site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सायद मलाई ‘पपुलर’ हुनु थिएन
Sarbottam CementSarbottam Cement

दीया मास्के नेपाली कलाकारिता जगतमा राम्रो पहिचान बनाएकी कलाकार हुन् । रङ्गमञ्च र चलचित्र दुवैमा आफ्नो कलाकारिता प्रस्तुत गरेकी दीयाले दर्जनौं नाटकमा अभिनय गरेकी छन् । नाटकका अलावा चलचित्रमा पनि उनले आफ्नो शिल्प प्रस्तुत गरिन् । नेपालको पहिलो डिजिटल चलचित्र ‘कागवेनी’बाट रजतपटमा उभिएकी उनले त्यसयता ‘सुनगाभा’, ‘फिट्किरी’, ‘साँघुरो’ लगायत चलचित्रमा काम गरिन् । व्यावसायिकभन्दा पनि विषयप्रधान चलचित्रमा काम गर्न रुचाउने उनका चलचित्रले व्यावसायिक सफलताभन्दा पनि राम्रो समीक्षा नै धेरै पाएका छन् । आफूले भनेजस्तो स्क्रिप्ट नपाएकै कारण चलचित्रमा धेरै काम नगरेको बताउने दीयासँग बाह्रखरीका नरेश फुयाँलले नाटक र चलचित्रमा केन्द्रित रहेर गरेको कुराकानीः 
 

० ० ०
तपाईंलाई दर्शकले चलचित्रमा देख्न छोडेको निकै भयो नि ?

काम नगरेर । धेरै कुराहरु छन् । पहिलो, अरु नै काममा व्यस्त भएँ । अफर आएको चलचित्र मन परेन । मन परेको चलचित्र पाइएन । 

Prabhu Bank
Agni Group
NIC Asia

जुनबेला तपाईं चलचित्रमा आउनुभयो, त्यो बेला तपाईंलाई धेरै समकालीनहरुले चुनौतीका रुपमा लिएका तर प्रवेश अनुसार चलचित्रमा तपाईंको सक्रियता देखिएन नि ?

गर्न नखोजेको होइन, सायद नमिलेको होला । कमर्सियल चलचित्र जो नाचगान मात्रै थिए । महिला पात्र बलियो थिएनन्, ती चलचित्रमा मैले काम गरिनँ । त्यो समय पनि त्यस्तै थियो । मैले चलचित्रमा काम गर्दा चुनौति नै त्यही थियो । अर्को कारण म थिएटर र अरु काममा पनि धेरै नै सक्रिय भएँ । सँगै सानो रोलले पनि मलाई असर गर्दैन, म काम गर्छु । तर मलाई चित्त बुझ्नुपर्यो । अर्थ नभएको चलचित्र जसमा नाचगान मात्रै छ, त्यस्तो चलचित्रमा काम गर्न मेरो मनले मान्दै मानेन । 

Global Ime bank

जुन समय म चलचित्रमा आएँ, त्यो बेला फरक सोच थियो । अहिले जस्तो विषयप्रधान चलचित्र कमै बन्थे । डिजिटल चलचित्र ‘कागवेनी’बाट म चलचित्रमा प्रवेश गर्दा कथाप्रधान चलचित्र कमै बन्थे । यस्तो चलचित्रमा काम गर्ने मान्छेले कमर्सियल चलचित्र गर्न सक्तैन भन्ने खालका कुरा हुँदोरहेछ । 

अर्को पक्ष नेपाली चलचित्रमा ग्रुपिजम चल्दोहरेछ । यो नेपाली चलचित्र उद्योगको ठूलो समस्या हो । जस्तो यसले धेरै चलचित्र गर्दिन । महङ्गो पारिश्रमिक लिन्छे, जस्ता हल्ला चले । 

जुन अतिरञ्जित हल्ला चलाइयो, त्यसलाई तपाईं चिर्न पनि सक्नुहुन्थ्यो नि ?

मेरो एउटा समस्या पनि छ, म आफैं कहिल्यै कसैसँग काम माग्दिनँ । मलाई यस्तो खालको चलचित्र काम गर्न मन छ भनेर म कहिल्यै पनि अरुसँग भन्दिनँ । यो मेरो कमजोरी पनि हो । र, मैले जस्ता खालका चलचित्रमा काम गरेँ, ती चलचित्र सफल पनि भएनन् । यो चलचित्र उद्योग यस्तो हो, जहाँ काम राम्रो भयो कि भएन मतलब गर्दैन । बक्स अफिसमा हिट भयो कि भएन त्यसले अर्थ राख्छ । मलाई च्यालेन्जका रुपमा चलचित्रको कलाकारले लिए । मास र मेकरले लिएन । काम कस्तो गर्यो भन्दा पनि बजारमा कति चल्यो भन्ने कुराको मात्रै मूल्याङ्कन भयो । त्यो नै मेरा लागि समस्या भयो ।  

अक्सर अधिकांश थिएटर आर्टिस्ट भन्छन्, नाटकमै आत्मसन्तुष्टि छ । तर, चलचित्र पनि गरिरहेकै हुन्छन् । किन यसो भनिन्छ ?

