site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कथा पारखीका लागि नयाँ परिकार
Tiktok banner adTiktok banner ad

मानव जातिको जीवनमा मनोविज्ञानको अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । हुन त अन्य प्राणीको पनि मनोविज्ञान नहुने होइन, तर उनीहरूको मनोविज्ञान मुख्यतः आत्मरक्षा, भोजन र प्रजननमा सीमित रहन्छ ।

मानिस सबैभन्दा चेतनशील मात्र होइन, संवेदनशील प्राणी पनि हो । त्यसैले उसमा मनोविज्ञानले जीवनभर नै बहुआयामिक प्रभाव पार्दछ । फलस्वरूप एउटै मानिस बालमनोविज्ञान, किशोरमनोविज्ञान, युवामनोविज्ञान, वयस्कमनोविज्ञान, प्रौढ एवं वृद्ध मनोविज्ञानको चरणबाट गुज्रन्छ ।

यसरी उमेरजन्य मनोविज्ञान मात्र होइन, प्रवृत्तिजन्य मनोविज्ञानजस्तै अपराध मनोविज्ञान, यौनमनोविज्ञान, कुण्ठाजन्य मनोविज्ञान, लैंगिक मनोविज्ञान, युद्धमनोविज्ञान, सामाजिक मनोविज्ञान, आर्थिक मनोविज्ञान आदि अनेकौँ किसिमका मनोविज्ञानबाट मानिस आफू प्रभावित हुने र अरूलाई पनि प्रभाव पार्ने गरिरहेको हुन्छ ।

उसलाई आफ्नो मनोविज्ञानबारे राम्रो हेक्का हुन पनि सक्छ, नहुन पनि सक्छ । अक्सर नभएकै पाइन्छ । मानव जीवनसँग यसरी अभिन्न रूपमा गाँसिएको हुनाले मानिससँगै सम्बन्धित साहित्य, कला, संस्कृतिमा पनि मनोविज्ञानको अहम् स्थान रहनु स्वाभाविकै हो । त्यसैले विश्वका जुनसुकै देश र भाषाको साहित्यमा पनि मनोवैज्ञानिक पक्ष सशक्त रूपमा रहेको पाउन सकिन्छ । नेपाली साहित्य पनि यसबाट अलग छैन ।

नेपाली कथा साहित्यमा मनोविज्ञान पक्ष सबल रहेको पाइन्छ । आधुनिक युगका कथाकार गुरुप्रसाद मैनाली, बीपी कोइराला, भवानी भिक्षु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, तारिणीप्रसाद कोइरालालगायत कथाकारितामा मनोविज्ञान पक्ष निकै दरिलो रूपमा छ ।

आधुनिक नेपाली कथा साहित्यमा मनोवैज्ञानिक पक्षको जग हाल्ने श्रेय उहाँहरूलाई नै जान्छ । हाम्रो समाजमा अज्ञात समयदेखि नै अस्तित्वमा रहेका लोककथा, दन्त्यकथा, नीतिकथा, पौराणिक कथा आदिमा पनि मनोवैज्ञानिक पक्ष निकै बलियोसँग उभिएको देख्न सकिन्छ ।

नेपाली कथा साहित्यमा मनोविज्ञान पक्षले अस्तित्व जमाएको आठ दशक भइसकेको छ । तर, हाम्रो कथा साहित्यमा रहेको मनोवैज्ञानिक पक्षको यथोचित अनुसन्धानात्मक विश्लेषण गरेर कृति नै जनसमक्ष ल्याउने अहम् कार्य भने भर्खरै मात्र भएको छ । पछि गएर अवश्य पनि ऐतिहासिक महत्त्वको ठहरिने यो कार्य सफलतापूर्वक सम्पन्न गरेका छन्, नेपाली साहित्यका अध्येता प्रेमनारायण भुसालले ।

केही समयअघि मात्रै पाठकको हातमा पुगेको कृति ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ले नेपाली आख्यान साहित्यको विवेचना फाँटमा एउटा दह्रो इँटा थपेको छ । यसअघि नेपाली कथाका बारेमा विभिन्न कोणबाट लेखिएका केही पुस्तकहरू प्रकाशित भए पनि मनोविज्ञान धारमा मात्र केन्द्रित रही लेखिएको यो पहिलो अनुसन्धानमूलक कृति यही नै रहेको बुझिएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको गद्य–आख्यान विभागको अनुसन्धान परियोजनाअन्तर्गत अनुसन्धान गरी तयार पारिएको २४८ पृष्ठको यस पुस्तकमा लेखक भुसालले प्रमुख मनोवैज्ञानिक सम्प्रदाय, कथामा मनोविज्ञान निरुपणका आधार (सामान्य र असामान्य मनोविज्ञान), नेपाली कथामा मनोविज्ञान, समकालीन नेपाली कथामा मनोविज्ञान, उपसंहार तथा निष्कर्ष शीर्षकमा मनोविज्ञान र समकालीन नेपाली कथामा यसको अवस्थितिबारे विशद विवेचना गरेका छन् ।

अविच्छिन्न रूपमा प्रकाशित मधुपर्क र केही समय विच्छिन्न भए पनि नेपाली साहित्यको मानक दर्पण मानिएको गरिमामा प्रकाशित रचनाहरूको अध्ययन गरी समकालीन प्रतिनिधि कथाकार चयन गर्ने पद्धतिले समकालीनताको अध्ययनलाई वस्तुगत बनाएको छ ।

मनोविज्ञानको सैद्धान्तिक अवधारणा निर्माण गर्ने क्रममा परम्परागत सीमितताबाट निकै माथि उठेर अत्याधुनिक मनोवैज्ञानिक मान्यतालाई सरल रूपमा चित्रण गर्न पनि कृति सफल रहेको छ । वर्तमान समयमा कथाकारितामा सक्रिय रहेका नेपालका १३ जना सुपरिचित कथाकारहरूका मनोवैज्ञानिक कथाका सूक्ष्म विश्लेषण यस कृतिको एक रोचक पक्ष हो ।

नामको वर्णानुक्रमानुसार कृतिमा कथाकार इन्दिरा प्रसाईं, इन्द्रकुमार श्रेष्ठ, इल्या भट्टराई, कुमुद अधिकारी, तृष्णा कुँवर, नीलम कार्की निहारिका, महेश पौड्याल, महेशविक्रम शाह, माया ठकुरी, रत्न प्रजापति, ललिता दोषी, शर्मिला खड्का र श्रीरामसिंह बस्नेतका कथामा पाइने मनोवैज्ञानिक पक्ष, कथाका पात्रहरूको मनोवैज्ञानिक चित्रण, कथाका अंश आदिको निकै राम्रो विश्लेषण गरिएको छ ।

अध्ययनको लागि छनोट गरिएका तेह्रैजना कथाकारका कथाकारिताको सबल पक्षको चर्चा गरिएको छ । केही कथाकारको कमजोर पक्ष पनि औँल्याउने प्रयास गरिएको छ ।

यद्यपि, स्रष्टाका रचनाहरूको सबल र दुर्बल पक्षको सर्वसम्मत विश्लेषण निकै कठिन विषय हो । एउटा पाठकलाई दुर्बल लागेको पक्ष अर्को पाठकलाई सामान्य लाग्न सक्छ । यो रचनामा मात्र होइन, रचनालाई हेर्ने दृष्टिकोणमा पनि निर्भर गर्ने विषय हो ।

पुस्तकमा भूमिका वा मन्तव्य लेख्ने क्रममा प्रकाशक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ र गद्य विभाग प्रमुख माया ठकुरीले राखेका धारणाबाट पनि नेपाली आख्यान साहित्यमा यसप्रकारको अनुसन्धान र अनुसन्धानमा आधारित पुस्तकको महत्त्व उजागर हुन्छ ।

मनोविज्ञानका विभिन्न प्राविधिक पक्षबारे समेत विस्तृत चर्चा गरिएकोले पुस्तकको उपयोगिता बढेको छ । विश्वसाहित्यमा चर्चित मनोवैज्ञानिक कथा र कथाकारका बारेमा पनि पुस्तकमा केही प्रतिनिधिमूलक संक्षिप्त चर्चा गरिदिएको भए सुनमा सुगन्ध हुने थियो भन्ने लाग्दछ ।

समग्रमा भन्नुपर्दा नेपाली कथा साहित्यमा अभिरुचि राख्ने पाठक, विद्यार्थी, शोधार्थी आदि सबैका लागि भुसालले अथक मिहिनेत गरी तयार पारेको ‘समकालीन नेपाली कथामा मनोविज्ञान’ पुस्तक पठनीय र संग्रहणीय छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro