
पारिजात
मान्छेको मनको संसार असङ्ख्य असंलग्न ग्रह–नक्षत्रहरु नअटाइएको आकाश जस्तो अथवा एउटा सिङ्गो महासागर जस्तो असङ्ख्य असङ्ख्य घटना, स्थिति, मनस्थिति, परिस्थिति तथा अनुभूतिहरुले भरिएको हुन्छ । हो, प्रत्येक मान्छेको जीवन जतिजति बाँच्दै गयो उतिउति अनुभवहरुको एउटा विशाल काव्य बन्दै जान्छ । यसै काव्यभित्र थुप्रिँदै गएका हुन्छन् सन्तुष्टि–असन्तुष्टि, दुःख–सुखका तीता–मीठा असङ्ख्य संस्मरण र सम्झनाहरु । यी सम्पूर्ण संस्मरण र सम्झनाहरुलाई महासागरबाट एकएक थोपा पानी हत्केलामा लिए जस्तो मात्र लिन सकिन्छ, मात्र केही थोपाहरु, महासागरमा खन्याउन सकिँदैन् । जीवनका टुक्राटुक्री पक्षहरुलाई अक्षरमा गाँस्नु अर्थात् कलमवद्ध गर्नु हो– संस्मरण लेख्नु । स्नेही पाठकहरु, मनका तहहरु खोल्नलाई म यहाँ भूमिका बाँच्न लागिरहेछु ।
संस्मरण लेख्नु भनेको आफैसँग इमानदार हुनु हो नत्र मनका स्वीकारोक्तिहरुको साक्षी को ? वस्तुगत तथ्यहरु त प्रामाणिक हुन्छन् नै । एउटा यस्तो घटना जसलाई देख्नेहरुले भनिदिए मेरो अनुभूति नै त्यहाँ छैन । मेरी आमा अमृत मेरो बाबु डा. के.एस. लामाकी दोस्रो पत्नी थिइन्, पहिलीको मृत्युपछि बिहे गरेर ल्याएकी । उनी पनि आफनो बिहेको समयमा १३ वर्षकी थिइन् रे, गट्टा खेलिरहेकी, पुतली खेलिरहेकी । म उनीहरुको तेस्रो सन्तान भएर जन्मिएँ । म माथि एकजना दाइ र उनीमाथि एक जना दिदी थिइन् रे दुवै जीवित छैनन् । दार्जीलिङ लिङ्गिया चिया बगानको घरमा भर्खरभर्खर बामे सर्न थालेको बेला म एकदिन परिवारका सदस्यहरुको आँखाबाट ओझेल भइछु ।
केहीबेरपछि मेरी आमाले थाह पाइन् रे र उनी मलाई खोज्दै बाहिर आइछन् । म बामे सर्दै आँगन पार गरेर कोठे बारीतिर लाग्ने ठाउँमा बसी केही खान लागेकी थिएँ रे । खाने कुराको आधा हिस्सा हातमा थियो रे । आमा नजिक आएर हेर्दा त्यो खानेकुरा एउटा ठूलो खाले, रातो रङ्गको डरलाग्दो झुसिल्कीरा रहेछ । त्यसको आधा हिस्सा कलिला औंलाहरुले बेसकन अँठ्याएको र आधा हिस्सा मुखभित्र र ओँठको कुनाकुनाबाट हरियो लेदो बगिरहेको ! आमा आत्तिइन् रे, चिच्याइन् रे र आतङ्कित भएर नजिकै क्लिनिकमा काम गरिरहनु भएका मेरो बुवालाई बोलाउन पठाइन् रे । पछि औषधि उपचार गरेछन् ।
यो भयो अरुको संस्मरणमा बाँचेको मेरो अनुभूतिहीन अनुभूति । मलाई लाग्छ मेरो १२ वर्षको उमेरदेखि नै त्यो भयानक रातो झुसिल्कीरा जस्तो प्रतीक बोकेको अनुभूति मेरो मानसिकताले झेल्न थालिसकेको थियो भने शरीरले त्यही भयानक झुसिल्कीरा चपाउनुको जस्तो कष्टमय अनुभूति । मानसिक–शारीरिक दुवै रुपमा मैले असाधारण कष्टमय क्षणहरु बाँचेकी छु, त्यसैले मैले बाँचेको जीवन एउटा जटिलतम जीवनको परिभाषा हो । १४ वर्षको उमेरमा जब म पखेँटा हालेर वाल्यकालको सङ्घारबाट उड्न थालेँ, त्यही पहिलो उडानमा नै मेरो प्रेमकथा सुरु भइदियो, तर उमेरको हावभाव, आफ्नो प्रवृत्तिगत स्वभाव तथा प्रेमको परिभाषा केही पनि अथ्र्याउन नसकी यति भीषण गल्ती गर्न पुगेँ । आखिर त्यही गल्ती जटिल त्रासदि भएर मेरो मानसमा बसिदियो । त्यो एउटा गल्ती थियो मेरो जीवनको । म आफू मात्र होइन मैले अगाध प्रेम गरेको तथा मलाई पनि अगाध प्रेम गर्ने त्यस व्यक्तिलाई पनि त्यतिकै दुःखी र निराश तुल्याएर छोडिदिएँ । आजभोलि म थाह पाउँछु मेरो त्यही त्रासद पक्ष मेरा पहिले लेखिएका कविताहरुमा कतै न कतै चुहुँदा रहेछन् ।
