site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
 भूटानीकरण : भारतीय चाहना

नेपाल जब जब अन्तरिक मामिलामा फसेको हुन्छ, दक्षिणको छिमेकी भारत संस्थापन पक्षलाई प्रस्ताव पठाउँछ – ‘‘विदेश मामिला र सुरक्षाको अधिकार हामीलाई दिए हामी तपाईँ वा तपार्इँको संस्थालाई स्थापित गराई दिन्छौँ ।’’ विगतमा बीपी, राजा वीरेन्द्र, गिरिजाप्रसाद कोइराला र अन्तिम राजा ज्ञानेन्द्रलाई समेत भारतबाट यस्तै प्रस्ताव आएको थियो ।  यो आलेख २०६२ ÷०६३ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भारतले कति दुःख दिएको थियो भन्ने विषयमा केन्द्रित छ । 

जनआन्दोलनको सफलतापछि पाचौँ कार्यकालका लागि प्रधानमन्त्री बनेका कोइराला तिनताका भन्ने गर्थे – ‘‘यार भारतीयहरुले मलाई चाहिने नचाहिने काम गराउन खोजेका छन्, म गर्नेवाला होइन ।’’

पुनःस्थापित प्रतिनिधिसभाको घोषणाबाट राजतन्त्र निलम्वन गर्ने, क्रमशः राजालाई कमजोर बनाउँदै संविधासभा र गणतन्त्रतर्फको यात्रा तय गर्ने रणनीतिमा दलहरु अघि बढिरहेका थिए । 

Dabur Nepal

दरवारको अधीनमा रहेको शाही नेपाली सेनालाई नागरिक सरकारको मातहतमा ल्याई राजालाई कमजोर बनाउने अभियानको नेतृत्व उमेरले पचासी लागेका वृद्ध प्रधानमन्त्री कोइरालाले गरिरहेका थिए । अक्सिजनको सहाराले बालुवाटारबाटै शासन सत्ता चलाइरहेका प्रधानमन्त्रीले एक दिन आफ्नो ‘किचन क्याबिनेट’का सदस्य आमोदप्रसाद उपाध्यायलाई बेलाएर भने – ‘‘यार इन्डियनहरूले मबाट धेरै चाहिने नचाहिने काम गराउन खोजेका छन् बुझ्यौ । तर, म कुनै हालतमा उनीहरुको दबाब मान्नेवाला होइन ।’ पूर्वमन्त्री उपाध्यायले लेखकलाई सुनाए – ‘‘उनीहरुले के काम गराउन खोजेका छन् त्यो चाहिँ भन्नु भएन ।’’ 

तिनै ताकाको कुरा हो विराटनगरस्थित निवासमा लेखकलाई दिएको अन्तवार्तामा प्रधानमन्त्री कोइरालाले भनेका थिए – ‘‘आई विल नट कम्प्रोमाइज विथ एनी कन्ट्री, एनी पर्सन फर द सेक अफ डेमोक्रेसी एन्ड सोभरेन्टी ।’’ 

राजनीतिक दलहरु राजाका एक एक अधिकार कटौती गरेर बाघलाई खोरमा हाल्नुपर्छ भन्ने रणनीतिका साथ अघि बढ्दै  थिए । कोइराला सरकारमा उपप्रधानमन्त्री रहेका हालका गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले २०६८ साल असार १८ गते लेखकलाई सुनाए – ‘एक दिन मलाई एक्लै बोलाउनुभयो । बालुवाटारमा हामी दुई जनामात्र २ घन्टा बस्यौँ । भारतबाट गिरिजाबाबुलाई ठूलो दबाब आयो । करिब करिब भुटानीकरणको प्रस्ताव आयो । हरेक कुरा भारतसँग सोधेर गर्नुस् । एक्लै सबै निर्णय गर्ने होइन भन्ने दबाब थियो । गिरिजाबाबुले मसँग भन्नुभएको थियो भूटानीकरणको रुपमा हो, लक्ष्य चाहिँ सिक्किमीकरण हो, अमिकजी ।’’

जस्तोसुकै कठिन अवस्थामा समेत प्रतिक्रिया दिन नचाहने तर ‘एक्सन’बाटै जवाफ दिने कोइरालाले शेरचनसँग भनेका थिए – ‘‘यो कुरा बाहिर ल्याउनुपर्छ, आफैँ भनौ भने मेरो स्तरले पनि दिएन । त्यसैले तपाइँ केही गर्नुस् ।’’ 

भारतीय दबाबका बारेमा उनी आफ्नै मन्त्रिपरिषद्का सदस्यसँग खुलेर कुरा गर्न सक्दैनथे । सूचना ‘लिक’ हुने डरले । शेरचनले सम्झिए – ‘‘भारतीयहरुलाई गिरिजाबाबुले भन्नुभयो म यो पक्षमा जादैन । यो सार्वभौम नेपाल हो । नेपालको हित र नेपाली जनताको चाहनाअनुरुप काम गर्छु । नेपालको समस्या हल गर्न हामी नेपाली सक्षम छाैँ, मलाई दबाब नदेऊ भनेर ठाडो ठाडो जवाफ दिनु हुन्थ्यो । अनी भारतीयहरुलाई लाग्यो गिरिजाप्रसादलाई सकिँदैन । जवाहरलाल नेहरुका समकालीन भएका कारण पनि उनीहरुले कोइरालालाई जवाफ दिन सकेनन् ।’’ 

भारतीय प्रस्ताव नमानेका कारण अन्तिम समयमा कोइरालालाई राष्ट्रपति बन्न दिइएन । यद्यपि, संविधानसभा चुनावअघि कोइराला राष्ट्रपति र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भन्ने मौखिक सहमति सात दल र माओवादीबीच भएको थियो । शेरचनले सम्झिए ‘‘त्यो कुरा बाहिर गयो । सहमतीय प्रणाली नटुटोस्, आगामी राष्ट्रपति गिरिजाबाबु बन्नुपर्छ भनेर ‘प्रचण्ड’ले नै प्रस्ताव गरेका हुन् । तर, पछि उहाँलाई राष्ट्रपति हुन नदिने शक्ति पनि भारत नै हो । उसले माओवादी र कांग्रेसभित्र खेलेर गिरिजाबाबुलाई राष्ट्रपति बन्न दिएन । मैले अन्तिम समयमा भनेको थिएँ । तपाईँ जित्नुहुन्छ गिरिजाबाबु उठनुस् । तर उहाँले म यो विवादमा पर्दैन अमीक जी भन्नुभयो ।’’ 

भारतमा मर्ने इच्छा थिएन 

प्रधानमन्त्री हुँदै कोइरालाले उपप्रधान तथा स्वास्थ्यमन्त्री शेरचनलाई भनेका थिए – ‘‘अमीक जी मेरो स्वास्थ्य खराब छ जुन बेला जे पनि हुनसक्छ । मलाई अन्तिम समयमा पार्टीका साथीहरुले भारतमा उपचार गर्न लैजाने भनेर मार्न सक्छन् । म भारत हैन, नेपालमै मर्न चाहन्छु । आत्मालाई यस्तो लागेको छ । मेरो अन्तिम अवस्थामा मात्र यो कुरा मेरा साथीहरुलाई भनिदिनु होला । तपाईलाई विश्वास लागेरमात्र भनेको हुँ । कसैलाई नभन्नु होला ।’’ कोइरालासँगको त्यो संवादलाई शेरचनले लामो समयसम्म आफैँमा सीमित राखे । जीवनका अन्तिम दिनहरुमा कोइराला गंगालाल अस्पतालमा भर्ना भएर बोल्न नसक्ने अवस्था पुगेपछि मात्र शेरचनले यो रहस्य खोले । 

ती दिनहरू स्मरण गर्दै शेरचनले लेखकसँग भनेका छन् – ‘‘म अस्पतालमा भेट्न जाँदा उहाँलाई उपचारका लागि भारत लैजाने तयारी हुँदै थियो । मैले उहा“को अनुमति लिएँ, गिरिजाबाबु अब तपाइँको अन्तिम इच्छा बारे सार्वजनिक गरे हुन्छ भन्दा उहाँले टाउको हल्लाउनु भयो । अनि मैले सुशील कोइरालालगायत कांग्रेसका नेताहरुलाई उहाँको अन्तिम इच्छाबारे बताउँदै भने गिरिजाबाबुलाई भारत लिएर नजानु होला । न पत्याए उहाँलाई नै सोध्नुस् ।’

त्यो बेला सुशीलले भने – ‘‘हामी त दिल्ली लैजाने तयारीमा पो थियाैँ त ।’’ महाराजगन्जमा बस्दै आएका कोइरालाको अन्तिम इच्छा थाहा पाएपछि परिवारका सदस्य र पार्टी नेताहरुले अस्पतालबाट उनलाई सिधै छोरी सुजाताको निवास मन्डिखाटार लगे । जतिसुकै कमजोर हुँदा पनि आफैँ हिँडेर जाने र कहिल्यै आफूलाई कमजोर देखाउन नचाहने कोइराला पहिलो पटक त्यही दिन ह्विल चेयरमा देखिएका थिए । 

यस प्रसंगमा कोइरालाका भतिजा डा. शेखर कोइरालाले २०७२ साल वैशाख २९ गते लेखकलाई सुनाए – ‘‘सानो बुबा सिरियस हुनुहुन्थ्यो । सुशील दा, कृष्ण सिटौला, म थियाैँ । एयर एम्बुलेन्समा भारत लगाैँ भन्ने कुरा भयो । सुजाता (तत्कालीन उपप्रधानमन्त्री, एवं कोइराला पुत्री) देश बाहिर थिइन् । भारतमै लैजाने कुरा भयो । सानोबुबाले म जान्न भन्नुभयो । तैपनि हामी तीनै जनाले जानु पर्छ भन्यौ । हामीले दबाब दियौँ । 

त्यतिबेला भारतीय राजदूत दिल्ली गएका थिए । दूतावासमा दोस्रो व्यक्ति आलोक सिन्हालाई डा. शेखरले फोन गरेर भने –‘‘गिरिजाबाबु सिरियस हुनुहुन्छ । एयर एम्बुलेन्सबाट दिल्ली लैजाने प्रक्रिया मिलाउनु पर्‍यो । तपाईको सहयोग चाहियो,’’ सिन्हाले भने –‘‘डाक्टर साहब हमको मालुम है गिरिजाबाब सिरिएस हैँ । आपलोग प्रेसर कर रहे है उनको इन्डिया जानेके लिए । ले किन वह जायेंगे नही । फिर भी हम लोग लगे हुये हैँ ले जाने के लिए । हमको एक चिठी भेज दिजिए । एम्बेसी की तरफ से हम प्रयास करेंगे ।’’

कोइरालाको स्वास्थ्य दिन प्रतिदिन कमजोर हुँदै थियो । सास हुँदासम्म आशा । डा. शेखरले  सम्झिए – ‘‘हामीले सुशील दालाई लेख्नुस् न पत्र लैजाऊँ भन्यौ । उहा“ले मान्नु भएन  । कहा“ चिठी लेख्ने ? भने भैहाल्यो नि भन्न थाल्नुभयो । हामीले कर गरेपछि बल्ल लेख्नु भयो । फ्याक्सबाट पठायौँ । त्यसपछि मैले फेरि सिन्हालाई फोन गरेँ । उनले भने – चिठी मिल गया । लेकिन हम स्यौर है, फिर भी गिरिजाबाबु नहीँ जायेंगे । नभन्दै अन्तिम समयमा सानोबुबा भारत जान मान्नु भएन ।’’

यसरी पूर्वप्रधानमन्त्री कोइराला उपचारका लागि अन्तिम समयमा भारत गएनन् । विसं २०६६ चैत्र ७ गते छोरी सुजाताको मन्डिखाटार स्थित निवासमा उनको निधन भयो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १३:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro