– विकास मरासिनी
पत्रपत्रिका, अनलाइनदेखि सामाजिक सञ्जालका भित्तामा प्याब्लो पिकासो, भ्यानगग, सेल्भेडर दली र लियोनार्दो दा भिन्चीको चर्चाले रंगिन्छन् । तर, विश्वप्रसिद्ध इटालियन कलाकार मिकेलान्जेलोको चर्चा खासै देखिँदैन । के मिकेलान्जेलो बोनारोट्टीको कलाकारितामा कुनै खोट छ ? के उनी विश्वका उत्कृष्ट कलाकारको सूचीमा पर्दैनन् ? किन उनको बारेमा लेखिएन ?
त्यसैले आज म यहाँ उनै कलाकारको कुरा गर्दै छु, जसको कलाले विश्वभर सबैलाई लठ्ठ बनायो । जसले आफ्नो कलालाई शीलामा कैद गरे, चित्र कोरे, अनेक वास्तुकला बनाए, प्रेमपत्र लेखे, कविता कोरे । जीवनभर माया–मोहमा नलागी कलाकै साधनामा लागिरहे । आफ्नो जीवनलाई कलाको असीम पहाड माने, जसबाट तल उत्रिन चाहेनन् । उनले आफूलाई कहिल्यै कलाकार मानेनन् । आफूले बनाएका तस्बिर र मूर्तिमा उनलाई कहिल्यै चित्त बुझेन ।
पुनर्जागरणकालका ती अनौठा कलाकार इटालीका थिए । कलाकारको खानी इटालीमा उनीमात्र होइनन्, लियोनार्दो, राफेलजस्ता कलाकार पनि जन्मेका थिए । लियोनार्दो र राफेल उनकै शताब्दीका महान कलाकार थिए ।
मिकेलान्जेलो सन् १४७५ मार्च ६ मा इटालीको क्याप्रेसमा जन्मेका थिए । उनका बुवा सरकारी कर्मचारी थिए । मिकेलान्जेलो एक महिनाको छँदा उनको परिवार फ्लोरेन्स शहरमा बसाइ स¥यो । उनी ६ वर्षको छँदा आमाको मृत्यु भयो । बच्चैबाट मिकेलान्जेलो कलाप्रति आकर्षित भए । बुवाले छोरो धेरै पढेर परिवारको आर्थिक अवस्था सुधारोस् भन्ने चाहन्थे तर उनले मानेनन् । उनले आफू कलाकै लागि जन्मेको मेसो पाइसकेका थिए । त्यसैले पढाइमा उनले त्यति ध्यान दिँदैनथे । फलस्वरूप उनलाई बुवाले फ्लोरेन्स शहरको प्रसिद्ध चित्रकार डोमेनीको घिर्लान्डोको जिम्मा लगाइदिए । त्यतिबेला मिकेलान्जेलोको उमेर जम्मा १३ वर्ष थियो । डोमेनीको उनको कलाबाट चकित पर्थे ।
१७ वर्षको उमेरमा मिकेलान्जेलोले मूर्ति बनाए, जसलाई ‘ब्याटल अफ दि सेन्टर’ भनेर चिनिन्छ । मूर्ति सामान्य भए पनि कला प्रशस्तै झल्किन्थ्यो । कला उनको रगतमा बगेको थियो ।
एकदिन साथी ग्रानसीले उनलाई लोरेन्जोको भव्य बगैंचामा लगे । बगैंचामा पुराना मूर्ति थिए । मिकेलान्जेलो ती मूर्ति देखेर खुब रमाए । उनले त्यहाँ एउटा मूर्ति देखे वनदेवताको । एउटा शीला खोजेर उस्तै चित्र बनाए । लोरेन्जो उनको चित्र देखेर अचम्म पर्दै भने, “अनुहार बूढो छ । के बूढो मानिसको सबै दाँत हुन्छन् र ?”
यसपछि मिकेलान्जेलोले छिनो खोजेर मूर्तिबाट कुशलतापूर्वक एउटा दाँत यति मजाले उखेले कि लोरेन्जो आश्चर्यचकित भए । उनले माइकलका बुवालाई बोलाएर भने, “तपाईंको छोरा सामान्य मानिस होइन, यो त उत्कृष्ट कलाकार हो । यसको चर्चा पछिसम्म पनि मानिसहरूले गरिरहनेछन् । तपाईंको आज्ञा छ भने म उसलाई मेरो दरबारमा राख्छु । उसले प्रशिक्षकबाट सिक्नेछ । अझै धेरै निपूर्ण हुनेछ ।”
लोरेन्जो फ्लोरेन्सका शक्तिशाली व्यक्ति थिए, शासकजस्तै । उनको कुरा सबैले सुन्थे । उनी कलाका पारखी थिए, कलाकारको संगत पनि उस्तै थियो । मिकेलान्जेलो त्यसपछि लोरेन्जोसितै बस्न थाले । कलाकारहरूको संगतले उनी झन् पछि झन् निखारिँदै गए ।
सन् १४९६ मा उनी इटालीको राजधानी रोम गए । त्यहाँ गएर उनलाई आफ्नो कला अगाडि बढाउन अझ सजिलो भयो । उनले रोममा ६ वर्ष बिताए । रोम कलामा निकै सुन्दर थियो । प्राचीनकालमा ग्रिसेली कलाकार, वैज्ञानिक र दार्शनिकहरू लुटेराबाट लखेटिएर रोम आएका थिए । उनीहरूले आफ्नो कलालाई रोमभरि छरेका थिए । रोमको कला देखेर मिकेलान्जेलोले कलाप्रतिको आफ्नो दृष्टिकोणलाई फराकिलो पार्ने मौका पाए । उनले त्यहाँ पाइटाको मूर्ति बनाए, जसमा मेरीले मृत जिससलाई आफ्नो काखमा राखेकी छिन् । उनले आफ्नो एकमात्र कला त्यही पाइटालाई माने । उनले मेरीको घाँटीमा आफ्नो नाम कोरेका छन् । अरू कुनै पनि मूर्तिमा उनले आफ्नो नाम कोरेका छैनन् । मूर्ति यति कलात्मक बन्यो कि कुरै छाडौं । उनी फ्लोरेन्समा त छाएका थिए नै, अब देशभरि चर्चाको शिखरमा पुगे ।
उनी फ्लोरेन्स फर्किए । त्यहाँ उनले डेविडको मूर्ति बनाए, जुन १८ फिट अग्लो छ । गोलियथसँग लड्नुअघिको डेविडको मुद्रालाई यो मूर्तिमा देखाइएको छ । ४० वर्षअघिदेखि सबैले काम लाग्दैन भनेर फालेको शीलाबाट उनले डेविडको मूर्ति बनाएका थिए । त्यो मूर्ति यति कलात्मक बन्यो कि फ्लोरेन्सका मानिसहरूले मिकेलान्जेलोलाई भगवान् मान्न थाले । उनको कीर्ति चारैतिर फिँजियो ।
सन् १५०८ मा पोप जुलियस द्वितीयले आफ्नो निवास सिस्टाइन चेपलको छत सिँगार्न लगाए । खासमा इटालीका कलाकार राफेलले मिकेलान्जेलोको कलाबाट आरिस गरेर उनलाई फसाएका हुन् पनि भन्ने भनिन्छ । शुरुमा मिकेलान्जेलोले इन्कार गरे तर पछि उनले नबनाई धर पाएनन् । खासमा उनले रङ भरेका थिएनन् । उनले मूर्तिमात्र बनाएका थिए । उनले चार वर्ष लगाएर सिस्टाइन चेपललाई सिँगारे । उनले कसैको साथ खोजेनन् । आफ्नो ढाडको बलमा भित्तो भरिरहे । जब सन् १५१२ मा कलाको अनावरण गरियो, त्यहाँका चित्रहरू देखेर सबै छक्क परे । १४५ वटा चित्रले सिस्टाइन चेपललाई कलात्मक चित्ताकर्षक बनाए । सिस्टाइन चेपललाई सिँगार्नु सामान्य कुरा थिएन । अरू कलाकारले आफ्नो जीवनभरमा पनि भर्न सक्दैनथे होला । मिकेलान्जेलोको कलाकारिता अनौठो थियो । सिस्टाइन चेपलमा उनले कुनै–कुनै ठाउँमा आफूलाई पनि चित्रको रूपमा उतारेका छन् । सिस्टाइन चेपलको एडम र जिससको चित्र निकै प्रख्यात मानिन्छ । मूर्तिकारका रूपमा चिनिएका मिकेलान्जेलोले त्यसपछि चित्रकारका रूपमा ख्याति पाए ।
उनी मूर्तिकार, चित्रकारमात्र नभई कवि पनि थिए । पति गुमाएकी कवयित्री भिक्टोरिया कोलोनासँग उनको सम्बन्ध निकै गहिरो थियो । भिक्टोरियाले उनलाई कविता कोर्न सिकाइन् । मिकेलान्जेलोले भिक्टोरियालाई खुब प्रेम गर्थे । उनले जीवनकालमा ३ सय वटा जति सनेट लेखे । उनका कविता पनि निकै उत्कृष्ट थिए । उनका कवितामा जीवन दर्शनका गहिरा कुरा कोरिएका छन् । उनी पनि सेक्सपियर र बिथोविनकै कोटिमा गनिन्छन् ।
जीवनको अन्तिम दशकमा उनी वास्तुकलाप्रति आकर्षित भए । शरीरले उनलाई साथ दिन छाडेको थियो । वास्तुकलामा शारीरिक बल नपर्ने हुँदा उनी यतातिर लागेका थिए । उनले संग्रहालयलगायतका अन्य वस्तु बनाउन थाले । उनका मूर्तिकला, चित्रकलाजस्तै वास्तुकला पनि अद्भूत छन् ।
मिकेलान्जेलो निकै अनौठा थिए । उनी कला भनेपछि यति हुरुक्कै हुन्थे कि खान, सुत्न बिर्सिन्थे । उनी महिना दिनसम्म एउटै कपडा लगाइरहन्थे । सुत्दा पनि आफ्नो बुट लगाएरै सुत्थे । उनको शरीरभरि सिमेन्ट टाँसिएको हुन्थ्यो । आफूले भनेजस्तो भएन भने उनी खुब रिसाउँथे । त्यसैले उनी एक्लै काम गर्न रुचाउँथे ।
मिकेलान्जेलोले अहिलेको ३ करोड ५० लाख डलरजति कमाए । तर, कहिल्यै मोजमस्तीको जीवन बिताएनन् । उनी भन्थे, “मैले जतिसुकै पैसा कमाए पनि म गरिबजसरी नै बाँच्नेछु ।”
उनले आफ्नो आम्दानी गरिबहरुलाई बाँड्थे । कलाका लागि जन्मिएका मिकेलान्जेलो विवाह पनि नगरी कलाकै साधनामा दिनरात लागे । दिनरात कलाकै सपना देखेर विपनालाई कलाले सिँगार्दै सन् १५६४ फेबु्रअरी १८ मा उनले धर्ती छाडे । निधनको केही दिन अघिसम्म पनि उनले काम गरिरहेका थिए । यही साधनाले उनलाई अमर बनाएको छ ।
(विभिन्न अनलाइन साइटको सहयोगमा)