म त्यस्तो कहिल्यै भन्दिनँ । मलाई दुबै त्यतिकै प्रिय छन् । दुबै त्यतिकै गाह्रो र सजिलो छ । मेरा लागि काम गर्नु नै ठूलो कुरा हो । कसैले त्यसो भन्छ भने त्यो बकवास हो । जसले त्यस्तो भन्छ, मैले देखेको उनीहरु असुरक्षित महसुस गरेर त्यसो भन्छन् । उनीहरुले जे गरिरहेका छन्, त्यो नै राम्रो देखाउन खोजेका हुन् । तपाईं जहाँसुकै काम गर्नुस्, सिक्नुस् । तपाईं राम्रो हुन आवश्यक छ । 

नेपाली नाटक जसरी बाक्लै रुपमा मञ्चन भइरहेका छन्, सफलताका हिसाबले चाहिँ त्यो सङ्ख्या निकै कम छ । दर्शकले थिएटरलाई पत्याएनन् कि, थिएटरले दर्शकलाई आकर्षित गर्ने नाटक बनाउन सकेनन् ?

दर्शकलाई थिएटरले आकर्षित गर्न सकेनन् । त्यही भएर दर्शकले पत्याएनन् । चलचित्र र नाटक दुबैमा रहेको समस्या हो यो । नाटकमा अझै धेरै समस्या छ ।  बजेट नै पहिलो पक्ष बनेर आउँछ । चलचित्रमा भन्दा नाटकमा बजेट कम हुनु स्वाभाविक हो । गुणस्तरलाई ध्यान नदिई धेरै नाटक बन्न थाले । नाटक राम्रो नबनेका हैनन् । तर, त्यसको संख्या कम छ । राम्रो बनेका नाटकले राम्रै गरेका पनि छन् । 

दुई महिना पनि तालिम लिएको हुँदैन, नाटक के हो बुझेका पनि हुँदैनन् । डाइरेक्टर बन्न लालायित भएको नयाँ पुस्ता पनि देखियो । निर्देशक हुनु नराम्रो होइन । तर, जे पनि काम गर्दा आवश्य अनुभव र दक्षता हुनु आवश्यक पर्छ । बच्चा हुँदैदेखि स्कुलबाटै आर्टमा लाग्ने हाम्रोमा कल्चर छैन । २०–२१ वर्षको उमेरमा तालिम लिन आउनुहुन्छ । दुईटा नाटक हेर्नुहुन्छ । त्यसपछि निर्देशन थाल्नुहुन्छ । अनि कसरी हुन्छ नाटक राम्रो, कसरी दर्शकलाई नाटक राम्रो लाग्छ ? दुई महिना तालिम लिएर अभिनय गर्दा न नाटक राम्रो हुन्छ, न त चलचित्र । यो समस्या सुरु देखि नै छ । राम्रो भन्दा कमजोरहरुको संख्या धेरै छ । 

नाटक प्रदर्शन भइरहे पनि एकै प्रकृतिका नाटक भए भन्ने रङ्गकर्मीहरु नै बताउँछन् । मेहनतको अभाव हो कि अन्य कुनै कारण छन् ?

को रङ्गकर्मी, कसले भन्नु भयो, कसले भनेको हो ? त्यसमा भरपर्छ । मलाई त यसबारे थाहा छैन । 

हाम्रा नाटकमा डिजाइनदेखि साउन्ड, सेट तथा डाइलग डेलिभरीसम्म अन्य देशकै प्रभाव देखिन्छ । हाम्रो आफ्नै मौलिक ‘डिजाइन’मा नाटक देखाउन सकिँदैन ?

धेरै स्क्रिप्ट हामीसँग छँदै छैनन् । यसमा हामीले धेरै कुरा नगर्दा नै हुन्छ । जति छ, त्यसमा राम्रो भैरहेकै छ । प्रभाव परेको होला तर धेरै चाहिँ छैन । 

जति पनि विदेशी नाटक हामीले अनुवाद गरेर मञ्चन गरिरहेका छौं । राम्रो बनाउने प्रयास भैरहेकै छ । बीपी कोइरालाका नाटक होस् या मुनामदन, अर्थात अरु नाटक जति पनि हाम्रा नाटकमा काम भएको छ । सक्दो प्रयास भएको छ । नाटक लेख्ने मान्छे नै छैन, दोष लगाएर मात्रै हुँदैन । राम्रो नाटक लेख्नुहोस्, हामी मञ्चन गर्न तयार छौं । गर्नेले राम्रो गर्नु भएको छ । नराम्रो पनि छन् । तर सबैलाई एउटै डालोमा राखेर मूल्याङ्कन गर्नु हुँदैन । 

तपाईंको घरमै सिनियर रङ्गकर्मी हुनुहुन्छ, आफ्नै घरमा रंगकर्मी हुँदा आफ्नो रङ्गकर्मका लागि कत्तिको सहज हुँदोरहेछ ?

त्यही भएर त चलचित्रमा धेरै काम नगरेको नि मैले (हा...हा...हा...) । जसको सङ्गत गर्यो मान्छे त्यस्तैत्यस्तै हुने त हो । काम कहाँ काम गरेर हिट भयो–भएन भन्दा पनि मैले कस्तो काम गरें भन्ने हो । सायद मलाई पपुलर हुनु पनि थिएन होला, त्यो मेरो कमजोरी पनि होला । मलाई काम गर्नुथियो । अहिलेसम्म पनि गरिरहेको थिएँ । नाटकमा उहाँ (अनुप बराल) हुनुभयो । श्रीमान् भन्दा पनि सिनियर हुनुभयो । शिक्षक नै सँगै हुँदा, नाटकमै केन्द्रित हुनु स्वाभिक नै हो ।

के भयो नेपाली नाटकमा अझ धेरै दर्शकलाई आकर्षित गर्न सकिएला ?

कतिवटा नाटक भर्खरै प्रदर्शन भएका छन्, जुन सफल भए । नचलेका, नराम्रा नाटकलाई उदाहरण दिने हो भने छुट्टै कुरा हैन भने धेरै नाटक राम्रा पनि छन् । राम्रो प्रतिक्रिया आएका र राम्रै कलेक्सन गरेका नाटक पनि छन् । राम्रो नाटक गर्यो भने दर्शकले मन पराउनु हुन्छ । 

चलचित्रको मूलधारका कलाकारले थिएटर आर्टिस्टले कम पारिश्रमिकमै चलचित्रमा काम गरिदिने भएकाले चलचित्रमा थिएटर आर्टिस्टको बेलाबाला रह्यो भन्ने टिप्पणी गर्छन् नि, हो ?

यसबारेमा मलाई धेरै थाहा छैन । मैले चलचित्रमा काम नगरेको पनि धेरै भइसक्यो । कसले कति लिन्छ मलाई थाहा छैन । म कति लिन्छु मलाई मात्रै थाहा छ, उनीहरुले कति लिन्छन् उनीहरुलाई मात्रै थाहा छ । रह्यो दोष लगाउने कुरा, त्यो असुरक्षित महसुस गर्दाको प्रतिफल हो । हामीमा अरुलाई स्वीकार गर्ने, अरुको अस्तित्व स्वीकार्ने चलन छैन । हाम्रो बजार सानो छ । पैसा कमाउने ठाउँ छैन । त्यसैले थिएटरको मान्छेले चलचित्रकालाई चलचित्रकाले थिएरटका मान्छेलाई दोष लगाइरहेको पाइन्छ ।
 
रङ्गकर्मी चलचित्रमा आएर चलचित्रको अभिनय बिगारिदिए भन्ने आरोप लाग्छ नि तपाईंहरुलाई ?

नलिए भयो नि त थिएटर आर्टिस्टलाई, किन लिनु चलचित्रमा ? जसले दोष दिन्छ, त्यही दोष लगाउने मेकरले त्यही थिएटर आर्टिस्टलाई कास्ट गरिरहेको हुन्छ । 

संसारमा अहिलेसम्मका ठूला कलाकार थिएटरबाटै चलचित्रमा आएका छन् । हलिउडदेखि बलिउटसम्मका अग्रज महान कलाकार थिएटरबाटै आएका हुन् । उनीहरुले अभिनयलाई विगारे त्यसो भए ? हलिउड त अलि परकै कुरा भयो, बलिउडको कुरा गरौं, नसुरुद्धिन देखि अमिताभसम्म थिएटरबाटै आएका हुन् । रणवीर कपुरसँग पनि थिएटरको अनुभव छ । तिनीहरुले अभिनयलाई विगारे त्यसो भए ? हामी नेपालमा मात्रै चलचित्र र नाटकको अभिनयमा किन विवाद र के फरक छ अभिनयमा मैले बुझ्न सकेको छैन । 

थिएटर पढेर आओस् वा अभिनय, काम काम नै हो, अभिनय अभिनय नै हो । बुझ्नु पर्ने त विधा हो । शैली हो । विधा बुझाउन सक्नुहुन्न र क्यामेरा अगाडि उभ्याएर अभिनय गर भन्नुहुन्छ भने त्यो त मेकरको कमजोरी हो । काम गर्न सक्नेले जहाँ पनि राम्रो काम गर्न सक्छ । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !