site stats
बाह्रखरी :: Baahrakhari
विशेष
काठमाडौं अदालतमा एक भारतीय नागरिकले कोरोनाले आफूलाई केही गर्न नसक्ने बताएपछि...

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा एकजना भारतीय नागरिकले अस्वाभाविक व्यवहार देखाएपछि उनको कोरोनाभाइरस परीक्षण गरेपछि मात्र बयानका लागि ल्याउन आदेश भएको छ ।

आफू भारतीय नागरिक भएको बताउने मोहम्मद हैदर अलीले काठमाडौं जिल्ला अदालतको इजलाशमा कोरोनाले आफूलाई केही गर्न नसक्ने भन्दै मास्क फयाँक्ने, ढोकामा लड्ने र जथाभावी बोल्नेजस्ता अस्वाभाविक व्यवहार देखाएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

न्यायाधीश श्रीकृष्ण भट्टराइको इजलाशमा गत मंगलबार अलीविरुद्ध चोरीको मुद्दा सुनुवाइका क्रममा अलीले आफुलाई बियर खान दिएमात्र बयान दिने भन्दै मास्कसमेत फ्याँकेको जिल्ला अदालतले गरेको आदेशमा उल्लेख छ । 

“इजलासमा आफु पागल भएको, आफुलाई गोली हाने पनि नडराउने, आफुलाई कोरोनाले केही पनि गर्न नसक्ने, अल्लाहले बचाउने भनी फेस मास्कसमेत खोलेर इजलासमै फयाँकेको र निजलाई अंगे्रजी भाषामा सम्झाई बुझाइ गर्दासमेत भनेको नमानी बयान गर्न समेत नमानी ढोकामा लड्ने र जथाभावी बोल्नेजस्ता अस्वाभाविक व्यवहार इजलाससमक्ष प्रदर्शन गरेको,” आदेशमा उल्लेख छ । 

कोरोना परीक्षणपछि मात्र बयानमा ल्याउनू 

न्यायाधीश भट्टराईले मास्क फालेर अस्वाभाविक व्यवहार गरेका अलीलाई कोरोनाभाइरसको परीक्षणपछि मात्र अदालतमा बयानका लागि ल्याउन आदेश गरेका छन् ।  त्यस्तै, उनी पागल भएको, नभएको स्वास्थ्य परीक्षण गरि रिपोर्ट आएपछि मात्र इजलाससमक्ष पेश गर्न भनिएको छ । 

त्यस्तै अलीले आफुलाई भारतीय नागरिक दाबी गरेकाले उनी भारतीय नागरिक पुष्टि हुने अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत भारतीय राजदूतावासलाई जानकारी गराई उनले बोलेको भाषा बुझ्ने दोभाषे  र राजदूतावासबाट कुनै प्रतिनिधि उपस्थित भए उनीहरुसँगै अलीलाई इजलाशमा ल्याउन आदेशमा भनिएको छ । 


 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०९:४१
प्रतिक्रिया दिनुहोस्