site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमा ‘न्यायिक मन’ नदेखिएको भन्दै पटकपटक प्रश्न उठाएको छ । अख्तियारबाट अदालतमा दायर विभिन्न मुद्दामा व्यक्तिपिच्छे फरक निर्णय लिइएको बग्रेल्ती उदाहरणका आधारमा आयोगका पदाधिकारीको नियतमा शङ्का गरिएको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार तथा अख्तियार दुरुपयोग नियन्त्रणका लागि गठित संवैधानिक निकाय हो । अख्तियारले अनुसन्धान गरेपछि अभियुक्तविरुद्ध विशेष अदालतमा मुुद्दा दायर हुन्छ । त्यस्ता मुद्दामा विशेष अदालतले गरेको फैसलामा अख्तियारका पदाधिकारीले पनि गुनासो गर्ने गरेका छन् ।

विशेष अदालतको निर्णयमा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिन्छ । कतिपय मुद्दामा अख्तियारले पुनरावेदन पनि गरेको छ । अख्तियारको मुद्दा दायर गर्ने निर्णयमा भने पुनरावेदनको वैधानिक उपाय देखिँदैन । यसैले अख्तियारको निर्णयमा न्यायिक मनको अपेक्षा बढी नै गरिएको हुनुपर्छ ।

अख्तियारले मुद्दा चलाएपछि अभियुक्त स्वतः निलम्वित हुन्छ र उसको सामाजिक तथा राजनीतिक जीवनमा गम्भीर क्षति पुग्छ । धेरैले मुद्दामा सफाइ पाए पनि त्यतिन्जेल धेरै ढिलो भइसक्छ । यसैले अख्तियारका पखाधिकारी बढी नै जिम्मेवार र उत्तरदायी हुनुपर्थ्यो । 

राजनीतिक भागबन्डाका आधारमा नियुक्त गरिएका अख्तियारका पदाधिकारीले मुद्दा चलाउने निर्णयमै ‘गुनको सोझो’ गरेको चर्चा सञ्चार माध्यम र सामाजिक सञ्जालमा पनि बेलाबखत हुनेगरेकै हो । अख्तियारका पदाधिकारी नै व्यक्ति विशेषलाई ‘फसाउने’ र ‘बचाउने’  खेलमा लाग्नेगरेको सन्देह गरिएको पाइन्छ ।  

विशेष अदालतले पनि ‘समान कसुर देखिएकामध्ये कसैमाथि मुद्दा दायर गर्ने र कसैलाई उन्मुक्ति दिने गरेको ’ भन्दै अख्तियार दुरुपयोग  अनुसन्धान आयोगको ध्यानाकर्षण गरेको छ । उदाहरणसहित अदालतले गरेको यो ध्यानाकर्षण यथार्थमा गम्भीर आरोप नै हो ।    

अख्तियारका पदाधिकारीले भने अदालतले गराएको ‘ध्यानाकर्षण’लाई गम्भीरतापूर्वक लिएको देखिको छैन । पदाधिकारी फेरिए पनि नियुक्तिमा भागबन्डा गर्ने अभ्यास नबदलिएकाले सम्भवतः कामगराइमा पनि परिवर्तन नभएको हो । कृपालुप्रति कृतज्ञ हुने मानवीय गुण अख्तियारका पदाधिकारीमा पनि हुनु के आश्चर्य भयो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो न्यायिक प्रकृतिको संस्थामा न्यायिक मन भएका पदाधिकारी नछानिएका यस्तो विसङ्गत अवस्था उत्पन्न भएको हो । गलत व्यक्तिको नियुक्तिले संस्थाको साख समाप्त भएको उदाहरण त अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनी नै सकेको छ ।

यसैले भ्रष्टाचारविरुद्ध राज्यको प्रतिबद्धता अभ्यासमा प्रकट गर्न सबैभन्दा पहिले अख्तियारलगायतका संवैधानिक निकायमा गरिने नियुक्ति स्वच्छ र निर्विवाद बनाउन राजनीतिक नेतृत्वले कम्मर कस्नुपर्छ । अहिलेकै अभ्यास अनुसरण गरिरहने हो भने ठूला भ्रष्टाचर पनि निरन्तर रहनेछ ।

संवैधानिक नियुक्तिका लागि जिम्मेवार संवैधानिक परिषद्को अभ्यासमा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले बढाएको अपारदर्शी तथा तजबिजी प्रवृत्ति दोहोरिनै नसक्ने गरी अन्त्य नगरी सुधार सम्भव छैन । यसैले संवैधानिक परिषद्को ऐन संशोधन गर्दा प्रधानमन्त्रीलाई तजबिजी अधिकार दिन होइन परिषद्का कामकाज पारदर्शी र उत्तरदायी बनाउन जोड दिइयोस् !    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro