
जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी मानिस बिरामी परेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीबाट गएराति ठेरा कचुरी पुगेका जन्तीले स्वयंवर सकिएपछि खाजामा बुनियाँ, रसबरीलगायत मिठाई खाएका थिए । त्यसको केही समयपछि उनीहरूलाई पेट दुख्ने, बान्ता हुने, कमजोर हुन थालेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख उमेश यादवले बताए ।
६० जनाभन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए । केही भने उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।
“खाजामै पोइजन भएर बिरामी परेको हाम्रो अनुमान छ । घटनास्थल पुगेर हामीले खाजाको नमुना ल्याएका छौँ । परीक्षणका लागि प्रयोगशालामा पठाएको र परीक्षण गरेर के कारणले भएको हो भन्ने पुष्टि हुन्छ,” यादवले भने । रासस