site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ग्याब्रियले’ भित्रका सम्बन्धहरूको आरोह–अवरोह 
Tiktok banner adTiktok banner ad

सम्बन्धहरूको सौन्दर्य हो जीवन । सम्बन्धमा रहेर नै, सम्बन्धमा बाँधिएर नै यसको गरिमा छ । तीनै सम्बन्धहरूका वारिपारि जीवनले बेहोरेका व्यथा, उल्झन, अनुभूतिहरू कथानकमा उत्रन्छन्, तब बन्छन् कथाहरू ।

जीवनका दुःख, सुख, यथार्थ र तिक्तताले दिने सन्देहहरू नै त कथा हुन् । यस्तै जीवनीय यथार्थलाई कथा बनाएर साहित्यजगत्लाई अर्पित गर्दै कथाकारका रूपमा आएका छन्, हरिश कल्पित ।

उनको कथासंग्रह ‘ग्याब्रियले’ बजारमा आएको छ, जहाँ जीवन, जीवन बाँधिने सम्बन्ध, सम्बन्धको आयु र ऊर्जाले बनेका कथाहरूले पाठकलाई तरंगित बनाउँछन् ।

यस संग्रहमा १३ वटा कथाहरू छन् । पारिवारिक पृष्ठभूमिमा आमा बन्न नसकेकी तर देवरलाई सन्तान मानेकी लक्ष्मीको कारुणिक कथा ‘मोहभंग’बाट ‘ग्याब्रियले’ले कथात्मक यात्रा सुरु गरेको छ ।

‘बिहे’ कथामा नसोचेको घटनाले भताभुंग भएको खुसी र तिनीहरूको दयनीय अवस्था चित्रित छ । प्रगाढ प्रेम चाहना भएर पनि एकार्काको हुन नसकेको दुई युवाजोडीको दुर्दशाको कथा ‘पुष्पलता’मा पाइन्छ ।

आफ्ना सन्तानप्रतिको मोहभंग हुँदै पुनः सन्तानको मोहजालमा बाँधिएको परिवारको कथा ‘मोह जाल’मा छ । आजका युवाको विदेश मोह र विदेशिएपछिका सम्बन्धमा आएका उतारचढावका अवस्था र असरको कथा हो यो ।

वैवाहिक जीवनमा बाँधिएका एकजोडीको विवाह हुनुअगावै टुक्रिएको कारुणिक कथा हो, ‘वहाँहरू आउनु भयो’ । प्रतिनिधि कथा ‘ग्याब्रियले’ले जापानी महिलासँगको वैवाहिक जीवन, महिलाहरूको सोचाइ, अवस्था र बाबुको छोरीप्रतिको स्नेह र खोजाइको चित्र देखाएको छ ।

यसैगरी, ‘बधाई छ देवयानी’, ‘कृष्ण सर’, ‘अनिमाकेईको सेनसेई’ लगायत कथाहरू वास्तविक जीवन धरातलमा टेकेका कथाहरू हुन् । प्रत्येक कथा कहीँ न कहीँ, कतै न कतै हाम्रै कथाहरू हुन् जस्तो अनुभव भइरहन्छ ।

यस संग्रहमा रहेका सबै कथाहरू सन्देशमूलक छन् । प्रत्येक कथामा पात्र, ती पात्रहरूको सम्बन्ध र ती सम्बन्धहरू कहीँ टुटेका, कहीँ फुटेका, कहीँ छुटेका र कहीँ भेटिएका पनि छन् ।

नेपाल तथा जापानी परिवेशमा लेखिएका यी कथाहरू परिवेशानुसारको कथानक दिन सक्षम छन् । प्रेम, आकर्षण, वियोग, सामाजिक जीवन, युवा मनोभाव, नारीको मनोदशा र अवस्था, अप्रत्याशित घटनाहरूको भूकम्प, देश, काल, परिस्थितिअनुसारका चलन–प्रचलनले कथाको कथानकलाई गति प्रदान गरेका छन् ।

कथाहरू छोटाछरिता र रोचक छन् । संवादात्मक, पूर्वदिप्ती, मनोवाद आदि शैलीको प्रयोगले कथाहरू पढ्दा झर्को लाग्दैन । कौतूहल जागिरहन्छ, अब के हुन्छ ? कथानकले कस्तो मोड लिन्छ ? भन्ने ।

पाठकलाई यही कौतूहल प्रदान गर्न सक्नु नै कथाकार कल्पितको आख्यान वैशिष्ठ्य पनि हो भन्न सकिन्छ । उनका कथाहरू हामी सबैका जीवनका कथाहरू जस्ता लाग्छन् । यही यथार्थकै कारण उनका कथाहरूमा जीवन छ, जीवनमा सम्बन्ध छ, सम्बन्धमा सौन्दर्य छ, त्यही सौन्दर्य कहीँ रोएको छ, कहीँ छुटेको छ, कतै मिठास छ त कहीँ तिक्तता छ  ।

वस्तुविन्यासगत सांगठनिक दृष्टिले हेर्दा कथाहरू सबल छन् । कथाकारले मध्यवर्गीय चरित्रलाई केन्द्रमा राखेका छन् । चरित्रले कथाले मागेको भूमिका राम्ररी निर्वाह गरेका छन् । कथावस्तुको सान्दर्भिकतालाई स्पष्ट र विश्वासनीय बनाउन उपयुक्त परिवेशको चित्रण गरिएको छ । नेपाल र जापान दुवै देशको परिवेशलाई प्रयोग गरिएको छ ।

आन्तरिक द्वन्द्व र बाह्य द्वन्द्वको प्रयोगले कथा रसिला बनेका छन् । कथामा भएको द्वन्द्वको पुटले कथामा कौतूहल शृंखलित भएको छ । पात्रहरूमा देखिने आन्तरिक द्वन्द्वले कथाहरूमा रोचकता थपेको छ ।

अन्त्यमा, १३ वटा विभिन्न विषय र परिवेशका कथाहरू रहेको ‘ग्याब्रियले’ कथासंग्रह पाठकको लागि आख्यानिक खुराक बनेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro