
काठमाडौं । धनकुटामा स्थापित कला साहित्यका क्षेत्रमा क्रियाशील संस्था इन्द्र–मोहन स्मृति गुठीले यस वर्षको ‘श्रीओम–इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार’ प्रसिद्ध गायक दीपक खरेललाई समर्पण गरेको छ ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा गुठीले ‘श्रीओम–इन्द्रमोहन पत्रकारिता पुरस्कार’ विराटनगरका क्रियाशील पत्रकार मोहन भण्डारीलाई प्रदान गरेको छ भने ‘डा. विमला श्रेष्ठ साहित्य पुरस्कार’ कवि डा. राजेन्द्र अधिकारीलाई प्रदान गरेको छ । पुरस्कारकासाथ नगद राशि पनि प्रदान गरिएको छ ।
सोहीअवसरमा साहित्यकार विवश पोखरेलद्वारा लिखित कवितासङ्ग्रह ‘जीवनलाई देख्नु भो’ पनि लोकार्पण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कवि वैरागी काइँलाले तीनै सर्जकहरूलाई पुरस्कृत र कविताकृति सार्वजनिक गर्दै यस्ता पुरस्कारहरूले सर्जकहरूलाई निरन्तर सक्रिय रहिरहन उर्जा प्रदान गर्ने बताए ।
कवि काइँलाले कृतिकार पोखरेलको कविताहरूको चर्चा गर्दै कविताका क्षेत्रमा एउटा राम्रो पुस्तक आएको उल्लेख गरे ।
कार्यक्रममा साहित्यकार प्रमोद प्रधानले पुरस्कृत स्रष्टाहरूको परिचय दिँदै तिनको योगदानको चर्चा गरे ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सार्वजनिक कृतिमाथि चर्चा गर्दै कृतिभित्र थुप्रै विषय र परिवेशका कविताहरू रहेको बताए । उनले विवशका कवितामा संवेदना, भावना र अनुभूतिको सुन्दर संयोजन रहेको उल्लेख गरे ।
कार्यक्रममा गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठले पूर्वको पहाडी जिल्ला धनकुटाबाट पहिलो पटक काठमाडौंमा आएर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रममा कृतिभित्रका कविताहरू कवि पोखरेलसहित अन्य कविहरूले वाचन गरेका थिए ।
कार्यक्रमको अवसरमा डा. श्रेष्ठले गुठीको अध्यक्षमा साहित्यकार विवश पोखरेललाई चयन गरेको जानकारी गराइन् ।अध्यक्ष पोखरेलकाअनुसार गुठीको उपाध्यक्षमा स्वीकार श्रेष्ठ, सदस्य सचिवमा यज्ञ श्रेष्ठ, कोषाध्यक्षमा भावना श्रेष्ठ र सदस्यहरूमा गोकुल अधिकारी, कृष्णा अमात्य, मुकुन्द प्रयास र केबी सुब्बालाई चयन गरिएको छ ।