
काठमाडौं । ललितपुर मेयर महिला च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब शतप्रतिशत नतिजासहित फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार आयोजक ललितपुर मेयर्स–११ विरुद्ध ३७ रनको जित निकालेसँगै एपीएफले लिग चरणका खेलमा शतप्रतिशत जित निकालेको हो । एपीएफसँगको हारसँगै ललितपुर भने प्रतियोगितामा जितविहीन बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सम्पन्न खेलको एपीएफले प्रस्तुत गरेको १११ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७३ रनमात्र जोड्न सक्यो ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ११० रनको योगफल खडा गरेको थियो ।
एपीएफका राजमती ऐरीले ४१ रन बनाइन् । कप्तान सीता रानामगरले १९ र विनु बुढाले १२ रन जोडिन् ।
ललितपुरकी सिमाना केसी र सृष्टि जैसीले दुई–दुई विकेट लिए । सोनी पाख्रिन र मनिषा उपाध्यायले समान एक विकेट लिए ।
१११ रनको लक्ष्य पछ्याएको ललितपुरकी सोनी पाख्रिनले १५ रन जोडिन् । लक्ष्मी चौधरी र सिमाना केसीले समान १० रन थप्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफकी राजमती ऐरी र विनु बुढाले समान दुई विकेट लिए । इन्दु वर्मा, सीता रानामगर र सुस्मा श्रेष्ठले एक–एक विकेट हात पारे ।
जितसँगै चार खेलबाट आठ अंक जोडेको एपीएफ समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । समान खेल खेल्दा पनि अंकविहीन ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ क्लब, मधेस प्रदेश, कोसी प्रदेश र आयोजक ललितपुर मेयर्स–११ गरी पाँच टिमको सहभागिता छ ।