site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘एक सय एक’ माधव घिमिरे
Sarbottam CementSarbottam Cement

काठमाडौं । बोलीचालीको भाषामा उत्कृष्टताको चर्चा गर्दा हामी ‘एक सय एक’ भन्ने गर्छौं । र, उत्कृष्टताको त्यही चुलीमा पुगेका छन्, राष्ट्रकवि माधव घिमिरे । जो लेखनले मात्रै एक सय एक नभएर उमेरले पनि मङ्गलबार एक सय एकमा पुगेका हुन् । एउटा सामान्य मानिसको कल्पनाभन्दा परको विषय हो शतायु नाघ्नु । कसैले त्यो सोच्दैन पनि । जति बाँचिन्छ, त्यो उमेरमा हजारौंले सम्झना गरेर बाँच्ने वातावरण पैदा होस् भन्ने तिनको चाहना हुन्छ ।

यहाँ गर्वको विषय के छ भने, घिमिरेले मुलुकलाई काव्य–साहित्यका माध्यमबाट दिएको योगदान अतुलनीय छ । उनका काव्य एक सय एक मानिन्छ । तिनै विराट प्रतिमा शतायु नाघ्दै एक सय एक वर्षमा प्रवेश गरेका छन् । हरेक दृष्टिकोणबाट कविवर घिमिरे एक सय एकको कोटीमा पुगेका छन् ।

१९७६ साल, असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले नेपाली साहित्यमा दिएको योगदानले उनलाई एक सय एकमात्रै नभएर हजारौं वर्ष जीवित तुल्याएको छ । उनले बर्साएको काव्यधाराले सबैलाई निथ्रुक्क भिजाएको छ । चाहे ती साहित्यिक मन हुन् वा नहून् । 

Prabhu Bank
Agni Group
NIC Asia

कविवर घिमिरेको बाल्यकाल मातृवात्सल्यबाट विमुख रह्यो । आफ्नी आमाको ममता उनले बाल्यकालमा पाउन सकेनन् । सायद त्यसैले होला, उनी सानै उमेरदेखि भावुक प्रवृत्तिका भए । त्यसमाथि लमजुङ जस्तो प्रकृतिको सुन्दर काखमा उनको बाल्यकाल बित्यो । फलतः उनले त्यो सुन्दरता र मनका अनेक भावनालाई काव्यका रुपमा बगाउँदै लगे ।

जसरी सगरमाथाको हिउँ पग्लेर कञ्चन पानी विशाल नदीहरूमा बग्दै गएर सर्वत्र सिञ्चित गर्दै जान्छ, त्यसैगरी घिमिरेका काव्यधाराले नेपाली मनलाई सिञ्चित तुल्याएको छ । आज पनि घिमिरेका अथाह श्लोकहरूले मनलाई शीतल बनाउँछ । जुन काव्य सर्वकालिक छन्, सर्वप्रिय छन् । 

Global Ime bank

प्रारम्भमा घरमै सुशिक्षित हुँदै गएका घिमिरेले संस्कृतको पढाइ स्थानीय संस्कृत विद्यालयबाट सुरु गरे । त्यसपछि उनी काठमाडौं भित्रिँदै संस्कृत भाषाको अध्ययनलाई निरन्तरता दिए । तत्कालीन समयमा उनको पठनपाठन रानीपोखरीको संस्कृत पाठशालामा भएको थियो ।

पहाडबाट राजधानी भित्रिएका घिमिरे पढ्नैका लागि बनारस पुगे । त्यो बेलामा बनारस शैक्षिक केन्द्र थियो । शिक्षादीक्षाका लागि उत्कृष्ट गन्तव्य थियो बनारस । भारतीय सांस्कृतिक सहर बनारस धेरैको प्रिय पनि थियो । तत्कालीन परिवेशमा एउटा भनाइ नै थियो, ‘विद्यार्थी पढ्नलाई बनारस जान्थे भने बुढापाका शिवस्थल पुग्थे मर्नलाई ।’ यही सांस्कृतिक नगरी बनारसमा घिमिरेले संस्कृतको थप  पढाइ सिध्याए । 

कलिलो उमेरदेखि नै काव्य रचनामा लिप्त रहँदै आएका घिमिरेको प्रथम कविता उनी १४ वर्षको हुँदा पत्रिकामा प्रकाशित भएको थियो । गोरखापत्रमा उनको ‘ज्ञानपुष्प’ शीर्षकको रचना प्रकाशित भएको थियो । उनी अहिले पनि काव्यलेखनमा व्यस्त छन् ।  घिमिरेका कविताले नेपाली लोकजीवन बोल्छ, प्रकृति बोल्छ ।  उनको कुनै पनि कविता पढ्दा त्यस्तो बोध गर्न सक्छ एउटा पाठकले । मानिसको जीवनसँग गाँसिएका दुःख–सुखलगायतका विषय उनको कवितामा प्रस्तुत हुन्छ । 

घिमिरेको कविताको सुन्दर चित्रण गर्छन्,, साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा । उनका अनुसार घिमिरेका कविता चिटिक्क मिलाइएका इँटाका पर्खाल हुन् । त्यति सुन्दर, त्यति चित्ताकर्षक । उनको कविताको सुन्दरताको बयान नगर्ने मानिस कमै होलान् ।  घिमिरेका कवितामा नरम्ने र त्यसको रसपान नगर्ने नेपाली भाषी कमै होलान् । जहाँजहाँ नेपाली भाषी छन्, त्यहाँत्यहाँ घिमिरेका कविता छन् । र, उनको कवितासँगै देश छ । देशको माटो छ । नेपाली जीवन छ, प्रकृति छ । 

बनारसबाट शास्त्रीको पढाइ सिध्याएर आएपछि उनी केही समय गाउँकै विद्यालयमा पढाउन थाले । त्यसपछि मात्रै उनी तत्कालीन रोयल नेपाल एकेडेमी प्रवेश गरेका हुन् । उनी त्यहाँ पदासिन रहँदा उनले गरेको काव्य विकास र लोकगीत अनुसन्धानको चर्चा आज पनि हुने गर्छ । 

घिमिरेको काव्यकर्मबाट एउटा सामान्य सर्जकले सिक्नुपर्ने कुरा अथाह छन् । तिनका विषयमा उल्लेख गरेरै सकिन्न । तर उनको एउटा बानी चोर्दा, कसैलाई पनि घाटा हुँदैन । त्यो हो, उनको कविता परिमार्जन र सम्पादन गर्ने शैली । नगेन्द्रराज शर्माका अनुसार कविवर घिमिरे आफ्नो एउटा कविता ५० पटकसम्म परिमार्जन र स्वसम्पादन गर्छन् ! कुनै मूर्तिकारले मूर्तिलाई जीवन दिएजस्तो ! त्यसैले पनि घिमिरे एक सय एक नै हुन् । उनको एक सय एक जीवनबाट हामीले धेरै कुरा सिक्न सक्छौं । 

  
   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  ०६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC