
ओ डाक्टर साहेब !
किन यतिबिघ्न हतारिनुहुन्छ बिरामीका खातिर,
किन खटिनुहुन्छ दिनभर, रातभर,
किन, केका लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टर साहेब !
किन लाग्दैन तपाईंलाई कुनै चाडपर्व,
किन समय छैन तपाईंसँग साथीसंगी परिवारका लागि,
किन, के का लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टर साहेब !
महाराज–महारानीको सवारी भइरहँदा
किन हिँड्नुपर्यो तपाईं सडकमा,
किन भर्नुपर्यो प्राण बिरामीको,
किन हुनुपर्यो जनतालाई बिरामी ?
ओ डाक्टर साहेब !
देशमा कुनै सम्भावना नदेखेर
दिनदिनै परदेशिएका छन् त हजुरसँगैका साथीहरू
तिनै विदेशिएका पंक्तिसँगै किन मिसिनु भएन हजुर,
किन, के का लागि पो मरिमेट्नुहुन्छ ?
ओ डाक्टर साहेब !
केका लागि हो यतिबिघ्न स्वदेश प्रेम,
केका लागि हो यतिबिघ्न स्नेह,
केका लागि हो अहोरात्र खटनपटन,
महामारीमा होमिँदा बिरामीकै आफन्तबाट कुटिन ?
अस्पताल प्रशासनबाटै पलपलमा लुटिन,
या प्रहरी मेरो साथीको दमन सहन
या देशको कुशासन, विसंगति, ज्यादतीको चंगुुलमा फस्न ?
या यी सबैबाट ग्रस्त हुँदै डिप्रेसनको सिकार हुन,
किन, केका लागि पो मरिमेट्नुहुन्छ ?