site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अराजक’ पत्रकार !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

नरेश फुयाँल


भक्तपुरस्थित देवेन्द्र गौतमको घर सुवर्णेस्वर महादेव पुग्दा संग्रहालय गएजस्तो छनक पाइन्छ । आँगनमै पुरानो प्रेसलाई छोपेर राखिएको छ । मूल ढोकाबाट छिर्दा राउन्ड टेबलसहितको मिटिङ हल छ । अर्को कोठा छिर्दा पेयपदार्थले सजिसजाऊ बार देखिन्छ । माथिल्लो तलामा उक्लिन खोज्दा भर्‍याङमै देखिन्छ बडेमानको लाइब्रेरी । छत चाइनिज दुबोले भरिएको छ । बिहीबार हामी पुग्दा देवेन्द्र श्रीमती (प्रदिपा गौतम)सँग घामको मजा लिइरहेका थिए । छतको दुबोमा राति शीत झरेपछि मर्निङ वाकका लागि देवेन्द्र र श्रीमतीलाई घरको कम्पाउन्ड पार गर्नु पर्दैन ।

कुराकानीको शुरुमै आँगनमा छोपेर राखिएको प्रेसबारे कुरा उप्काएँ । “वि.सं. १९०८ मा जंगबहादुर राणाले ल्याएको गिद्धे प्रेस सरकारले कबाडीमा बेचेर खायो । मसँग कम्तीमा यो प्रेस छ । यसलाई ऊऽऽ त्यो म्युजियममा राख्छु,” देवेन्द्र र श्रीमतीले पूर्वतर्फ औंल्याउँदै टाटीले चटक्क पारेर बनाइएको घर (संग्रहालय) देखाए, “जुन नयाँ पुस्ताले अब न किन्न पाउँछ न देख्न । कम्पोज राख्छु । त्यसका सिसा र काठका अक्षर पनि छन् । त्यही म्युजियममा राख्छु । त्यहाँ मैले प्रकाशन गरेका पत्रिका हुन्छन् । अनि पत्रकारितासँग सम्बन्धित विभिन्न पुस्तक पनि राख्छु । बसेर छलफल र कार्यक्रम गर्न एउटा सभा हल पनि हुनेछ म्युजियममा, जहाँ पत्रकारिताका विद्यार्थी र प्रोफेसर आएर अनुसन्धान गर्न सक्नेछन् । तपाईं अर्को पटक आउँदा म्युजियम देख्न सक्नुहुनेछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिन्दगीको ऊर्जावान समयमा देवेन्द्रले पत्रकारिता गरे । निर्दलीय पञ्चायतको कालो छायामा पत्रकारिता गर्न सजिलो थिएन । विशेषगरी जनताका पक्षमा लेख्न । जिन्दगी पातमा राखेर तरवारको धारमा हिँडेसरह थियो । त्यो चुनौती जबर्जस्ती कसैले थमाएको होइन उनलाई । आफैंले रोजे त्यो काँडाको बाटो । र, हिँडे, हिँडिरहे । त्यो यात्रा अझै सकिएको छैन । त्यो बाटो हिँड्दाका शुरुवाती दिनको माया कति छ उनलाई ? तुलोमा तौलिएर भन्न सकिँदैन । संग्रहालय बनाउँदै छन् । शायद त्यही नै मापक हो ।

जो उनको घर पुगेको छ, उसले देख्छ— पत्रकारिताप्रति देवेन्द्रको मोह । जुन घरका भित्ताभित्तामा प्रतिविम्बित छन् । उनले कति वटा पत्रिका निकाले ? घरका भित्तामा फ्लेक्स बनाएर टाँसिएको छ । करिब दुई दर्जन त्यस्ता फ्लेक्स छन् । लाग्छ— देवेन्द्रको घर इँटा र सिमेन्टले होइन, पत्रिकाका पानाहरूले ठडिएको छ ।

Royal Enfield Island Ad

\"\"

० ० ०

वि.सं. २००७ सालमा राणाहरूबाट जनताले खोसेर ल्याएको प्रजातन्त्र दरबारले ०१७ सालमा खोसेर निदर्लीय पञ्चायत लागू गर्‍यो । पञ्चायती व्यवस्थाको गुणगान गाउने दलहरू खुला भए, विरोध गर्नेहरू प्रतिबन्धित भए । देवेन्द्रलाई निर्दलीय पञ्चायती व्यवस्था चित्त बुझेको थिएन । ०२७ सालमा भाइ उपेन्द्र गौतमले ‘रसायन’ नामको पत्रिका दर्ता गरे । राजनीतिक पत्रिका दर्ता गर्न पाइँदैनथ्यो, त्यसैले नाम ‘रसायन’ राखेका थिए ।

“त्यहीबेला शैलेन्द्रकुमार उपाध्याय (जो पछि परराष्ट्रमन्त्री भए) ‘तरुनी’ नामक पत्रिका दर्ता गर्न जानुभएको थियो,” ०२७ सालमा फर्किए देवेन्द्र, “... बूढोले तरुनी पत्रिका निकाल्ने ? भन्दै अञ्चलाधीशले दर्ता गर्दिएनन् । हामी भने दर्ता गरेर फर्कियौं ।”

नाम ‘रसायन’ त सरकारको आँखा छल्ने बाटोमात्रै थियो । उद्देश्य त राजनीतिक समाचार दिने नै थियो । नाम दर्ता गरेजस्तो सजिलो थिएन पत्रिका निकाल्न ।

तर, देवेन्द्रलाई विश्वास थियो— भुसुनाले हात्ती मार्छ । उनलाई त्यस्तै पत्रिका निकाल्नु थियो । राज्यसत्ताले हत्याएका जनताका अधिकार फिर्ता गराउनु थियो । त्यसका लागि कसरी भूमिका निर्वाह गर्न सकिन्छ, ध्यान त्यसमै थियो । ‘रसायन’का सम्पादक उपेन्द्र थिए । त्यसैले देवेन्द्रले ०२९ मंसिर २९ मा ‘नेपाल पोस्ट’ दर्ता गरे ।

पहिलो अंकमा नेपाल–चीन सम्बन्धबारे समाचार लेखे । संयुक्त राष्ट्रसंघमा चीनले कसरी प्रवेश पायो, सदस्यताका लागि नेपालले गरेको संघर्ष लगायतका विषयमा समाचार लेखेका थिए । समाचारले खैलाबैला मच्चायो । देवेन्द्र सुनाउँछन्, “पञ्चायतको चाकडी गर्ने पत्रकार नै सञ्चारमन्त्री चतुरभुजप्रसाद सिंहकोमा डेलिगेसन गए र भने— साहित्यिक भनेर दर्ता भएको पत्रिकाले कसरी निकाल्यो समाचार ? दर्ता खारेज गर्नुपर्‍यो ।”

मन्त्रीले भनेछन्, “पर्ख पर्ख अर्को अंक हेरौं ।”

पुस १४ गते दोस्रो अंकमा देवेन्द्रले राजाको जन्मोत्सव विशेष अंक निकाले । राजाकै सेरोफेरोमा पत्रिका केन्द्रित भएपछि दर्ता खारेज गर्ने कसको ताकत ? सबै चुप् । हाउगुजी मथ्थर भयो ।

\"\"

देवेन्द्र आफूसहित त्योबेलाका केही पत्रकारलाई ‘मूल परेको’ बच्चा भन्न रुचाउँछन् । जसले न सरकारको सहयोग पाए न त सरकारी संघसंस्था र निकायको । तर, सरकारका गैरराजनीतिक क्रियाकलाप र जनताविरोधी क्रियाकलापको विरोधमा समाचार लेख्न छोडेनन् । ती थिए— ‘नौलो नेपाली’का खेमबन्दु कोइराला, ‘ज्वाला’का कृष्णप्रसाद शिवाकोटी र ‘जनहित’का पुष्प थपलिया ।

देवेन्द्र हामीलाई त्यतिबेलाको कलकत्ता पुर्‍याउँछन् । नेसनल लाइब्रेरीमा छिराउँछन् र सुनाउँछन् त्यो बेलाको कहानी । देवेन्द्र लाइब्रेरीमा छिर्दा लुंगी र गन्जी लगाएर पुष्पलाल श्रेष्ठ पुष्तक पढिरहेका थिए । देवेन्द्रसँग अरू पनि थिए— पत्रकार कपुर ज्ञवाली र नेपालभूषण न्यौपाने । उनीहरूले पनि आ–आफ्नो परिचय दिए ।

देवेन्द्रले आफ्नो परिचय दिँदै भने, “म नेपाल अलबानियाँ मैत्री संघको अध्यक्ष पनि हुँ ।”

होस्टेलमा बस्ने पुष्पलालले आफ्नो कोठामा लैजाँदै भने, “म आफैं चिया बनाएर खुवाउँछु ।”

चिया बनाए । खुवाए ।

“राष्ट्रवादी नेता हुनुहुन्थ्यो उहाँ । देश कसरी बचाउनुपर्छ भन्ने चिन्ता थियो उहाँमा । परिबन्दमा परेर उहाँ उतै बित्नुभयो । उहाँको अस्तु ल्याउँदा एयरपोर्टमा कुटाइ खानेमा म पनि एक थिएँ,” उनले सम्झिए ।

(भारत प्रवासमै रहेका बेला ०३५ साउन ७ गते नयाँदिल्लीस्थित ‘अल इन्डिया मेडिकल इन्स्टिच्युट’मा उपचार गर्दागर्दै पुष्पलालको मृत्यु भयो । उनको अस्तु नेपाल ल्याउने कुरा चल्यो । पञ्चायतले ल्याउन नदिने तयारी थाल्यो । त्यो सबै थाहा पाएका पुष्पलालका समर्थकले नयाँ उपाय अपनाए । अस्तु दिल्लीबाट रेलमा रक्सोलसम्म लिएर आए । त्यहाँबाट वीरगन्ज हुँदै सिमरा आए । सिमराबाट काठमाडौंको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । प्रहरीले भने दिल्लीबाट आएका विमानमा विशेष निगरानी गरिरहेको थियो । अस्तु ल्याएको देख्नेबित्तिकै जफत गर्न तयार थियो । विमानस्थलमा जम्मा भएका पुष्पलालका शुभेच्छुक, शुभचिन्तक, आफन्त तथा कार्यकर्तामा निराशा छाइसकेको थियो । त्यही भीडमा देवेन्द्र पनि थिए । ठीक त्यति नै बेला सिमराबाट आएका एक व्यक्ति हातमा घैटो बोकेर झुल्किए । दिल्लीबाट आएको फ्लाइटलाई निगरानीमा राखेको प्रहरीले पत्तै पाएन सिमराबाट आएको विमानमा पुष्पलालको अस्तु आउँदैछ भन्ने । ती व्यक्तिले ‘पुष्पलालको अस्तु ल्याइयो’ भने । नाराबाजी शुरु भयो । जुलुस पैदल शोभाभगवती पुगेर नेवारी परम्पराअनुसार उनको अस्तु सेलाइयो ।)

कलकत्ताबाट प्लेनमा बम्बई गए । बम्बईमा हो देवेन्द्रले पहिलोपटक टिभी देखेको । बम्बईबाट दिल्ली फर्किए । त्यहाँ आउँदा पैसा सकिसकेको थियो । दूतावास पुगेर देवेन्द्रले भने, “मलाई पैसा चाहियो । नेपाल पुगेर म वापस गरिदिन्छु ।”

नेपाल आएपछि देवेन्द्र १२ सय पैसा फिर्ता गर्न परराष्ट्र मन्त्रालय पुगे । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले भने, “किन तिर्नुपर्‍यो तपाईंले पैसा ? यत्रो ठूलो काम गरिदिनुभएको छ ।”

देवेन्द्रले बल्ल थाहा पाए, “म त मिसयुज भइसकेछु ।”

पछि बुझ्दा उनी झसंग भए ।

कलकत्तामा देवेन्द्रसँगै गएका साथीहरूले पुष्पलालसँग तस्बिर खिचौं भने । राष्ट्रका लागि लडिरहेको नेतासँग तस्बिर खिच्न के भयो र ? उनले पनि सँगै बसेर तस्बिर खिचे । तर, उनीहरूले त कुटिल चाल चलेका रहेछन् । सरकारसँग पुष्पलालको फोटो रहेनछ । त्यसैले उनको फोटो सरकारलाई दिनका लागि खिचेका रहेछन् । दूतावास हुँदै पुष्पलालको फोटो दरबारसम्म पुर्‍याइसकेका रहेछन् । धुलाएर ठूलो पारेर राखिसकेका रहेछन् ।

\"\"

बीपी र कार्यकर्ता

बनारसमा ग्रहण लागेको दिन थियो । देवेन्द्र गम्छा र लुंगीमा बीपी कोइरालाको भाषण सुन्न कार्यक्रम स्थल पुगे । निर्धारित समयको तीन घण्टापछि बीपी सभास्थल आइपुगे । भीडबाट जुरुक्क उठेर देवेन्द्रले भने, “बीपी बाबु, क्या हो हजुरलाई समयको ख्याल छैन ?”

