site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘भारतले लिपुलेकमा एकपक्षीय मार्ग खोल्दा तनाव बढ्छ’ 

फाइल तस्बिर । 


काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले भारतले एकपक्षीय रुपमा लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्दा तनाव सिर्जना हुने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विभाजित क्षेत्रमा भारतले एकतर्फी रुपमा मार्ग खोलेको भन्दै त्यसले तनाव सिर्जना गर्ने बताएका हुन् ।

Argakhachi Cement Island Ad

“आज मात्र भारतका रक्षामन्त्रीले कालापानी र लिपुलेकबाट मानसरोवरसम्म जाने यात्रामार्ग घोषणा गर्नुभयो ।  उद्घाटन गर्नुभयो भन्ने कुरा आएको छ,” उनले भने, “जबकी त्यो क्षेत्र विभाजित छ भने दुईपक्षीय रुपमा एउटा सहमति नगरिकन एकपक्षीय रुपमा त्यो मार्ग खोल्दिँदा स्वतः त्यसले यहाँ अर्को प्रकारको तनाव सिर्जना गर्छ ।” 

उनले यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर एउटै आवाज बोल्नुपर्ने भन्दै सरकारले  सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए ।

भारतले आजै नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने बाटो खुला गरेको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्समार्फत् उक्त सडकमार्गको उद्‌घाटन गरेका थिए ।  

रक्षामन्त्री सिंहले बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले निर्माण गरेको सडक सञ्‍जालको शुक्रबार उद्‌घाटन गरिएको ट्‍विटमार्फत् जनाएका छन् । उनले भारतको उतराखण्डको धार्चुला क्षेत्रको पिथौरागढदेखि नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुँदै लिपुलेक पुग्‍ने सडक मार्गको निर्माण गर्ने बीआरओलाई धन्यवादसमेत व्यक्त गरेका छन् ।

सिंहले ट्विटमार्फत् बीआरओले सीमा जोड्नका लागि केही वर्षदेखि उत्कृष्ट काम गर्दै आएकोमा प्रशंसा गरेका छन् । उनले लेखेका छन्, “बीआरओले धेरै ठूलो काम गरेको छ । सीमा क्षेत्र जोड्‍न बीआरओको भूमिक महत्त्वपूर्ण छ ।“

यसअघि भारतले नोभेम्बर २०१९ मा एक राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिपुलेक र लिम्पियाधुरा वैधानिकरुपमा आफ्नो बनाएको थियो । नेपालमा त्यसको चर्को विरोध भए पनि उक्त नक्सा सच्याइएको छैन । उल्टै सोही क्षेत्र हुँदै नेपालसँगको परामर्श्बिना उक्त सडक मार्ग सञ्‍चालन गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १७:५३
प्रतिक्रिया दिनुहोस्