
काठमाडौं । मंसिरदेखि नै रिक्त रहेको नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत नाट्य प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानले नयाँ नियुक्तिसँगै पूर्णता पाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भूपाल राईलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा, निशा शर्मालाई नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा र नारदमणि हार्तम्छालीलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेका छन् ।
रंगकर्मी निशा शर्मा प्रज्ञा प्रतिष्ठानकै इतिहासमा पहिलोपटक महिला कुलपतिका रूपमा नियुक्त भएकी हुन् ।
प्रधानमन्त्री प्रचण्डले तीनै प्रज्ञा प्रतिष्ठानका कुलपतिहरूलाई शपथ ग्रहण गराएका छन् ।
मन्त्रालयले रिक्त रहेको प्रतिष्ठानमा प्राज्ञ परिषद् तथा प्राज्ञ सभा सदस्यहरूसमेत नियुक्त गरेको छ ।
मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विमल निभा (विमलकृष्ण श्रेष्ठ) र सदस्य सचिवमा डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । त्यस्तै, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा संगीतकार शम्भु राई र सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा लालकाजी लामा र सदस्य सचिवमा देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ नियुक्त भएका छन् ।
प्रज्ञा प्रतिष्ठानका अन्य परिषद् सदस्यहरूको नामावली सूचीमा रहेको छ ।