site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतले लिपुलेक हुँदै सडक खोलेको विषय अध्ययन गरेको छैन : परराष्ट्रमन्त्री 

काठमाडौं । भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्‌घाटन गरेप्रति आफूले अध्ययन नगरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । 

भारतले नेपाली भूमि लिपुलेक हुँदै सडकमार्ग खोल्‍ने विषयमा नेपाल सरकारसँग परामर्श गरेको थियो भन्‍ने बाह्रखरीको प्रश्‍नमा उनले भने, "मार्ग खोल्‍यो भन्‍ने आएको छ । मैले यो विषयमा अध्ययन गर्न पाएको छैन । अध्ययन गरेपछि मात्रै बताउँछु ।" 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्‌घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत 'मानसरोवर जाने लिंह रोडको उद्‌घाटन गर्न पाउँदा खुसी लागेको छ । बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले धार्चुलादेखि लिपुलेक जोड्‍ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको' बताएका थिए । 

३ नोभेम्बर, २०१९ मा भारतले काश्मीरको विषय आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी वैधानिक रुपमा आफ्नो बनाएको थियो । तर, नेपालका सीमा विज्ञहरुले भने नेपाली भूमि नेपालले फिर्ता लिनुपर्ने र यसमा सरकार बलियो भएर उभिनुपर्ने बताएका छन् । 

सरकारले त्यसबेला भारतीय नक्साको विषय कूटनीतिक तवरमा समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै जनआक्रोश शान्त पारेको थियो । नेपालले उक्त नक्सा परिमार्जनका विषयमा छलफल गर्न आग्रह गर्दै भारत सरकारलाई पत्र पठाएको थियो । तर, भारतले उक्त पत्रको जवाफ दिन इन्कार गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:५७
प्रतिक्रिया दिनुहोस्