
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज कार्यभार सम्हालेपछि आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा लग्ने अठोट व्यक्त गरे ।
प्रहरीसामु समस्याका चाङहरू रहेको, संगठनको दुर्वल र सवल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका निदानका उपायहरू अवलम्बन गर्नुको टड्कारो आवश्यकता रहेको पनि उनले बताए । प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास र प्रतिबद्धता खाँचो रहेको औँल्याए ।
व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारी उनले निर्देशन पनि दिए ।