site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आयात सङ्कुचनले व्यापार घाटा खुम्चियो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा व्यापार घाटा कम भएको देखिएको छ । आवको पहिलो तीन महिनामा व्यापार घाटा अघिल्लो वर्षको भन्दा १२ प्रतिशतले कम भएको हो । समीक्षा अवधिमा व्यापार घाटा ४२ अर्ब रुपैयाँले घटेको छ । व्यापार घाटाका यो तथ्य उत्साहपूर्ण मानिएको छ । तर तथ्याङ्क विश्लेषण गर्दा यसले उत्साह भने निम्त्याउने देखिँदैन । किनकि, यस अवधिमा हासिल भएको व्यापार घाटा न्यूनीकरणको कारण हो– आयात घट्नु । निर्यात ठूलो मात्राले बढेर व्यापार घाटा कम भएको होइन ।

भन्सार विभागका अनुसार पहिलो तीन महिनामा अर्थतन्त्रले ३ अर्ब ७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत वर्षको यही अवधिमा ३ अर्ब ४९ करोड रुपैयाँको व्यापार घाटा थियो ।

यस अवधिमा ३ अर्ब ३४ करोड रुपैयाँको आयात भएको छ भने मात्र २७ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । भन्सार विभागका अनुसार आयात गत वर्षको यही अवधिको तुलनामा १०.३४ प्रतिशतले सङ्कुचन भएको देखिन्छ । यही अवधिमा निर्यातले भने १४.४१ प्रतिशतको सामान्य वृद्धिदर हासिल गरेको छ ।
निर्यातको वृद्धिदर गत वर्षको वृद्धिदरभन्दा कम हो । विभागका अनुसार गत वर्षको यही अवधिमा निर्यात १५ प्रतिशतले बढेको थियो । गत आर्थिक वर्षभरचाहिँ आयात करिब १४ प्रतिशतले बढेको थियो भने निर्यात साढे १९ प्रतिशतले बढेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चालू आव सुरु भएयता देशमा निर्यातभन्दा आयात १२ गुणा बढी भएको भन्सार विभागको तथ्याङ्क छ । गत वर्ष यस्तो अनुपात साढे १५ गुणा रहेको थियो ।

निर्यात दर खुम्चिँदा निर्यात भएको वस्तु तथा सेवाको मूल्यमा भने केही वृद्धि भएको छ । आव २०७४–७५ को पहिलो तीन महिनामा २० अर्ब ४५ करोड रुपैयाँको निर्यात भएकोमा आव २०७५–७६ को पहिलो तीन महिनामा २३ अर्ब ७४ करोड रुपैयाँ हुँदै चालू आवको पहिलो तीन महिनामा २७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
आयातमा भने उल्लेख्य सुधार भएको देखिएको छ । गत आवको पहिलो तीन महिनामा ३ खर्ब ७३ अर्ब रुपैयाँको आयात भएकोमा यसवर्षको सोही अवधिमा ३ खर्ब ३४ अर्ब रुपैयाँमा खुम्चिएको छ ।

चालू आवको पहिलो तीन महिनामा आयात उल्लेख्य मात्रामा घट्नुका कारणमा जैविक इन्धन तथा सवारी साधनको आयातमा कमी, फलाम तथा स्टिलको कम खपत, हवाईजन्य पार्टपुर्जाको आयात कम हुँदा आयात घट्नु रहेको देखिन्छ । विभागका अनुसार गत आवको पहिलो तीन महिनामा ५६ अर्ब ६७ करोड रुपैयाँबराबरको जैविक इन्धन, तेल तथा प्रशोधित उत्पादन नेपाल आयात भएकोमा यस वर्ष त्यसमा कमी आएर ४७ अर्ब ३५ करोड रुपैयाँमा कायम भएको छ । यसैगरी, फलाम तथा स्टिलको आयात गत वर्ष ४० अर्ब रुपैयाँबराबरको भएकोमा यसर्ष २७ अर्ब ८६ करोड रुपैयाँमा घटेको छ ।

सवारीसाधनको आयातमा पनि २ अर्ब रुपैयाँले कमी आएको छ । अघिल्लो आवको पहिलो तीन महिनामा २९ अर्ब ४८ करोड रुपैयाँबराबरको आयात भएकोमा यस वर्ष २७ अर्ब ३४ करोड रुपैयाँको मात्र सवारीसाधन आयात भएको देखिन्छ ।

विभागको तथ्याङ्कअनुसार महँगा सवारीसाधनको आयात घटेको हो । यसकारण आयातमार्फत् सङ्कलन हुने राजस्वमा कमी आएको विभागले जनाएको छ । गत वर्ष ३० अर्ब रुपैयाँ राजस्व सङ्कलन भएकोमा यस वर्षको पहिलो तीन महिनामा २५ अर्ब ३४ करोड रुपैयाँमात्र राजस्व उठेको छ ।

यस वर्ष सवारीमार्फत् उठ्ने भन्सार राजस्वमात्र कम भएको होइन, समग्र भन्सार राजस्वमा पनि गिरावट आएको छ । गत आवको पहिलो तनि महिनामा ९९ अर्ब ९२ करोड रुपैयाँ राजस्व भन्सार कार्यालयहरुबाट सङ्कलन भएको थियो । यो राजस्वमा आयात भएका वस्तु तथा सेवामार्फत् सङ्कलन हुने आयात शुल्क, मूल्य अभिवृद्धि कर, एआरएफ, आईएफटी आदि समावेश हुन्छन् ।

पहिलो तीन महिनामा प्लास्टिकजन्य सामग्रीको आयात पनि घटेको छ । हवाई पार्टपूर्जा तथा जहाजको आयात पनि अघिल्लो वर्षभन्दा १० अर्ब रुपैयाँ कम रहेको छ । तरकारी तथा फलफूलको आयातमा कमी आउँदा पनि व्यापार घाटा खुम्चन गएको हो ।
फाइल तस्बिर 

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  ०७:३७
प्रतिक्रिया दिनुहोस्