साहित्य र दर्शनमा रुचि राख्थेँ घरमा घोटिइन पथ्र्यो हिसाब र विज्ञानमा । बाबु भन्ने गर्थे– साहित्य पनि कुनै विषय हो र ? हिसाब गर हिसाब । केटाकेटीदेखि नै घुमन्ते स्वभावकी थिएँ, भविष्यमा शैलानी बनेर देश–विदेश घुम्नु र जीवनमा भेट्टाइएका आत्मविभोरताहरुलाई लेख्ने गर्छु भन्ने सपना र आकाङ्क्षा पाल्ने गर्थें । एक्लै पनि घुम्थें, पानीमा रुझ्दैरुझ्दै घुम्थेँ, खुब वनजङ्गल चहार्थें तर घरमा प्रतिबन्ध थियो । जूनले नुहाएको धरतीमा, फूलवारीको एकान्तमा रात बिताउन मन लाग्थ्यो, चौतारीमा सुत्न मन लाग्थ्यो तर स्वतन्त्रताको पखेँटा करापकुरुप भाँचेर ढोकाबाहिर फालिदिँदै घाम अस्ताउनासाथ घरभित्र पसिसक्नु पथ्र्यो । कत्रो विवशता, कत्रो बाध्यता आफ्ना चाहनाहरुको हत्या गर्न । तैपनि विद्रोह जाग्थ्यो बारम्बार, कहिले आँखा जुधाउँथे अभिभावकसँग र कहिले मुख पनि लाग्थेँ । आइमाई–केटाकेटी भएर यतिखेर निस्कन हुन्न भन्ने प्रचलन बढी थियो, आजको भन्दा समाज निकै साँघुरो । दाजुले सिनेमा हेर्न पाउने, हामीले नपाउने ? त्यसपछि भागेर सिनेमा हेर्न सिकियो । केही समय त सिनेमाको लत नै लाग्यो ।
म अन्तरमुखी र अटेर स्वभावकी थिएँ, तर समयले सधैं यस्तै स्वभावमा बाँचिरहन दिएन । आजसम्म पनि केही वर्गीय चरित्रहरुसँग जुझ्दैछु, तर दृष्टिकोण समूहबीच छ त्यसैले सिक्ने मौका पाउँदैछु । आमाको माया कस्तो हुन्छ मलाई अनुभव छैन, मेरी बहिनीहरुलाई पनि । माया त बज्यैको पनि थाह छैन । मेरी बज्यै बाजेको तेस्री पत्नी अति कडा स्वभावकी थिइन् ।
पुर्खौली घरमा हामी वर्षको एकैपल्ट मात्र जान्थ्यौं दसंैमा र बज्यैको अघि भिजेका बिरालाहरु जस्ता भएर बसिरहन्थ्यौं, सहरको घर सम्झेर रुने गथ्र्यौं । मेरा बाजे सरदार धनमान वाइबाले अन्तिम घडीमा आफ्नो मृत देहलाई घरकै आँगनमा जलाउनु भनी इच्छा व्यक्त गरेका थिए रे र बज्यैले पनि यही आँगनमा तिम्रो चिता सजाउँछु भनी बाजी लगाएकी थिइन् रे ! बाजेको अन्तपछि सारा गाउँको आग्रहलाई अमान्य गर्दै बज्यैले बाजेको मृतदेहलाई घरको पाँच खुट्किलोमुनि बनेको आँगनका जलाइन् रे । एकातिर मेरा बाबु सारा शाखा सन्तान र गाउँलेहरुको विरुद्ध बाजेको नाउँमा जुँगा–परेला नखौरेर छाक नबारेर मुसलमानले बनाएको केक बिस्कुट खाएर बसेका थिए रे । यस्ता थिए उनीहरु । आज पनि हाम्रो पुर्खौली घरको आँगनमा बाजे र बज्यैको (मेरो लाशलाई नजलाएर मेरो लोग्नेको समाधिछेऊ गाडिदिनु भन्ने उनको इच्छा अनुसार) समाधिहरु देख्न पाइन्छ । यस्तै किसिमका असामयिक चुनौतीहरु मैले पनि मेरो जीवनमा दिन प¥यो, स्वीकार पनि गर्न पर्यो । लेख्दै जाउँला टुक्राटुृक्रीहरुमा ।
यो त मात्र एउटा सुरुवात हो, छ्यासमिसे सुरुवात कोलाज जस्तै । मान्छेको जीवन चित्रमय हुन्छ होइन ? विभिन्न कोणहरुबाट खिचिएको चित्र जस्तो रङ्गविरङ्गहरुका त सायद नामकरण भैसकेका छैनन्, यो रातो यो नीलो भने जस्तो । मान्छे बाँच्ने आखिर मान्छेको सम्झनामा हो । माया गर्ने र माया गरिएकाहरु, घृणा गर्ने र घृणा गरिएकाहरु, सहानुभूति दिनेहरु अथवा जसको निम्ति दुई शब्द कोर्नु छ र जसलाई मनको गहिराइबाट निकालेर कागजमा उतारिदिनु छ म लेख्दै जानेछु टुक्राटुक्री अभिव्यक्तिहरुमा । म आफ्नो मलाई खाली पार्दै लग्ने छु र आफू प्रतिवद्ध भएको जनताको बाटोमा अरु हलुङ्गो हुँदै दौड्ने छु । यो मात्र एउटा जीवन दिनदिनै नयाँ लाग्छ, जीवनप्रतिका मेरा अर्थहरु दिनदिनै प्रष्टिँदै गएको लाग्छ, मेरो हातेमालो दिनदिनै फराकिलो हुँदै गए जस्तो लाग्छ मलाई ।