
काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट मंगलबारमात्र जर्मन क्लब बायर्न म्युनिख पुगेका जाओ कान्सेलोले पहिलो खेलमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।
बुधबार राति बायर्नले मेइन्जमाथि ४–० को विजय हासिल गर्दा कान्सेलोले एक गोलमा अवसर सिर्जना गरिदिएका थिए । जितसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ ।
२८ वर्षे कान्सेलोको पासमा इरिक म्याक्सिम चौपो–मोटिङले गरेको गोलबाट बायर्नले १७औं मिनेटमा अग्रता लिएको थियो । ३०औं मिनेटमा जमल मुसिएलाले बायर्नको अग्रता दोब्बर बनाए । ४४औं मिनेटमा लेरोइ सानेले तेस्रो गोल थपे ।
८२औं मिनेटमा बो स्भेन्सनले रातो कार्डको सामना गरेपछि मेइन्ज दश खेलाडीमा सीमित भएको थियो । ८३औं मिनेटमा अल्फन्सो डेभिसले गोल गरेपछि बायर्नले ४–० को अग्रता लियो ।
८६ औं मिनेटमा एलेक्सजेण्डर हाकले पनि रातो कार्ड पाएपछि मैन्ज ९ खेलाडीमा सीमित भएको थियो ।