site stats
बाह्रखरी :: Baahrakhari
देश
किन कोसी प्रदेशमै सीमित भयो मनसुन, के कारण अगाडि बढ्न सकेन ?
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशमा मनसुन भित्रिएको पाँच दिन भइसकेको छ । जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो । 

पाँच दिन बितिसके पनि मनसुन कोसी प्रदेशबाट थप अगाडि अर्थात् त्यहाँबाट पश्चिमतर्फ बढेको छैन । अझै केही दिन कोसी मै मनसुन सीमित रहनेछ । 

“अझै केही दिन मनसुन कोसी प्रदेशमै सीमित रहनेछ । न्यूनतम अबको तीन दिन मनसुन कोसी प्रदेशबाट पश्चिमतर्फ लाग्ने छैन,” मौसमविद् सञ्जिव अधिकारीले बाह्रखरीसँग भने । 

Argakhachi Cement Island Ad

यसको कारण मनसुनी वायु कमजोर हुनु हो । मनसुनी वायु कमजोर र पश्चिमी र स्थानीय वायु सक्रिय हुनु नै मनसुन कोसीमा सीमित रहनुको मुख्य कारण भएको मौसमविद् अधिकारी बताउँछन् । 

“अहिले पनि कोसी प्रदेशबाहेकका भूभागमा पश्चिमी र स्थानीय वायु सक्रिय छ । पश्चिमी र स्थानीय वायुभन्दा मनसुनी वायु स्ट्रङ भएर त्यसलाई धकेल्दै पश्चिमतर्फ अगाडि बढ्दा मनसुन फैलिँदै जाने हो,” मौसमविद् अधिकारी प्रष्ट पार्छन्, “तर, मनसुनी वायु पश्चिमी वायुभन्दा कमजोर हुँदा ठेल्न सकेन र कोसीमै सीमित रह्यो ।” 

पश्चिमी वायुभन्दा मनसुनी वायु थप सक्रिय र स्ट्रङ भएपछि मात्रै अन्य प्रदेशमा मनसुन फैलिँदै जाने उनको भनाइ छ । 

मौसमविद् अधिकारीका अनुसार गत वर्ष कोसी प्रदेशमा नौ दिन मनसुन सीमित भएको थियो । 

“यो वर्ष नौ दिन वा त्योभन्दा बढी कोसीमै मनसुन सीमित होला अथवा अगाडि नै अरु प्रदेशमा फैलिएर अहिले नै भन्न सकिन्नँ,” उनी भन्छन्, “तर, कम्तीमा अबको तीन दिन भने कोसीमै सीमित रहनेछ ।” 

मनसुन पूर्वबाट प्रवेश गरी सुदूरपश्चिमसम्म फैलिन्छ । यसका लागि केही समय लाग्ने गरेको छ । 

मौसमविद् डेबिड ढकालका अनुुसार गत वर्ष मनसुन देशभर फैलिन करिब १३ दिन लागेको थियो । 

सामान्यतया मनसुन देशभर फैलिन सातदेखि १२/१५ दिनसम्म लाग्ने गरेको उनी बताउँछन् । गतवर्ष जेठ २८ गते नेपाल प्रवेश गरेको मनसुन देशभर फैलिन असार १० सम्म लागेको थियो । 

मनसुन प्रवेश गरेपछि पश्चिमबाट वायु पूर्वतर्फ चल्यो भने मनसुन देशभर फैलिन लामो समय लाग्ने तर हावाको बेग पूर्वबाट पश्चिमतर्फ चल्यो भने चाँडै मनसुन देशभर फैलिने गरेको मौसमविद् ढकाल बताउँछन् । 

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्