
काठमाडौं । मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् । न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौं पुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् ।
चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र चन्द्रागिरि हुँदै ११औँ दिनमा काठमाडौं पुगेका हुन् ।
उनीहरूको समूहमा ७२ जना पीडित छन् । आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ ।
यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो ।
सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।