यति बोलिनसक्दै कार्यकर्ताले देवेन्द्रलाई स्यालले कुखुरो झम्टिएझैं झम्टिए । ठीक त्यहीबेला बीपीले भने, “खबरदार ! केही नगर । मेरो गल्ती भयो । मैले तीन घण्टा ढिलो गरें ।”

देवेन्द्र सम्झन्छन्, “उहाँ (बीपी)ले मसँग माफी माग्नुभयो म भन्दिनँ । उहाँले रियलाइज गर्नुभयो । बीपीमा भएको त्यो महान व्यक्तित्व म अहिलेका नेताहरूमा देख्दिनँ ।”

प्रलोभन

०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किसुनजी) भए । देवेन्द्रको घर कमलपोखरीमा थियो । किसुनजी प्रधानमन्त्री निवास बालुवाटार बस्थे । देवेन्द्र त्यहीँ पुगेर भने, “किसुनजी ! आज म तपाईंसामु एउटा कुरा भन्न आएको ।”

“कस्तो कुरा भन्नुस् न ।”

“पत्रकारको दोहोरो–तेहेरो आइडेन्टिटी कार्ड हुन्छ । देवेन्द्र गौतमका दुइटा आइडी कार्ड छन् भने आजैबाट टुंग्याइदिनुस् ।”

(पत्रकार संघ र महासंघ दुइटा संस्था थिए । त्यसमध्ये कुन आधिकारिक हो, त्यसको टुंगो लगाउनु पर्‍यो भन्ने देवेन्द्रको माग थियो । उनले संघको नेतृत्व गरिरहेका थिए ।)

किसुनजीले भने, “तपाईं आजबाट मेरो प्रेस सल्लाहकार ।”

‘हेराल्ड ट्रिब्युन’मा समाचार छापियो । भलै किसुनजी कांग्रेस, देवेन्द्र वामपन्थी विचारधारा राख्ने व्यक्ति । फरक–फरक विचार । देवेन्द्रले प्रेस सल्लाहकारमा ¥याल काढेनन् । जाँदै गएनन् ।

देवेन्द्र आफूलाई आएका प्रलोभन सुनाउँछन् । नकारेको पनि सम्झिन्छन् ।

एकदिन उनलाई एक सरकारी अधिकारीले भने, “देवेन्द्रजी, एउटा सरकारी नियुक्ति छ । तयार हुनुहुन्छ ?”

उनले त्यसको झाँको झारे, “तपाईंको नियुक्तिले आर्जन त होला तर मैले नियुक्तिसँगै रिपोर्ट गर्नुपर्छ– को पत्रकार कस्तो भनेर । यो प्रस्ताव गर्ने दुस्साहस कसरी गर्नुभयो हँ ?”

यस्तै थुप्रै घटना छन् देवेन्द्रसँग । कति बिर्सिसके । कति धमिलो विम्बमात्रै छ त कति ताजै पनि छन् । नबिर्र्सिएको अर्को एउटा प्रस्ताव थियो, “९ वर्षअघि एकजनाले मलाई भन्यो–हजुरलाई १५ दिन लगेर पाँचतारे होटलमा राख्ने । दिनको दुई घण्टा एउटा विज्ञ आउँछ र तपाईंसँग त्यसले छलफल गर्छ । १५ दिनपछि तपाईंलाई बिदाइ गरिनेछ । तयार हुनुहुन्छ ?”

देवेन्द्रले भने, “हजुर धेरै राम्रो प्रस्ताव । म खबर गर्छु ।”

तर, उनले कहिल्यै खबरै गरेनन् । “किनकि मलाई मेरो अहिलेसम्मको इज्जत बिक्री गर्नु थिएन । न म बिक्री हुने पत्रकार हुँ न लिलाममा राखिएको सामग्री,” चाइनिज दुबोमा पलेंटी मार्दै उनले सुनाए, “म कसैको भइनँ त्यसैले आज सबैको भएँ । कुनै दलविशेष अथवा व्यक्तिनिकट भएर कसैको छत्रछायामा बसेको भए आज म कसैको नभएर त्यही दल वा व्यक्तिको पत्रकारका रूपमा चिनिने रहेछु । स्वतन्त्र भएकै कारण आज म स्वाभिमानका साथ बोल्न र लेख्न सकिरहेको छु ।”

\"\"

अराजक पत्रकार

“म अराजक पत्रकार हुँ,” देवेन्द्र आफैंलाई भन्छन् । 

किन ?

उनले निकालेका १४ वटा पत्रिका बन्द भए । एउटा बन्द भएपछि अर्को निकाले । त्यसमा पनि पञ्चायतको नजर लाग्थ्यो । बन्द भइहाल्थ्यो ।

‘नेपाल पोस्ट’को समाचार त्यो बेला ‘हटकेक’ । न्युरोडमा ‘नेपाल पोस्ट’ किन्न पाठकको लाइन लाग्थ्यो । छेउमै बसेकी श्रीमती देवेन्द्रको दैनिकी सुनाउँछिन्, “उहाँ राति १२ बजे घर आउनुहुन्थ्यो । बिहान ३ बजे उठेर जानुहुन्थ्यो । बिहानको खाना खान दिउँसो ३ बजे आउनुहुन्थ्यो र फेरि गइहाल्नुहुन्थ्यो । कति पटक त उहाँ आफैं हकर बनेर पत्रिका बाँड्न साइकलमा हिँड्नुभएको छ ।”

“हो,” देवेन्द्र सही थाप्छन् ।

‘नेपाल पोस्ट’ बन्द भएपछि अरू प्रकाशकहरू देवेन्द्रलाई ‘मेरो पत्रिका निकाल्दिनुस्’ भन्थे । काम गरिरहेको पत्रिका बन्द भएपछि उनलाई पनि पत्रिका चाहिन्थ्यो । सम्पादक भएर निकाल्न थाल्थे । समाचार उस्तै हुन्थे— खरा । पञ्चायतले बन्द गरिदिहाल्थ्यो ।

‘नेपाल पोस्ट’, ‘नयाँ नेपाल पोस्ट’, ‘नयाँ करेन्ट’, ‘रसायन’, ‘कुसुम’, ‘नयाँ उपहार’, ‘छहरा’, ‘दृष्टिकोण’, ‘मायालु’ लगायत १३ वटा पत्रिका पञ्चायतले बन्द गरिदियो । बन्द भएका पत्रिका उनका घरका भित्तामा टाँसिएका छन् ।

पत्रकारितामार्फत उनले उनकै शब्दमा ‘क्रान्ति गरे’ । उनी लेख्थे, “भारद्वारले देश चलाउँदा भया हे अगस्ते मुनी ! उपत्यकामा एउटा दिव्य पुरुष छ, जो आँखाले पनि देख्दैन र कानले सुन्दैन ।”

यसरी राजालाई व्यंग्य गरिएका विषयवस्तु छापेपछि पत्रिका बन्द नहुने कुरै थिएन । यसले पुगेको थिएन । एकपटक रमेश विकलको कथा छापे । छापेकै कारण उनी जेल गए । नख्खु, भद्रगोल, केन्द्रीय कारागार बसे— ९ महिना १५ दिन ।

हनुमानढोकामा बसिरहँदा बमकाण्डमा समातिएका बन्दीहरूलाई ल्याइयो । उनलाई अर्कै कोठा सारियो । कोही ‘आईजी मेरो काका’ भनेर तर्साउँथे । कोही के भन्थे । कतिखेर कसले जेलभित्रै मार्ने हुन् कि भन्ने चिन्ता उनमा थियो । त्यो चिन्ता बन्दीसँगै जेलरलाई पनि हुन्थ्यो । उनी फेरि सारिन्थे अर्को कोठा । मानसिक रूपमा विक्षप्ति कैदीले दिसैदिसाले लिपेको कोठामा पनि पुगे देवेन्द्र ।

वीरेन्द्रले सोधे— देवेन्द्रले के लेखेको थियो ?

राजा वीरेन्द्रका दुईमध्ये एक भाइले उनलाई जेल पठाएका थिए । वीरेन्द्रले एकदिन सोधेछन्, “देवेन्द्रले लेखेको खास कुरो के हो र ऊ जेलमा छ ?”

वनसचिवले भने, “म बुझ्छु सरकार !”

धीरेन्द्र शाह अन्तर्राष्ट्रिय युवा महोत्सवका अध्यक्ष थिए । तर, उनको व्यवहार अधिराजकुमारभन्दा तल ओर्लिएको थिएन । देवेन्द्रले लेखे, “धीरेन्द्र युवा महोत्सवको अध्यक्ष हुन् कि अधिराजकुमार मात्रै ? अध्यक्ष हुन् भने आम नेपाली युवासँग किन भेट्दैनन् र उनीहरूका कुरा सुन्दैनन् ? किन युवालाई रिसेप्सन दिँदैनन् ?”

समाचार पढेर धीरेन्द्रले महोत्सवको उपसमिति सदस्यमा देवेन्द्रलाई नियुक्त गरे । “त्यहीबेला हामीलाई उछिन्ने भयो भन्ने लाग्नेहरूले मलाई विभिन्न बहाना बनाएर जेल हाले,” उनी भन्छन् ।

“धीरेन्द्रका एडीसी डीबी लामाले नक्कली हिमाल आरोही बनाएर एकजना गुरुङ थरका व्यक्तिलाई २ लाख डलर गन्न लगाए । अर्को दिन उनको ज्यान लिइयो । पोल खुल्छ भनेर प्रहरी निरीक्षक पनि मारिए,” उनी सुनाउँछन् ।

कहिले कुन समाचार, कहिले कुन समाचार ! विभिन्न बहानामा सरकारले उनलाई चार्ज लगाउन छाडेन । “एकपटक गृह मन्त्रालयको सूचीमा मेरो नाम पनि चढाइयो । तर, ‘देवेन्द्र गौतम’ लेखिएको खण्डमा अरूले चिन्छन् भनेर रवीन्द्र गौतम लेखियो र मलाई जेल हालियो,” देवेन्द्र भन्छन्, “सरकारले चाह्यो भने मान्छेलाई कसरी फसाउँछ भन्ने कुराको दृष्टान्त हुँ म ।”

जेलमा उनलाई करेन्ट लगाइयो । नुहाउन निकै गाह्रो हुन्थ्यो । श्रीमती घरबाट तातो पानी तताएर जर्किनमा लगिदिन्थिन् । “मेरो हात पछाडिसम्म पुग्दैनथ्यो । एकदिन म नुहाइरहेको थिएँ । गजेन्द्रनारायण सिंहले ढाड मिचिदिँदै ‘म नुवाइदिन्छु’ भन्नुभयो । राजनीतिक बन्दी गजेन्द्रनारायणले मलाई नुहाहिदिएको देखेर फेरि करेन्ट लगाइदिने हुन् कि भन्ने डर लाग्थ्यो ।”

अंग्रेजी भाषामा प्रकाशन हुने पत्रिका ‘नेसनल स्टार’ले ‘आँपका गाडीका मुना–मुनामा बम पड्किन्छ’ भन्ने रामराजाप्रसाद सिंहको समाचार छाप्यो । त्यसलाई नेपालीमा उल्था गरेर देवेन्द्रले छापिदिए आफ्नो पत्रिकामा । केही समयमै काठमाडौंमा रामराजाप्रसाद सिंहले बम पड्काए । बम बिस्फोटनमा संलग्न रहेको आरोपमा देवेन्द्र पनि पक्राउ परे । तर, आरोप पुष्टि हुन सकेन । उनी जेलमुक्त भए ।

\"\"

केका लागि पत्रकारिता ?

