ब्लग
ढाँडखोलो तरेर त्यो उकालो उक्लिने बेला सुरु हुने बाटो हिँड्दा मलाई पहिलो खडकेरीमा ढोगेर हिँड्न मन लाग्छ । त्यहाँ शिवलिंग त छैन तैपनि पाती चढाएर ढोग्छु । खोलो तरेपछि फाटेका दुईटा बाटामध्ये तल्लो तेर्पाए छ अर्को ठाडो । म ठाडै उक्लिन्छु ।
सिँडीमा बिच्छाइएका छपनी खल्केको देखे सकेसम्म सिधा पार्न मन लाग्छ । घन छिनोले चकाएर मानौ आफ्नै वलेनीमा बिच्छाइएका ढुंगा जस्तै गरी बनाइएको त्यस बाटामा कसैले भल पसालेको देखे भल तर्काउन मन लाग्छ अनि मनमनै गाली गर्न पनि ।
कस्ता बदमास मान्छेहरू ! कम्तीमा आफैँ हिँड्ने बाटामा त भल त नहाल्नु नि !
लाग्छ, यी छपनीहरूसँग, यो बाटोसँग अनि छेउमा बगेको खोलाको बगर सँग मेरो अतृप्त प्रेम छ । बर्खाको बेला घर जाँदा आफैँलाई तर्साउने गरी खोलो मात्तिन्छ । हिउँदमा जाँदा सुक्छ तर बगर जस्ताको तस्तै । हो, त्यही खोलामा कताकति बनेका दहहरू अनि तिनै दहमा पौडेर आँग सेकाउन उत्तानो परेर नाङ्गै सुत्ने छपनीहरू । त्यति बेला कसैले देखे जिस्काउँथे, नदेखे आफैलाई आफैसँग केको लाज मजाले सुतिन्थ्यो !
बाटो उक्लिँदै गर्दा नसम्झुँ भन्दा पनि उक्लिने बाटोको सिँढीभन्दा अघि भएर आइदिन्छ सम्झना । अनि तिनै सम्झनाहरूले सिँढीहरू आफैँ उक्लिन्छन् र म फाँटमा पुग्छु ।
यो बाटो निकै अप्ठेरो हो । मान्छेहरू निकै ओहरदोहर गर्थे । दैनिक घाँस दाउराको भारी बोकेर उक्लिन ओर्लिन चौरास हुन्थ्यो । तैपनि मान्छेहरू दुखै सही, त्यही दुःखमा अभ्यस्त भइसकेका थिए । जाबो बाटो हिँड्ने बटुवालाई त एकछिन त हो यसैगरी उक्लिन्थे, ओर्लिन्थे अनि आफ्नो बाटो पार गर्थे ।
ठाडो बाटो, फाँटको बीचबाट हिलाआली हुँदै आउजाउ गर्दा कम्ता सास्ती थिएन । घाँस दाउराको भारीमात्र होइन बाली उकेर्दा पनि गोडो नअडिने अखेटोमै टेकेर उक्ले ओर्ले मान्छेहरू । दिदीलाई साथे हुन घाँस काट्न जाँदा मै पनि यो बाटोमा धेरैपटक घाँसको डोकोसँग लडेको छु । खुट्टो चिप्लिँदा दाहिने हातको बुढीऔँलामा आँसीको धार परेर बनेको घाउको खत अझै छ ।
हरेक पटक यो बाटो उक्लेर घर जाँदा यिनै पुराना कुरा ताजा बनेर आइरहन्छन् ।
घरमुनिको फाँट उक्लिसक्दा गाउँ पूरै देखिन्छ । यो बाटो बनाउन उनीहरूले पनि सहयोग गरे । छेउको ढुंगोमा थचक्क बसेर उनीहरूलाई धन्यवाद दिन मन लाग्छ ।
हाम्रै घरको पिँढीमा बसेर यो बाटोमा सिँढी चिन्ने निधो भएको हो । निर्णय त भयो तर पैसो जुटाउने कसरी भन्ने प्रश्न मुख्य थियो ।
प्रश्नसँगै उत्तर पनि आउँदो र'छ । जनमुखी सामुदायिक संस्थाको निर्णय पुस्तिकामा भैलो खेलेर जम्मा गरेको पैसाले यो बाटो बनाउने निर्णय गरियो ।
हुन त, तिहारको बेला भैलो प्रत्येक वर्ष कोही पार्टीको नाममा खेल्थे । कोही क्लवको नाममा खेल्थे । तर भैलोमा उठेको पैसोबाट हिउँद लागेपछि त्यही फाँटको बीचमा खसी ढालेर वनभोज खान्थे । अनि गाउँलेले भन्थे - खसी खान भैलो खेल्नेलाई अर्को साल दक्षिणा दिइन्न । तर, वर्ष दिनपछि त्यो बिर्सिइन्थो । उनीहरू त्यसैगरी भैलो खेल्थे । दिनेले पनि दिन्थे अनि फेरि हिउँदमा फाँटमा अर्को खसी ढल्थ्यो ।
समूहबाट भैलो खेल्ने निर्णय भएको भोलिपल्टैबाट 'रिहर्सल' सुरु भयो ।
यो टोली कुनै पार्टीको पनि थिएन र कुनै क्लबको पनि । अनि भैलोमा उठेको पैसोले के गर्ने भन्ने दरिलो उत्तर थियो । त्यसैले रिहर्सलमा जनमुखी समूहका सबैको उत्तिकै सक्रियता रह्यो । आमा, भाउजु, दिदी, भाइ, बैनी सबै सामेल भए । दिनभर काम अनि साँझ परेबाट मध्यरातसम्म भैलो रिहर्सल ।
धेरै गीत आफैँले लेखेका थिए । नाच्नेगाउँने र सिकाउने त्यही समूहभित्रै थिए ।
गीतमा कतै परदेशबाट आउन नपाएका दाजुको पीडा थियो त कतै दाजु नआएको वेदनामा तिहार र मखमलीले चेलीलाई गिज्याएको भाव । अनि, कतै जुवा तास नखेल्न अनुरोध गरिएका भाका थिए ।
लक्ष्मी पूजाको दिनदेखि भैलो सुरु भयो । चाडको बेला घरमा गर्नुपर्ने सबै काम आफैँ व्यवस्थापन गरेर समूहका सबै आमा, भाउजु, दिदी र दाजुभाइ भैलोमा सामेल भयौँ । भैलोमा उठेको पैसाले के गर्छौ भन्ने प्रश्न कसैले नसोधुन् भनेर हामीले जैदी- ७, बाओको ढाँड खोलादेखि शारदा प्राविसम्मको बाटो बनाउने जानकारी गीतका टुक्कामा पनि जोडेका थियौँ भने भट्ट्याउँदा पनि हामी कुरा खुलाएर भट्ट्याउँथ्यौ ।
यति गर्दा पनि कतिले पत्याउन्नथे र भन्थे यिनीहरूको पनि उही खसी खाने बहाना हो । कतिले उडाउँथे पनि । भैलोमा कति पैसा उठ्ला र त्यत्रो बाटो बनाइएला ?
जस्ले जे भने पनि त्यो भैलो खेल्नुको मूल लक्ष्य थियो - बाटो बनाउनु । सबैका लागि त्यो उकालोओरालो गर्न सजिलो बनाउनु । अनि अर्को सन्देश पनि दिनु थियो - वर्षेनी खेल्ने भैले टोलीले कम्तीमा एउटा सामाजिक काम गरुन् !
भैलोमा कतिले सय दिए कतिले पाँच सय दिए । कतिले तीस, बीस, पचास दिए । कतिले त हजार पनि दिए । हजार आशा गरेको ठाँउमा पचास पनि दिए । सय, पचास आशा गरेको ठाँउमा पाँच सय पनि दिए । जेहोस् कतिले आफनो गच्छेअनुसार दिए, कतिले इच्छाअनुसार दिए ।
चौर, बाँओ अनि धुल्लुको केही भागमा भैलो खेल्दा पच्चीस हजार जम्मा भयो । यो धेरै पनि थिएन र थोरै पनि थिएन ।
यो बाटोको जग त्यही पच्चीस हजार हो । बाटो उक्लिँदाओर्लिँदा लाग्छ यो बाटोका छपनीहरूले देउसीरे भनिरहेछन् । कुनै सरकारी योजना हुन्थ्यो भने यही बाटोमा यत्ति कामको लागि अहिले पच्चीस लाख खर्च र काम चाहिँ पच्चीस हजारको हुन्थ्यो होला ।
त्यही हिउदमा काम सुरु गरियो । जैदीको सात र आठ नम्बर वडाका सबैलाई एक एक दिन जनश्रमदान बोलाइयो । आए, सबै । कम्तीमा बाटो सुरु भयो ।
बाटोमा सिँडी बनाउन जान्नेहरूको साथमा उनीहरूको सहयोगीका रूपमा संस्थाको तर्फबाट हामी चारपाँच जना दैनिक भइरहन्थ्यौँ भने संस्थाका सबैको सक्रियता उत्तिकै थियो । करिब दुर्इ महिना लगातार काम भयो । मैलै चालीस दिनभन्दा बढी बिताएको छु यो बाटोमा ।
त्यही ढाँडखोलाले पछारेका ठूला ढुंगामा छिनो हानेर, हराउलान् कि राति भनेर चिनो लगाएर भोलिपल्ट पिठ्युँमा बोकेका छपनी हुन् यस बाटाका सिँढी । बाटो सम्पन्न भइसकेपछि धेरैले भने - जनमुखी सामुदायिक संस्थाले नमुना काम गर्यो । भैलोमा पाँच सयको आशा गर्ने ठाउँमा पचास दिनेहरूले पछि बोलाएर हजार दिए । गाविसले पाँच हजार दियो ।
त्यही वर्ष फागुन एक गते गाउँकै सबैभन्दा ज्येष्ठ नागरिक पवित्रा पौडेलबाट बाटो उद्घाटन गरियो । गाउँले सबै जम्मा भए । सबैले भने यसरी गरे के हुन्न र ? त्यो अप्ठेरो बाटामा सिँढी वन्दा त्यहाँका सबैलार्इ गाउँमै सडक आएजस्तो लागेको थियो ।
आजकल खड्किन्छ यो बाटोमा एउटा शिलालेख राख्नुपर्ने र'छ भन्ने । कम्तीमा यो बाटो कस्ले बनायो, कहिले बनायो भन्ने त थाहा पाउँथे बटुवाले । अनि पो धन्यवाद पनि दिन सक्थे होलान् त ।
प्रत्येक वर्ष तिहार आउँदा खेलिने भैलोमा यसरी नै सबैको भलाइका काम मिसिने हो भने तिहारले हामीले मान्दै आएको धार्मिक सांस्कृतिक पक्ष बलियो बनाउँदै विकासको बाटो पनि त देखाउँदो रैछ ।
मोहराज शर्मा
जैदी ७,बाग्लुङ
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७३ ०७:५४
प्रतिक्रिया दिनुहोस्