site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
 प्रधानमन्त्री सच्चिने कि स्वास्थ्य मन्त्रालय ? 

नरेश फुयाँल 
० ० ०

स्वास्थ्य मन्त्रालय नागरिकलाई कोरोनाको औषधि, उपचार, सर्ने कारण र जोगिने उपायहरु बताइरहेको छ । कोरोना यसरी निको हुन्छ रे भनेर आएका भ्रमलाई चिर्ने प्रयास गरिरहेको छ । तर तपाईं (प्रधानमन्त्री) स्वयम् भने स्वास्थ्य मन्त्रालयले जसलाई भ्रम भनेर जनतालाई नपत्याउन आग्रह गरिरहेको छ, त्यसैलाई उपचारको विधिका रुपमा जनतालाई टिप्स दिइरहनु भएको छ । त्यो पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सदस्यहरुमार्फत् । देशबासीका नाममा सम्बोधन पनि यस्तै गरिरहनु भएको छ ।  

‘कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छ्युँ गर्नुपर्छ । तातोपानी खाएर निको पार्छ भन्ने सोच्नुपर्छ । कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ । उच्च मनोबल राख्नुपर्छ,’  तपाईंले प्रधानमन्त्रीका हैसियतले बिहीबार राष्ट्रियसभा बैठकमा भन्नुभयो ।  

प्रधानमन्त्रीज्यू, तपाईंले जस्तै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले कोरोना भाइरसलाई समान्य फ्लु भन्दै नजरअन्दाज गरिदिँदा आज त्यहाँको अवस्था कस्तो छ ? यहाँलाई पक्कै थाहा छ ब्राजिलमा ४६ हजार ५१० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । ९ लाख ५५ हजार ३७७ जना सङ्क्रमित छन् । यो त विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क हो । अन्य स्रोतको तथ्याङ्क हेर्ने हो भने यो भन्दा ठूलो आँकडा छ त्यहाँ ज्यान गुमाउने र सङ्क्रमित हुनेहरुको । 

Agni Group

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको एकोहोरो भनाइका कारण बजार, पसल खोल्दा त्यहाँ करिब नियन्त्रणमा आइसकेको सङ्क्रमण अहिले पहिलाकै अवस्थामा फर्किसकेको ययार्थबाट पक्कै तपाईं अनभिज्ञ हुनुहुन्न होला । 

आफ्नो देशको क्लिनिकल परीक्षण र आफ्नै देशका वरिष्ठ स्वास्थ्य विज्ञले मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्विनको सेवनले कोरोना सङ्क्रमण निको हुँदैन भन्दा ट्रम्प त्यही औषधि खाएका कारण आफूलाई कोरोना नलागेको बताइरहेका छन् । उनकै स्वास्थ्य अधिकारीहरुले गरेको परीक्षणमा हाइड्रोक्सिक्लोरोक्विनको सेवन कोरोना सङ्क्रमितका लागि घातक सिद्ध गरिसकेको अवस्थामा ट्रम्प हाइड्रोक्सिक्लोरोक्विन  नै कोरोनाविरुद्ध लड्ने अचुक उपाय भएको एकोहोरो रटान लगाइरहेका छन् । यसको परिणाम अमेरिकामा के भयो ? कोरोना सङ्क्रमण र मृत्यु दरको ग्राफ विश्वसामु छर्लङ्ग छ, यहाँले पनि हेर्नु भएकै होला ।
 
ट्रम्प जस्तै ठीक तपाईं पनि आफ्नै ढिपी कसिरहनु भएको छ । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्यकर्मी र जानकारहरु एकातिर अनि तपाईं अर्कोतिर हुनुहुन्छ । तपाईं हाम्रोमा कोरोनाबाट हुने मृत्युको दर कम छ भन्दै हुनुहुन्छ । यसका पछाडि कारण अर्कै छ । नेपालमा अहिलेसम्म देखिएका सङ्क्रमित अधिकांश भारतबाट आएका हुन् । उनीहरु अहिले समाजमा घुलमिल भइसकेका छैनन् । क्वारेन्टिनमै छन् । तपाईंले भनेजस्तो उनीहरुसँग वृद्धवृद्धासँग भन्दा बलियो रोगप्रतिरोधात्मक क्षमता छ । तर जब उनीहरु समाजमा घुलमिल हुनेछन् र कोरोनाको सङ्क्रमण फैलिने छ त्यसपछि मृत्यु दर बढ्ने चिकित्सकले बताइरहेका तपाईंलाई थाहा हुनैपर्छ । यही हो अहिले नेपालमा वृद्धवृद्धा भन्दा युवामा कोरोना सङ्क्रमण धेरै देखिनुको कारण ।  

Global Ime bank

स्वास्थ्य मन्त्रालयले ‘हाम्रो स्वास्थ्य’ एप सार्वजनिक गर्यो । यसबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता पहिला डा. विकास देवकोटा हाल जागेश्वर गौतमले भनिरहनु भएकै छ । यसका प्रयोगकर्ता बढ्दै गएकोमा उपलब्धिका रुपमा स्वास्थ्य मन्त्रालयले लिँदै आएको छ । 

यो एपमा कोरोनाका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या नियमित अपडेट हुँदै आएको छ । निको भएर डिस्चार्ज हुनेको सङ्ख्या, आइसोलेससनमा रहेकाको सङ्ख्याका साथै अहिलेसम्म भएका पीसीआर र आरडीटी परीक्षणको सङ्ख्या उल्लेख छ । साथै यो एपमा कोरोनाका लक्षणको स्वमूल्याङ्कन गर्ने तरिका, कोरोनासँग सम्बन्धित हालसम्मका प्रतिवेदन, कोरोना परीक्षण गराउने स्वास्थ्य संस्था, शङ्कास्पद विरामीको रिपोर्टका लागि फर्म उपलब्ध छन् । यो बाहेक ‘उपयोगी जानकारी’ भन्ने अर्को क्याटगोरी पनि छ । 

यसभित्र आफू र अरुलाई कसरी सुरक्षित राख्ने भनेर टिप्स दिइएको छ । तर प्रधानमन्त्रीज्यू यहाँ दिएका कुनै पनि टिप्समा हाच्छ्युँ गर्दैमा कोरोना निको हुन्छ भन्ने सोच्नु पर्छ भनिएको छैन । यहाँ कोरोना भनेको एउटा रुघाखोकी जस्तो मात्रै हो भनिएको छैन । यहाँ तातोपानी खाएर कोरोना निको पार्छ भन्ने सोच्नुपर्छ पनि लेखिएको छैन । र उच्च मनोबल राख्नुपर्छ   कोरोनाले लाँदैन भन्ने सोच्नुपर्छ पनि भनिएको छैन ।
 
तपाईंले भने जस्तै हतोत्साही पक्कै हुनु हुँदैन । तर हतोत्साही नभएर मनोबल उच्च राख्दैमा कोरोना लाग्दैन भनेर आजसम्म कुनै पनि विज्ञानले प्रमाणित गरेको छैन । 

यही एपमा ‘भ्रम र यथार्थ’ शीर्षकमा २४ वटा प्रश्न र त्यसको जवाफ उल्लेख गरिएको छ । प्रधानमन्त्रीज्यू, तपाईंलाई जनताको स्वास्थ्यबारे सोच्ने थोरै समय छ भने पक्कै पनि हेर्नु भएकै छ होला । तर तपाईंले दिँदै आएका टिप्स र यहाँ भएका टिप्स त मिल्दैनन् । मिल्दैमिल्दैनन् त, किन ?

टिप्सको २ नम्बरमा लेखिएको छ— के लसुन खानाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिन्छ ?

जवाफमा लेखिएको छ : हालसम्म लसुन खानाले कोरोना भाइरस सङ्क्रमण हुनबाट रोकथाम भएको तथ्य प्रमाणित भएको छैन । लसुन स्वास्थ्यका लागि लाभदायक छ र यसले हामीलाई स्वस्थ राख्न मद्दत गर्छ । 

प्रधानमन्त्रीज्यू, तपाईं हिमालको चिसो पानी पिउँदा त्यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र कोरोना लाग्दैन भन्नुहुन्थ्यो । तर स्वास्थ्य मन्त्रालयको यो एपमा स्पष्ट लेखिएको छ— स्वस्थ रहन पानी पिउनु अति आवश्यक छ । तर यसले कोरोना भाइरसको सङ्क्रमणबाट बचाउँदैन । 

प्रधानमन्त्रीज्यू, तपाईंले बेसारको खुब व्याख्याबयान गर्दै यसमा एन्टिबायोटिक हुने भन्दै बेसारका फाइदाबारे चर्चा गर्नुभयो र कोरोना लाग्न नदिन बेसार खाने टिप्स दिनुभयो । तर तपाईं मातहतकै स्वास्थ्य मन्त्रालयले लेखेको छ— एन्टिबायोटिकमा ब्याक्टेरिया (जीवाणु) विरुद्ध मात्र लड्न सक्ने क्षमता हुने भएकाले एन्टिबायोटिकको प्रयोगले कोरोना भाइरसको सङ्क्रमणबाट बचाउँदैन वा यसरी उपचार हुँदैन । 

टिप्सको अन्तिम २४ नम्बर बुँदामा प्रश्न छ— के बोझो, लसुन वा बेसार खानाले कोरोनाको सङ्क्रमणबाट बच्न सकिन्छ ? 

जवाफमा लेखिएको छ : लसुन, बोझो र बेसार खानु स्वास्थ्यका लागि आवश्यक हो । यसले हामीलाई स्वस्थ राख्न मद्दत पनि गर्छ । तर हालसम्म लसुन, बोझो वा बेसारको प्रयोगले कोरोना भाइरसबाट सुरक्षित भएको तथ्य फेला परेको छैन ।
 
प्रधानमन्त्रीज्यू, यहाँ तपाईं मातहतको स्वास्थ्य मन्त्रालयले दिएको टिप्स जस्ताको तस्तै उल्लेख गरिएको छ । तपाईंले भनेजस्तो तोडमोड गरिएको छैन । विश्वास नलागे रुजु गर्न तपाईं स्वतन्त्र हुनुहुन्छ । 

तर तपाईंले दिएको टिप्स र स्वास्थ्य मन्त्रालयले दिएको टिप्स बिल्कुल फरक छ । तपाईं कोरोनाबाट जे प्रयोेगले बचिन्छ भनिरहनु भएको छ, स्वास्थ्य मन्त्रालयले त्यसबाट बचिँदैन भनिरहेको छ । तपाईं बिहीबार राष्ट्रिय सभामा भन्दै हुनुहुन्थ्यो आलोचनाका लागि आलोचना, विरोधका लागि विरोध गर्ने केहीलाई बानी परेको छ । तर यहाँ त स्वास्थ्य मन्त्रालयले नै पो तपाईंको टिप्सको खण्डन गरिहेको छ प्रधानमन्त्रीज्यू । स्वास्थ्य मन्त्रालयलाई पनि विरोध गर्ने बानी परेको रहेछ ?
 
होइन भने कि तपाईं सच्चिनु पर्यो कि स्वास्थ्य मन्त्रालयलाई सच्याउनु पर्यो । तपाईं देशको प्रमुख कार्यकारी हुनु हुन्छ,  तपाईंमा निहित कार्यकारी शक्तिको उपयोग गर्दै स्वास्थ्य मन्त्रालयलाई दबाब दिएर एपका टिप्स हटाउन वा सच्याउन सक्ने क्षमता त तपाईंमा छ । तर तपाईंले त्यसो गर्नुभयो भने त्यो मुर्खता र लहडी स्वाभावबाहेक केही हुने छैन । 

एपमा रहेका टिप्स त विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्यकर्मीहरुले दिएको सुझावका आधारमा स्वास्थ्य मन्त्रालयले तायार पारेको देखिन्छ । त्यसैले हटाएर तपाईंका टिप्स राख्दा नागरिकमा झन ठूलो भ्रम सिर्जना भएर त्यसको नकारात्मक असर पर्ने निश्चित छ । त्यसैले यो मुर्खता तपाईंबाट हुने छैन भन्ने हाम्रो अपेक्षा छ । 

प्रधानमन्त्रीज्यू, आमनागरिकमा भ्रम छर्ने होइन निवारण गर्ने प्रयास गर्नुस् । प्रधानमन्त्रीले भन्नुभएको लसुन, बेसार, अदुवा र पानी खाँदा कोरोना लाग्दैन रे भन्दै जनता कोरोनालाई तपाईंले भने जस्तै सामान्य सम्झिएर हेलचेक्राईं गर्न थाले भने नागरिकको जीवन नै सकिन सक्छ । 

कोरोनाले लाँदैन भनेर कसरी सोच्नु प्रधानमन्त्रीज्यू ? अहिलेसम्म विश्वका साढे चार लाख मान्छेलाई यसैले लगेको होइन र ? करिब साढे ८३ लाखभन्दा धेरै सङ्क्रमित भइसके । नेपालमै २२ जनाको जीवन छिनिसक्यो । अझै कतिको जीवन छिन्ने हो, पत्तो छैन । तर तपाईं भन्दै हुनुहुन्छ कोरोनाले लाँदैन भन्ने सोचौं । आफ्नै अगाडि कोरोनाले लाखौंलाई लगिसक्दा पनि तपाईंका झुटा कुरामा विश्वास कसरी गरौं हामी प्रधानमन्त्रीज्यू ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ६, २०७७  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC