडियो निस्किन थालेका छन् । पछिल्लो एक महिनामा उनले तीनवटा गीत रेकर्ड गरे । “सामाजिक दूरी कायम गर्दै पनि काममा निस्किनुपर्ने अवस्था छ । पक्कै पनि अवस्था सहज भइसकेको छैन । संक्रमणको जोखिम उत्तिकै छ । तर पनि आफैं सचेत भएर काम नगरी नहुने अवस्था आइसक्यो,” सत्यराज भन्छन्, “पहिला बाँकी रहेका र कलेक्सन एल्बमका गीत रेकर्ड गर्न थालेको छु । तर कसरी सुरक्षित हुँदै काम गर्ने भनेर आफैं सचेत हुनुपर्ने अवस्था छ ।”

Global Ime bank

आफ्नै लगानीमा सोलो एल्बम बजारमा ल्याइहाल्ने अवस्था भने तयार नभएकाले अझै पनि केही समय पर्ख र हेरको अवस्थामा रहेको उनी बताउँछन् । 

स्वरूपराज आचार्य पनि गायनमा सक्रिय हुन थालेका छन् । आफ्नै लगानीमा काम सुरु नभए पनि अरूका एल्बममा उनले पनि गाउन थालिसकेका छन् । पछिल्लो एक महिनामा उनले आधा दर्जन गीत रेकर्ड गराइसकेका छन् । 

लकडाउनकै बीच गायक–गायिकाहरू विस्तारै आफ्नो पुुरानै कर्ममा फर्किन थालेका हुन् । कोभिड–१९ का कारण तत्काल स्टेज कार्यक्रमको सम्भावना नरहे पनि रेकर्डिङमा भने गायक–गायिकाहरू फर्किन थालेका हुन् । 

गायक हेमन्त, सत्यराज र स्वरूपराज मात्रै होइन उनीहरूजस्तै अरू थुप्रै संगीतकर्मीहरू पुरानै लय समाउने प्रयासमा जुट्न थालेका छन् । 

संगीतकार वसन्त सापकोटा, राजनराज शिवाकोटी, गायिका मिलन अमात्य, सुनीता दुलाल, शान्तीश्री परियार, संगीतकार तथा एरेन्जर बीबी अनुरागीलगायत गायक–गायिका तथा संगीतकारहरू गायन तथा संगीतकर्ममा फर्किन थालेका हुन् । 

संगीतकार तथा गायक राजनराज शिवाकोटी पनि घरबाट निस्किन थालेका छन् । लकडाउनमा तयार पारेका र त्यसअघि थाती रहेका गीत उनले गाउन थालेका हुन् । 

‘तिमी यता म उता...’ उनले लकडाउन खुकुलो भएपछि गाए । यो गीतको भिडियो पनि यही बीचमा खिचिसकिएको छ । यो गीतकोे भिडियोमा राजनराज आफैंले अभिनय पनि गरेका छन् । 

“एउटा गीत रेकर्ड भयो । अरू थुप्रै गीतको काम भइरहेको छ । रेकर्डिङ सकिएको गीतको काम सकिएपछि अरू गीत पनि रेकर्डिङ सुरु गर्दै छौं,” राजनराज सुनाउँछन् । 

गायिका मिलन नेवार पनि काममा फर्किन थालेकी छिन् । राजनराजले गाएको गीत प्रेमिल गीत ‘तिमी यता म उता...’ मिलन कै हो । उनले गीत रेकर्ड मात्रै गरिनन्–छायांकन पनि यही लकडाउन मै गरेकी हुन् । दुई दिनपछि उनको गीत भिडियोसहित सार्वजनिक हुँदै छ । 

संगीतकार वसन्त सापकोटा पनि पुरानो कर्ममा फर्किसकेका छन् । पछिल्लो १७ दिनको अवधिमा उनले दुईवटा गीत आफैं गाए । अरू केही गीत गाउने अन्तिम तयारीमा रहेको उनी बताउँछन् । 

“मेरो संगीतमा प्रमोद खरेल, समीक्षा अधिकारी र शान्तीश्री परियारको स्वरमा गीत रेकर्ड भइसकेको छ,” वसन्त सुनाउँछन्, “शिव परियार र राजेशपायल राईले गाउँदै हुनुहुन्छ ।”