प्रजातन्त्रको पुनबर्हालीका लागि देवेन्द्रले मिसन पत्रकारिता गरे । उनको ‘मिसन’ अहिले पनि जारी छ । उनी ‘नयाँ करेन्ट’ नामक पत्रिका निकालिरहेका छन् ।

“घर बनाउनका लागि मैले पत्रकारिता गरेको थिइनँ । पैसा जोड्न र जग्गा किन्न पनि पत्रकारिता गरिँदैनथ्यो त्यो बेला,” अहिलेको पत्रकारिताप्रति व्यंग्य गर्दै उनी भन्छन्, “अहिले त चार वर्ष भइसक्यो, एउटा घर पनि जोड्न सकेको छैन भन्ने अवस्था छ । अहिले लुटेर जति खाए पनि हुन्छ भन्ने खालका पत्रिका र सम्पादक छन् । यस्तो पत्रकारिता देश र जनताका लागि हुँदैन ।”

छोरा किरण अहिले देवेन्द्रकै पथ पछ्याइरेका छन् । उनी पत्रकारितामै छन् । देवेन्द्रले सुरु गरेको पत्रिकाको प्रवन्ध सम्पादक हुन् किरण । 

ज्ञानेन्द्रलाई सुझाव

ज्ञानेन्द्र शाह राजा थिए । देवेन्द्रलाई खबर आयो, “तपाईंलाई पर्सि निर्मल निवासमा सरकारबाट बोलाहट भएको छ ।”

बोलाहट भएको समयमै देवेन्द्र निर्मल निवास पुगे । ज्ञानेन्द्र बगैंचामा घाम तापेर अनौपचारिक पोशाकमा बसिरहेका थिए ।

ज्ञानेन्द्रले भने, “देवेन्द्र, भन आज के इन्टरभ्यु लिन्छौ ?”

देवेन्द्रले उत्तर दिए, “सरकार ! म अन्तर्वार्ता लिन आएको होइन । देखेको कुरा भन्न आ’को ।”

ज्ञानेन्द्रले भने, “भन के भन्छौ ।”

देवेन्द्र बोल्न थाले, “बडामहारानीले के होस् पुर्‍याउनुपर्‍यो भने नेपाली जनता नेपालकी बडामहारानीले कपाल काटेको मन पराउँदैनन् । किनभने, हाम्रो संस्कारमा यस्तो चलन छैन । सरकार ! उमेर पुगेको छोराको बडा होस् पुर्‍याउनु पर्छ ।”

उनले ज्ञानेन्द्रलाई यसो भनेको भोलिपल्टै बडामहारानीले नक्कली लामो कपाल लगाएको देखियो । देवेन्द्र भन्छन्, “म गफाडी नै हुँला तर भएको कुरा नै गर्छु र गरें ।”

देवेन्द्रका जेठा छोरा प्रदीपको विवाह थियो । दरबारमा खबर पठाए, “राजा ज्ञानेन्द्र आउने भए निम्ता पठाउँछु नभएर पठाउँदिनँ ।” खबर लैजानेको दरबारमा सबैथोक चल्थ्यो । उनले खबर ल्याए, “त्यो दिन सम्झाउनू भनिबक्सेको छ ।”

राजा आए । राजपरिवारका सदस्य होटल सोल्टीको बाहेक अन्यत्र खाना खाँदैनन् भनिन्थ्यो । देवेन्द्रले आफ्नै घरमा बनाएर लगे । ज्ञानेन्द्रले खाएर भने, “हामीलाई मात्रै खुवाउने कि आफू पनि खाने ?”

१ नम्बर प्रेस पास

देवेन्द्रले पञ्चायतदेखि प्रजातन्त्र हुँदै लोकतन्त्र, गणतन्त्रसम्मका अनुभव सँगाले । सूचना विभागको १ नम्बरको प्रेस पास उनकै नाममा छ ।

“पहिलो पटक कति सालमा लिनुभएको थियो ?”

“म इतिहास, तिथिमितिमा निकै कमजोर भइसकें । त्यसैले म्युजियम बनाउँदै छु । त्यहाँ सबै कुरा रहनेछन् । अबको दुई महिनामा म्युजियम तयार हुन्छ,” उनले खरर भने ।

देवेन्द्र भैरव अर्यालको मृत्युलाई स्वाभाविक मृत्यु भन्न रुचाउँदा रहेनछन् । उनले भने, “भैरवको मृत्यु होइन, आत्महत्या हो । उनी गौशाला बस्थे, म बत्तीसपुतली । एकदिन बिहानै आएर भने, ‘गौतम ! तिमीहरू भनेका गुरिल्ला हौ । आँट कहिल्यै नमार्नू ।’ त्यसो भनेर गएको एक हप्तापछि उनको मृत्युको खबर आयो ।”

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro