बन्दाबन्दीको ७१ औं साँझको ९ बजे । बन्दाबन्दीको मूल ध्येय कोरोना नामक तीव्र गतिमा सर्ने भाइरसबाट नेपाली जनतालाई कसरी बचाउने भन्ने थियो । जति बेला यसको संक्रमणको पहिचान भयो यसको तस्बिर अत्यन्त भयावह तथा क्रूर रुपमा प्रस्तुत गरियो । हो ! यो खतरनाक छ तर मानवजातिलाई समूल नष्ट गर्ने प्रकृतिको चाँहि होइन । यो सामन्ती प्रकृतिको चाँहि रहेछ । किनभने यसले कमजोर प्रतिरक्षा प्रणली भएकालाई मर्ममै घातक आक्रमण गर्दो रहेछ । यो भाइरस ज्याद्रो पनि रहेछ जुन निकै लामो समयसम्म मानव शरीर बाहिर सतहमा रहे पनि सरेर संक्रमित गर्ने ताकत राख्दो रहेछ ।
यस्तो ज्याद्रो भाइरसबाट बच्ने अहिलेसम्म थाहा भएको सबैभन्दा प्रभावकारी उपाय मानव आवागमन नियन्त्रित गरेर भाइरस रहेको वस्तु वा स्थानमा पहुँच सीमित गर्ने र मानिसहरूबीचको प्रत्यक्ष सम्पर्क कम गराउने नै हो । यसका लागि संसारभर प्रयोगमा ल्याइएको पहिलो उपाय बन्दाबन्दी (लकडाउन) नै हो । यसले उल्लेख्यरुपमा भाइरसको विस्तार रोकेको मानिएको छ । पहिलो चरणमा कोरोना आक्रान्त मुलुकहरु अधिकांश विकसित भनिएका राष्ट्र थिए । नेपालजस्ता मुलुकमा संक्रमण आइपुग्दा यहाँ पनि बन्दाबन्दीको उनीहरुको विधि नै अपनाइयो । ठीकैे पनि हो । नयाँ चुनौती आउँदा अनुभवीबाट नै सिक्ने हो । बन्दाबन्दीपछिको परिणाम मोटामोटीरुपमा यस्तो देखिएको छ ।
यसै अवधिमा बन्दाबन्दी मूल कारण भई मृत्यु हुने व्यक्तिहरुको विवरण यस्तो छ :
माथिका साधारण विवरण हेर्दा सबैका मनमा केही प्रश्न आउँछन् नै । यीमध्ये मूल प्रश्न अन्य मुलुकहरुले बन्दाबन्दीसँगै अरु केहि थप गरेका थिए वा बन्दाबन्दीले नै कोरोनाको सातो लिएको हो भनेर हेर्नु हो ।
केही मुलुकहरुले बन्दाबन्दीसँगै निम्न प्राथमिकता तोकेको देखियो :
१. जोखिममा रहेका मानीसहरुलाइ संक्रमणबाट जोगाउने गरी कसरी भाइरस संक्रमण नियन्त्रण गर्न सकिन्छ ?
२. यस समस्यासँग जुध्न कसरी स्वास्थ प्रणलीलाई सक्षम बनाउने ?
यी प्राथमिकताका आधारमा उनीहरुले केही नयाँ नियमहरु तथा व्यवस्था गरेको देखिन्छ :
१. सबै नागरिककालागि अनिवार्य सूचना तथा निर्देशन : यसमा साबुन पानीले हात धुने, खोक्दा र हाँछ्युगर्दा कुइना वा पाखुरामा गर्ने, सिंगान पुछ्दा अनिवार्य रुपमा टिस्यु पेपरको प्रयोग गर्ने, हात नमिलाउने, जोसँग पनि डेढ मिटरको भौतिक दूरी कायम राख्ने, डेढ मिटर दूरी कायम राख्न नसकिने देखिएमा त्यो ठाँउ छोडिहाल्ने, सकेसम्म आआफ्नै घरबाट काम गर्ने, त्यसो नभएमा काम गर्ने समय फरक फरक गर्ने, भिडभाड हुने समयमा बाहिर ननिस्कने, घरकै वरपर वा नजिकै रहने, कहीँ जानु छ भने साइकल प्रयोग गर्ने वा हिँड्ने, सार्वजनिक सवारीका साधनहरु अत्यावश्यक अवस्थामा बाहेक प्रयोग नगर्ने, प्रयोग गर्दा फेस मास्क अनिवार्य रुपमा लगाउनुपर्ने भन्ने आदि छन् ।
१.२. कोरोना संक्रमण भएको हुनसक्ने सुरुका लक्षणहरु रुघा खोकी लाग्न खोजेको वा लागेको, ज्वरो आएको, खानाको स्वाद वा वास्ना थाहा नहुने आदि छ भने घरमै बस्ने, सामान किन्न वा अन्य कुनै काम छ भनेर पनि बाहिर ननिस्कने ।
१.३. संक्रमणको लक्षण भएको शंका लागेका व्यक्तिलाई कोभिड –१९को सहज परीक्षण व्यवस्था बनाउने ।
२. यस्तो आकस्मिक प्रतिकूलताविरुद्ध लड्न स्वास्थ संस्थाको सुदृढीकरण तथा आवश्यक तयारी । स्वास्थकर्मीहरुले आलोपालो काम गर्ने प्रणालीको विकास ।