अब व्यक्तिगत दूरी कायम गरेर काम गर्नुको विकल्प नरहेको उनको धारणा छ । “निम्न वर्गीय मात्रै होइन अब विस्तारै मध्यम वर्गीय परिवारलाई पनि समस्या पर्न थालिसककेको छ । त्यसैले अब आफैं सचेत भएर काम गर्नुपर्छ र यो बाध्यात्मक अवस्था सरकारले पनि बुझ्नुपर्छ,” वसन्त सरकारको ध्यानाकर्षण गराउँछन् । 

कलेक्सन एल्बममा गीत गाउने गायक–गायिका तथा संगीतकारहरू काममा फर्किन थाले पनि स्टेज कार्यक्रममा भरपर्ने गायक–गायिकाहरूलाई भने अझै लामै समय कुर्नुपर्ने अवस्था छ । लकडाउन खुलेपछि पनि कोरोनाको जोखिम कायम रहँदासम्म मेला–महोत्सव तथा सांगीतिक कार्यक्रमहरू नहुने हुँदा स्टेज पफर्मेन्सलाई नै आम्दानीको मुख्य स्रोत बनाउने गायक–गायिकाहरूलाई भने लामो समय असर गर्ने गायक हेमन्त बताउँछन् । उनी कलाकारलाई पनि सरकारले सहजै कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिन्छन् । यो अति प्रभावित क्षेत्र भएकाले यसमा आबद्धलाई अबका केही वर्ष कठिन हुने भन्दै यसतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ छ । 

निम्न वर्गीय परिवारसँगै अब मध्यम वर्गीय परिवारलाई पनि समस्या पर्न थालेको हेमन्त बताउँछन् । “निम्न वर्गीय परिवारलाई त सरकार तथा हुनेहरूले राहत दिन्छ होला । भलै त्यो पर्याप्त छ छैन आफ्नै ठाउँमा छ । तर अब त मध्यम वर्गीय परिवारलाई नै समस्या पर्न थालेको मैले देखेको छु,” उनी भन्छन्, “मध्यम वर्गीय परिवार तथा व्यक्ति राहत थाप्न जान पनि सक्दैन । तर खानलाई आर्थिक आयको बाटो पनि छैन । यस्तो कठोर अवस्थामा पनि राज्य रमिते बनेर बसिरहनु हुँदैन । विकल्पहरू खोज्दै गरिखाने वातावरण बनाउनुपर्छ ।”

गायिका सुनीता दुलाल समाचारका लागि फोन गर्दा स्टुडियोमै थिइन् । तीजको गीतको तयारीमा रहेको उनले सुनाइन् ।

“गत वर्षको तीजको गीतलाई मिक्सिङ गर्न स्टुडियो आएकी छु,” उनी भन्छिन्, “अर्को गीत पनि रेकर्डिङ गर्ने गर्ने तयारी भइरहेको छ ।”

उदय सोताङसँग गीत गाउने तयारी गरिरहेकी सुनीता दार्जिलिङबाट उदय फर्किएलगत्तै गीत रेकर्डिङ गर्ने तयारीमा छिन् । उदय लकडाउनले दार्जिलिङमै अड्किएका छन् । 

संगीतकार तथा संगीत संयोजक अनुरागी पनि काममा फर्किसकेका छन् । कोरोनाबाट कसरी बच्ने आफैं सचेत हुँदै संगीतकर्ममा लागेको उनी सुनाउँछन् । “हाम्रो कति काम त घरमै होम स्टुडियोबाट पनि गरिरहेका छौं । स्टुडियो गएर गर्नुपर्ने काम आवश्यक सीमित व्यक्ति मात्रै गएर गरिरहेका छौं,” अनुरागी भन्छन्, “अब स्टुडियो फर्किएर काम थाल्नुको विकल्प छैन । कलेक्सन एल्बममा काम गर्ने कति गायक–गायिकाको आम्दानीको मुख्य स्रोत नै रेकर्डिङ हो । जनजीवनलाई पुरानै अवस्थामा फर्काउन पनि अब काममा फर्किनुको विकल्प छैन ।”

सरकारले लकडाउन–लुजडाउनको रणनीतिअन्तर्गत २२ वटा क्षेत्रमा खुकुलो गर्दै व्यक्तिगत दूरी कायम गर्दै काम गर्ने अनुमति दिए पनि मनोरञ्जनका सम्पूर्ण क्षेत्रमा भने काम गर्न अनुमति दिएको छैन । तर पनि कलाकारहरू काममा फर्किन थालेका हुन् । 

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १३, २०७७  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC