_1217989681.jpg)
काठमाडौं । कोरोना भाइरसका कारण मुलुकको हरेक क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रभाव पार्ने भनिएका विकास आयोजनाहरू पनि ठप्प छन् । उद्योग, कलकारखाना, व्यवसाय, होटल एवं प्रतिष्ठान बन्द छन् । सडक एवं हवाई यातायात क्षेत्र पनि अत्यावश्यक बाहेक बन्दै छन् । कोरोनाका कारण मुलुक लकडाउनमा बस्नु पर्दा आर्थिक गतिविधि प्रायः ठप्प छन् भने रोजगारी निकै प्रभावित भएको छ ।
यही अवस्थामा पनि राष्ट्रिय गौरवका केही आयोजनाको निर्माण भने जारी छ । मेलम्ची खानेपानी आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, काठमाडौं–तराई दु्रतमार्गको निर्माण भइरहेको छ । यीबाहेकका अन्य राष्ट्रिय गौरवका आयोजनाको निर्माण भने प्रभावित भएका छन् । मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण (कोसी) लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग निर्माण प्रभावित भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उप–महानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम दु्रत गतिमै भइरहेको बताए । उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण भइरहे पनि गति भने न्यून रहको जानकारी दिए । यस्तै सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई–मधेस द्रुतमार्ग निर्माणको काम पनि भइरहेको छ । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले खोकना, बुदुने, बाग्देव, राजदमाईबाहेक अन्य क्षेत्रमा निर्माणको काम भइरहेको जानकारी दिए । यता, नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण पनि जारी रहेको जनाएको छ ।
यस्तै मुलुकको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने भनिएका अन्य सडक आयोजना, सुरुङ आयोजना पनि प्रभावित भएका छन् । कोरोनाकै कारण नागढुंगा–नौबीसे सुरुङमार्ग, नारायणगढ–बुटवल खण्ड प्रभावित बनेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले बताए । यस्तै राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाडी लोकमार्ग, उत्तर दक्षिण (कोसी) लोकमार्ग, हुलाकी लोकमार्ग, उत्तर दक्षिण (कालीगण्डकी करिडोर) लोकमार्ग निर्माण प्रभावित भएको उनले जानकारी दिए ।
विभिन्न कारणले समयमै सम्पन्न हुन नसकेका कतिपय आयोजनाहरू कोरोनाका कारण थप पछाडि धकेलिने निश्चित भएको अधिकारीहरू बताउँछन् ।