३. संक्रमित भए पनि स्वास्थ अवस्था गम्भीर नभए जबरजस्ती आइसोलेसनमा नराख्ने । आफ्नै वासस्थानमा अलग्गै बस्न सक्ने व्यवस्था भए घरमै आवश्यक स्वास्थ सेवा दिने ।
४. आर्थिक गतिविधि सुरक्षित तवरले सञ्चालन गर्न विभिन्न उपाय अवलम्बन गर्ने र यसलाई चलायमान राखिराख्ने ।
५. जनताले पनि संक्रमणको गम्भीरता बुझेर सहयोग गर्ने ।
६. सरकारले सबै प्रकारका संघसंस्थाहरुसँग समन्वय गरी उचित परिचालन गर्ने ।
नेपालमा बन्दाबन्दी चाँहि आँखा चिम्लिएर रोजियो तर यससँगै गर्नुपर्ने बाँकी सबै काम चाँहि चटक्कै बिर्सिइयो वा छाेडियो ।
सबैतिर यसको सन्त्रास बढेपछि देशकै विभिन्न भाग तथा बाहिरबाट मानिसहरु आआफ्नो घर फर्कन्छन् नै । आफ्नो घर मानिसको सबैभन्दा पहिलो सुरक्षा स्थल हो । तर यहाँ भने उनीहरुलाई कसरी उत्साह थपेर घरसम्म पुर्याउने र संक्रमणविरुद्ध उनीहरुलाई उपयोग गर्ने भन्ने छोडेर नाकामै छेक्न थालियो । उनीहरु घर त जसरी पनि पुग्ने नै थिए ।
त्यसलाई सहज बनाएको भए तिनले चोरबाटो समात्ने थिएनन् । बन्दाबन्दीको यतिका दिन बितिसक्दा पनि आउन सक्ने मानिसको संख्या अनुमान गरेर नाकाबाट छिर्नेबित्तिकै सम्पर्क केन्द्र, त्यसपछि आवश्यकताअनुसारको क्वारेन्टिन, आइसोलेसन सेन्टर, मनोविमर्श केन्द्र, घर फिर्ती कार्यक्रम र पेसा व्यवसायसम्मका काम त्यहीँबाट गर्न सकिन्थ्यो । अझै सकिन्छ ।
तर सारा कामको बोझ पालिका र प्रदेश सरकारलाई दिएर केन्द्र सरकार नियन्त्रक मात्रै भइरहेको छ । दिनको ३ हजार ५०० जना प्लेनबाट ल्याउने ठाउँमा त आवश्यक तयारी गर्न सकिन्छ नि ! यो राष्ट्रिय विपत्ति हो र यसमा प्रधानमन्त्रीकै संयोजनमा सम्बन्धित सबै जना एकैठाउँमा (दूरी चाँहि कायम गरेर) भेला भई गर्नुपर्ने कामको प्राथमिकीकरण र यसका लागि आवश्यक निर्णय गर्ने पद्धति अत्यावश्यक भइसक्यो ।
बाटो बनाउनेदेखि क्वारेन्टिन चलाउने र मान्छेलाई घर पुर्याउनेसम्मको काम सेनालाई दिँदै जानुमात्र समाधान हैन । बर्दीवालासँग जनताले प्रश्न गर्न सक्दैनन् । आफू जोगिने जुक्ति खोजेको भए अर्को कुरा ! फेरि कोरोना भाइरस बर्दीसँग तर्सने खालको पनि देखिएन । बर्दीवाला चीनबाटै फैलन सुरु जो भयो ।
कोरोनाले भन्दा धेरै ज्यान भोक, स्वास्थ सेवामा पहुँचको अभाव, निराशा र बन्दव्यवसाय चौपट भएका कारणले हुने अवस्था देखिइसकेको छ । संक्रमणको उचित व्यवस्थापन सँगसँगै समयमै अरु विकल्प पनि खोज्ने कि ? स्थितिलाई काबुभन्दा बाहिर जान नदिन निर्णयकर्ताहरुले अब पनि नसोचे, मुलुक राम भरोसे भयो भन्दिए हुन्छ ।
हाम्रा जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकले त बन्दाबन्दी गर्दा कल्पनै गर्न नसकिने क्षति बेहोर्नुपर्छ । दोस्रो, बजेट बनाउँदा अर्थमन्त्रीले पहिलो बजेटको कुनै पनि लक्ष्य हासिल नभएकोमा दोष ऐन कानुन बनाउँदा र बिग्रेभत्केको सुधार्दा नै बितेका तर दोस्रो बजेट ऐतिहासिक हुने दाबी गरेका थिए । दोस्रो वर्षको करिब दस महिनामा उनका धेरै प्रतिबद्धता खोक्रा सिद्ध भए ।
तेस्रो वर्षको बजेट तथा कार्यक्रम पनि कर्मकाण्डमै सकिने निश्चितै छ । अबको जोड कृषि, पशुपालन, वातावरण, स्वास्थ, शिक्षा र पर्यटनः मूलत आन्तरिक र छिमेकी मुलुकहरुसँगको हुनुपर्छ । यस्तो हुन नसके कोरोना कहर, घर फिर्ती भएका मानिसहरुको व्यवस्थापन, सीमा विवाद र एमसीसीजस्ता विषयको दबाबले मुलुक अराजकतातर्फ जानबाट कसैले रोक्न सक्तैन । बेलैमा खुट्टा जमिनमा दह्रोसँग टेकौँ । बैरीले लडाउन नपाओस् ।