site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

काठमाडौंबाट पोखराका लागि उडेको यति एअरलाइन्सको एटीआर विमान आइतवार विहान  अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानमा ६८ जना यात्रु र ४ जना चालकदलका सदस्य रहेका थिए ।

सरकारले हवाई दुर्घटनाको छानबिनका लागि समिति गठन गरेको छ । छानबिन र उद्धार कार्यमा सरकारले प्रतिबद्धता पनि प्रकट गरेको छ । प्रधानमन्त्री र गृहमन्त्री स्वयंले उद्धार कार्यको जानकारी लिएका छन् ।

यात्राका विभिन्न माध्यममध्ये हवाई यात्रा बढी सुरक्षित मानिने हुनाले हवाई दुर्घटनाको चर्चा यसै पनि धेरै हुने गर्छ । त्यसमाथि, भर्खरै सञ्चालनमा ल्याइएको विमानस्थलमा अवतरणका लागि आउँदा दुर्घटना भएकाले थप चर्चा हुनेछ । 

यसपटक छानबिन समितिले नयाँ विमानस्थलमा उडान र अवतरण कति सुरक्षित छ भन्ने विषयमा पनि चित्तबुझ्दो उत्तर खोज्नुपर्ने हुनसक्छ । पूर्वबाट गएको विमान किन पश्चिमबाट विमानस्थलमा ओर्लन खोजेको थियो भन्ने उत्तरले सायद दुर्घटनाको रहस्य फुकाउन सक्छ । 

हवाई दुर्घटनापछि गरिने छानबिनमा प्रायः दुर्घटनामै मरेका चालकलाई दोषी ठहर गरेको प्रतिवेदन बुझाएर औपचारिकता पूरा गरिन्छ । कुनै दुर्घटनापछि विमानहरूको भौतिक अवस्था वा विमानस्थलको सुविधामा सुधार गरिएको भने अहिलेसम्म थाहा भएको छैन ।

नेपालमा सञ्चालित अधिकांश विमानको भौतिक अवस्था मापदण्डअनुरूप नभएको, विमानस्थलको सुविधा पनि अद्यावधिक नगरिएको, विमानका चालकहरूको मानसिक र शारीरिक स्वास्थ्यको नियमित परीक्षण हुने नगरेकोजस्ता अनेकौं कमजोरी  दुर्घटनाको कारण हुनसक्छ । तर, सामान्यतः यस्ता विषय सधैँ उपेक्षित हुन्छन् ।

अब हुने छानबिनमा यस्ता सबै विषयमा ध्यान दिइने अपेक्षा गर्नु पक्कै अन्यथा मानिनेछैन ।  विमानको भौतिक अवस्था, विमानस्थलको अवस्थािति, चालक दलको स्वास्थ्यको नियमित परीक्षणजस्ता विषयमा पनि छानबिन समितिले गम्भीर ध्यान देओस् । 

नेपालको भौगोलिक अवस्थितिका कारण हवाई सेवा जति उपयोगी छ यसको सञ्चालन उत्तिकै जोखिमपूर्ण पनि छ । यसैले हवाई दुर्घटनालाई नियमित आकस्मिकता मान्नुपर्ने नियतिबाट मुक्त हुन विशेष ध्यान दिएमा मात्र अहिले देखाइएको तदारूकता र संवेदनशीलता सार्थक हुनेछ । 

प्रचलित अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको पालना गराउने र नेपालका हकमा सुरक्षा सावधानीका थप उपाय अपनाउन राज्यले सुपरीवेक्षण र नियमन प्रभावकारी बनाएमात्र नेपालमा ढुक्कसँग हवाई यात्रा गर्न सकिनेछ ।  सरकार, वायुसेवा र नियामक निकाय सबैको ध्यान पुगोस् । 
  
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro