site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दूनेमा अन्वेषण
Ghorahi CementGhorahi Cement

घाम चरक्क चर्केको हुँदा शरीरमा फुर्ती आयो । घरबाट निस्केर हामी सरस्वती मन्दिरतिर लाग्यौँ । मन्दिर पुजारीले खोलिदिए । यसका पुजारी लक्ष्मीशरणकै परिवार हुन् । यो मन्दिर उहाँकै कृति हो । मन्दिर साधारण किसिमको एकतले र यसको द्वार उत्तर–पूर्व फर्केको छ ।

पहिले बाहिरको दृश्य अवलोकन गर्यौँ र त्यसपछि मन्दिरभित्र पस्यौँ । दश फुट चार इञ्च लम्बाइ र त्यति नै चौडाइ भएको मन्दिरमा अनेक मूर्ति खचाखच राखिएका पाइन्छन् । प्रायः सबै मूर्ति आधुनिक छन् ।

यसमा सर्वप्रथम पाँच इञ्च उँचाइ र अढाइ इञ्च चौडाइ भएको ललितासनमा बसेको चतुर्भुजा सरस्वतीको मूर्ति राखिएको पाइन्छ । त्यसपछि योभन्दा अलिक पुरानो तेह्र इञ्च उँचाइ र साढे आठ इञ्च चौडाइ भएको चतुर्भुज गणेशको शिलामूर्ति देखिन्छ ।

Agni Group

यसै क्रममा एउटा आर्को धातुको आधुनिक सरस्वती मूर्ति आउँछ उसको उँचाइ साढे पाँच इञ्च र चौडाइ अढाइ इञ्च छ ।

यो सरस्वती मन्दिर हो । तर, यसमा केवल सरस्वतीका मूर्ति मात्र छैनन् । अन्य देवदेवीका पनि मूर्ति राखिएका छन् । यसमा गणेशको मूर्ति हुनु त्यति अमिल्दो देखिँदैन । कारण, गणेश त विघ्नान्तकको रूपमा पनि रहन सक्तछन् । तर, यहाँ गणेश मात्र छैनन् ।

Global Ime bank

हेर्दै जाँदा साढे पाँच इञ्च उँचाइ र साढे तीन इञ्च चौडाइ भएको हरगौरीको प्रस्तर मूर्ति राखिएको देखिनेछ र यो पनि अरूजस्तैं आधुनिक छ । यसैको आडमा पाँच इञ्च उँचाइ भएको उसै कालको चतुर्भुज विष्णुको प्रस्तर मूर्ति पनि छ ।

यी त भए धातु र प्रस्तरका मूर्ति । धातु र प्रस्तरका मूर्तिबाहेक यहाँ माटाका मूर्ति पनि छन् र ती सबै आधुनिक र काँचा माटाका ।

सबभन्दा पहिले शेषासन चतुर्भुज नारायणकै कुरा गरौँ । यसको उँचाई चौबीस इञ्च र चौडाइ बाह्र इञ्च छ । यसको लगत्तैपछि बत्तीस इञ्च अग्लो र सत्र इञ्च चौडाइ भएको मयूरवाहिनी चतुर्भुजा सरस्वतीको मूर्ति आउँछ । यी देवदेवीको छेउमा देब्रे घुँडामाथि दाहिने पाउ राखेर पलेटी कसेर बसेको, दाहिने हातमा पुष्ट र देब्रे हातमा रुद्रमुष्ठी पारेको बीस इञ्च उँचाइ र नौ इञ्च चौडाइ भएको एउटा मानवमूर्ति छ । यो मूर्ति पृथ्वीनारायण शाहको हो । यसै क्रममा ६ जना भक्त उभिएका, त्यसपछि हनुमान र सिंहको पालो आउँछ ।

सिंहको निरीक्षणपछि हामीलाई लाग्यो, मूर्तिको काम समाप्त भयो । तर, हाम्रो धारणा गलत थियो । एउटा अँध्यारो कुनामा हाम्रो आँखा पुग्यो । यहाँ धूलाले एकदम मैलिएको एउटा सानो धातु मूर्ति बाँकी नै थियो । यसमा जमेको धूलो साफ गर्यौँ । यसमा लगाएको सुनको मोलम्मा टल्किन थाल्यो । एउटा हात अभय र एउटा हात वरद मुद्रामा भएको, ललितासनमा बसेको यो मूर्ति आर्यताराको थियो ।

यसका वस्त्राभूषण र केशविन्यास आफ्नै किसिमका मनमोहक थिए । यसको उँचाइ तीन इञ्च र चौडाइ दुई इञ्च छ । यसको शैलीका अनुसार निर्माणकाल पनि अरू मूतिभन्दा पुरानो, सत्रौँ शताब्दीको प्रारम्भतिरको होला भन्ने अनुमान गर्न सकिन्छ । यसमा प्रयोग गरिएको धातु रजतप्रधान देखिन्छ । यो ढलौट मूर्ति सानो भए पनि भारी छ । यस मन्दिरको सबैभन्दा अनुपम र महत्त्वपूर्ण मूर्ति यही हो । यसको प्राप्तिपछि हामीलाई ज्यादै आनन्द लाग्यो ।

यो मन्दिर अत्याधुनिक हो । यसमा यस्तो पुरानो मूर्ति कताबाट आयो त्यो पत्ता लाउनु आवश्यक थियो । सोधपुछ गर्दा अशोककुमार हमालले बारी खन्दा भेटेको हो दुई–तीन वर्षपहिले भन्ने सूचना मिल्यो । आज त्यस बारीमा कुनै भग्नावशेष छैन । तैपनि, भनेपछि विश्वास नगर्ने कारणै थिएन ।

मूर्तिको निरीक्षणपछि भित्ती चित्रतिर लाग्यौँ । यस मन्दिरमा पानरंगद्वारा भित्ती चित्र पनि बनाइएका छन् । पूर्वपट्टिको भित्तामा राम, सीता, एकजना दानपति, त्यसपछि मोगलशैलीको एउटा दरबार, दुईजना लामा, उनको परिवार र शाही पोशाकमा श्री ५ महेन्द्र वीरविक्रम शाहदेवका चित्र अंकित छन् ।

पूर्वी भागको निरीक्षणपछि हामी दक्षिणतिर लाग्यौँ । यसमा हनुमान, गणेश र त्यसपछि कुखुरामा चढेकी एउटी देवीको चित्र देखियो । जसका हातमा गदा, चक्र, तरबार र त्रिशूल लिएको देखाइएको थियो । यसभन्दा पर दुई गाईका बीचमा कृष्ण र बगलामुखी देवीका चित्र थिए ।

क्रमैसित हेर्दै जाँदा पश्चिमपट्टिको भित्तामा एकजना भक्त लौरो टेकेर प्रस्थान मुद्रामा छन् भने त्यसभन्दा पर एउटा प्राकृतिक उपवनको बीचमा शिवलिंग र त्यसपछि हिमालमा शिवको रूप अंकित छ ।

यसै क्रममा उत्तरतिरको भित्तामा दुवै हातका हत्केला उत्ताना पारेर एउटा सिँहको छेउमा पार्वती छन् भने आर्को छेउमा धनुर्धारी परशुराम र हिमशिखरमा उभिएकी काली पनि । यसभन्दा पर प्रायः सँगसँगै भनेजस्तो दुई व्यक्तिका चित्र अझै बाँकी छन् । यिनलाई देख्ता हाँसो पनि उठ्यो । साथै, शिव–पार्वती विवाहका सम्बन्धमा भनिने एउटा लोककथा पनि सामने आयो ।

“पर्वत राजपुत्री पार्वतीसित शिवजीको विवाह हुने निश्चय भयो । शिवजी आफ्ना गण भूत, प्रेत, पिशाच आदि जन्तीको हूलको बीचमा बसाहा चढेर हिमालमा आए । शिवजीको यस्तो रूप देखेर सखीहरूले पार्वतीलाई गिज्याएर बसिसक्नु पारेनन् । पार्वती लाजले भुतुक्क भइन् । तर, पार्वती शिवजीको शक्तिदेखि परिचित थिइन् । उनले मनमनै शिवजीको ध्यान गरेर भनिन्, ‘प्रभु ! मलाई साह्रै लाज मर्नु भयो । विवाहको राजसी ठाँट देखाइदिनु हवस् ।’

अन्तरयामी शिवलाई कुरा बुझ्न केही बेर लागेन । उनले एकपटक आवाहन गरे— तेत्तीसकोटी देवता सजधजका साथ जन्ती आए । आर्कोचोटि आवाहन गरे— खाट, सिंहासन आए । क्रमैसित शिवजीको आवाहनमा स्वर्गका अप्सरा, यक्ष, गन्धर्व, किन्नर सबै आए । अन्तिम आवाहनमा अंग्रेजी बाजा पनि आए ।”

यस मन्दिरमा पनि देव, देवी, ऋषिमुनि सबैका चित्र आए अन्त्यमा गान्धी र नेहरु पनि ।

मन्दिरबाट निस्केर केही पर जाँदा हाम्रो दृष्टि एउटा ठाडो ढुंगामा पर्यो । यसको रूप शिलापत्र जस्तो थियो । हामी त्यतै बढ्यौँ । यो शिलापत्र थिएन । साधा ढुंगो थियो । गाउँका मानिस भन्न थाले, “यो भूतको ढुंगो हो ! यसलाई छुनु हुँदैन ।”

भूतको ढुंगो भन्नमा विशेष तात्पर्य थियो । केही वर्षअघि यसै ढुंगाका छेउमा घरकै जग खन्दा एउटा घ्याम्पो (माटाको) भेटिएको थियो । यसमा मानिसका हाडखोड थिए । त्यो घ्याम्पो गाडेका ठाउँमा वरिपरि ढुंगाको बाकसजस्तो गारो बनाएको थियो ।

यस गाराको लम्बाइ ८ हात थियो । कुराको प्रसंग रोचक थियो र हामीले कोट्याउँदै गयौँ । घ्याम्पाका साथ अरू पात्र पनि थिए । तर, ती अब गाउँका केटाकेटीले फोरेर फ्याँकिसके ।

कुराको प्रसंग मेगालिथसित मिल्दाजुल्दा थिए । तर, त्यहाँ पहिले भूतको ढुंगो मात्र बाँकी छ । हामीलाई साह्रै खेद लाग्यो ।

सम्भव छ यस्ता अवशेष खोजी गरे अन्यत्र पनि पाउन सकिएलान् । यदि, मेगालिथिक अवशेष यहाँ पाइए भने नेपालको पुरातात्त्विकजगत्मा पहिलो वस्तु हुनेछ । दुनेको अन्वेषण यहीँ समाप्त भयो ।

(शर्माको ‘कौतुकमय डोल्पो’बाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC