
आफ्नै रीत
र, अनुशासनले बहिरहने बतासलाई
खुब माया गर्ने भएको छु ।
जब थाहा भयो,
मलाई छोएर गएको बतासले
तिम्रो मुटुलाई छुँदा
बनायो तिमीलाई मेरो प्रेमको गर्भवती !
र, लेखेर पठाएकी थियौ–
ज्यान, आइम प्रेग्नन्ट अव् यर लभ ।
अन्य ऋतुहरूमा
मेरो शरीरमा टाँसिन आउने
सिरक वा ओढ्नेलाई लात हानेर
दुई बित्ता पर पुर्याए पनि
यो शिशिरमा
तिम्रो माया गुट्मुटिएको,
तिम्रो सुगन्ध
र, मुःजःले तगेको सिरकभित्र पस्छु ।
आफ्नै हातलाई
मनतातो खम्बाजस्तो आफ्नै फिलाबीच छिराएर
तिम्रो न्यानोको कल्पनामा डुब्नु
र, तिमीलाई सम्झनुको मजा बेग्लै ।
म बेमौसमी याद बोकेर हिँडेको छु
र, बसेको छु
प्रत्येक पाइलामा कविता उम्रने सम्पदाक्षेत्रमा
र, बर्सिरहेको छ बेमौसमी झरी
भिजिरहेका छन्, मन्दिर, भूपतिन्द्र जुजु र दरबार
जसरी भिज्थ्यौ
मलाई छोएर आएको बदमास झरीले
र, गाउँथ्यौ–
बाहिर हो भिज्ने, भित्र भिजाउने कहाँ पाइन्छ
भित्रसम्म भिजाउन त ज्यान, तिमी नै चाहिन्छ
सम्झिरहेछु–
सँगै हुँदा, लडाइँ हुँदा, झगडा हुँदा
कपासजस्तै नरम रिसले
ममाथि प्रहार हुने तिम्रा हातलाई समाएर
तिम्रो पिठ्युँमा कस्दै कसरी तिमीलाई अंगाल्थेँ ।
अनि,
तिमी बल गर्थ्यौ र खाटमा धकेल्थ्यौ मलाई ।
पातको छातीमाथि शीत उर्लेझैँ
उर्लन्थ्यौ, उत्तानो परेको मेरो शरीरमा
र, भन्थ्यौ–
तिमीलाई भनेर दुनियाँ त्यागेर आएँ
अब आएर यसरी झगडा गर्ने ?
‘माया लाग्दैन मेरो’ भन्दै
विसर्जन गर्थ्यौ मेरो आङमाथि मुलायम बदन
भर्खरै नशा भरेको कमलपत्रजस्तै ओठ
मेरो सराबी ओठमा ओत लगाएर
‘मेरो बदमास मुटु’ भन्दै
हल्का लाडिने तिम्रो बानी, खुब मिस गर्छु ।
त्यसपछि,
कोठामा प्रेमको संगीत बज्थ्यो ।
आलिंगनले सुर कस्थ्यो
चुम्बनको बाँसुरी बज्थ्यो !
त्यस्तो संगीतको अनुरागी हामी दुवै ।
धीत मरुञ्जेल बजाउँथेँ म
कहिले झपताल, कहिले द्रुत विलम्बित त कहिले कहरुवा
कहिले धिमेको धुम्पक धुमधुम
कहिले मादलको घिन्ताङघिन्ताङ
कहिले तबलाको ता धेन धेन्ना
कहिले सारंगीको र्याइँर्याइँ
कहिले बाँसुरीको तिरिरी
तिमी
कहिले कोयलीझैँ मधुर गाउँथ्यौ लोकलयमा
कहिले भँगेरीझैँ
चिरबिर गाउँथ्यौ राग वसन्त वा राग भैरवी
कहिले ढुकुरझैँ
गाउँथ्यौ ओपेरा वा दोहा
कहिले मलेवाझैँ
गाउँथ्यौ प्रेमको शास्त्रीय तरन्नुम
कहिले गाउँथ्यौ
राग भुपालीमा प्रेम र तृप्तिको सरगम
अरू बेला
मौन र स्थिर रहने
कोठाका भित्ता, दराज, पंखा, टेबुल आदि पनि
रतिरागले रोमाञ्चक हुन्थे हाम्रो प्रेमोत्सवमा ।
अहो,
थाकेर चुर दुवै !
आकाशजस्तो कोठाको छाना नियाल्दै
गर्ने कड्लिङको भो कुरा नगरौँ ज्यान !
तिमीले –
‘बदमास, फेरि गर्छौ मसित झगडा’ भन्दै
निधारमा चुम्बन गर्दै
बाथरुम छिर्दा
तिम्रो छिनेको कम्मरको मर्काइ खुब सम्झन्छु ।
ज्यान,
हजुरको पसिनाको गन्ध कतै जाँदा बिर्सिन्न
त्यसैले अत्तरसित दुस्मनी छ मेरो भन्थ्यौ ।
सफासित धोएर आएको शरीर
पसिनाले निथ्रुक्क मेरो शरीरमाथि विश्राम लिन्थ्यौ
र, भन्थ्यौ–
प्रत्येक ऋतुको प्रथम वर्षापछि
धरतीको छातीबाट उठ्ने सुगन्धजस्तो
हजुरको पौरखी
पसिनाको मोहनीमा भिज्नुजस्तो मज्जा पानीमा कहाँ ?
“पानीले बाहिर भिजाउँछ
भित्रसम्म भिजाउन त ज्यान हजुर नै चाहिन्छ ।”
प्रेमविना
यो पृथ्वी घृणा र युद्धको चिहान हुने रहेछ ।
शब्दार्थ :
– मुःजः – शरीर वा काखको न्यानो
– कड्लिङ – रतिरागपछि गरिने प्रेमपूर्ण आलिंगन
(भक्तपुर)