site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

न्याय खोज्न नागरिकहरू पैदलै काठमाडौं आउनुपर्ने बाध्यताले राज्यका विभिन्न अवयवहरूको अस्तित्व नै सङ्कटमा परेको देखिन्छ । पछिल्लोपटक महोत्तरीको बर्दिवासबाट मिटरब्याजी पीडितहरू काठमाडौं पैदल यात्रामा निस्केको समाचारले यही सङ्कटको सङ्केत गरेको छ ।

मिटरब्याजीहरूको शोषणमा परेका नागरिकहरूको समस्या सार्वजनिक भएको थुप्रै समय भइसक्यो । विभिन्न मञ्चहरूमा सरकारका अधिकारीहरूले पीडितहरूप्रति सहानुभूति पनि व्यक्त गर्ने गरेका छन् । तर, पीडितहरूको भने उठीवास लागी नै रहेको छ । 

नेपालगन्जकी एक जना एकल महिला हराएको घटनामा पनि नागरिकहरू यसरी नै आन्दोलित भएका थिए । हराएकी वा बेपत्ता पारिएकी महिलालाई न्याय दिलाउन आन्दोलनको नेतृत्व गर्ने अर्की महिलाले सहेको अत्याचारले समेत देशका शासकहरूको पोल खोल्छ ।

अनेकौं उदाहरण छन् । माओवादी हिंसात्मक द्वन्द्वकालका पीडितहरूको न्यायको आर्तनाद त दुई दशक पुग्ने बेला भइसक्यो । सामान्य प्रक्रियाबाटै हुनुपर्ने न्याय सम्पादनका विषयमा पनि नागरिक किन आन्दोलन गर्न  बाध्य  पारिन्छन्रु

यस्ता घटनामा पीडक प्रायः सत्तामा पहुँच भएकाहरू नै हुन्छन् । यसैले तिनले दण्डनीय अपराध गर्दा पनि सजायबाट उम्किन्छन् । सत्ता र शक्तिमा पहुँच एवं प्रभाव भएकै कारण उनीहरू पटकपटक अपराध गर्न र पीडितलाई थप सताउन हिचकिचाउँदैनन् ।

यस्तो मध्ययुगीन अवस्था नेपालमा एक्काइसौं शताब्दीमा पनि व्याप्त नै छ भन्नुपर्दा चेतनशील नागरिक सबैलाई आत्मग्लानि हुन्छ । संविधान र कानुन आधुनिक बनाएरमात्र समाज प्रगतिशील र सभ्य भएन । त्यसका लागि शासकको मानसिकतै बदलिनुपर्ने रहेछ ।

समाजलाई उन्नत, सभ्य र समृद्ध बनाउन ठूलाठूला आन्दोलन तथा विद्रोह गरेका राजनीतिक नेताहरू शासक हुँदा पनि जहानियाँ शासनमा बनेको मानसिकतामा परिवर्तन नदेखिनु दुःखद आश्चर्य हो । शासनको चरित्र र प्रवृत्तिमा परिवर्तन नहुने हो भने राज्यप्रति नागरिकको विश्वास समाप्त हुनसक्छ ।

मिटरब्याज लिनु सामाजिक अन्याय त हो नै कानुनका दृष्टिमा दण्डनीय अपराध पनि हो । सरकारले चाहने हो भने घरायसी कागज गरेर वा नगरी चोके ब्याज लिनेहरूको थैली भुस हुने भूतप्रभावी कानुन बनाउन सक्छ । त्यसबाट हजारौं पीडितहरूले एकैपटक न्याय पाउनेछन् ।  

सरकारले राज्यको औचित्य सिद्ध गर्नका लागि पनि मिटरब्याजीलाई राजधानी आउनुपर्ने बाध्यताबाट मुक्त गराओस् । प्रधानमन्त्रीको निर्देशनबाटमात्र उनीहरूले न्याय पाउँदैनन् । उनीहरूसँग उच्चस्तरबाटै वार्ता गरेर प्रस्तावित कानुनका सम्बन्धमा समेत छलफल गरी राज्य नागरिकप्रति निस्पृह रहन नसक्ने प्रमाणित गर्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro