ब्लग
राजकुमार गजुरेल
लोकमानसिंह कार्कीमय बन्यो नेपालको संसद् र सामाजिक सञ्जाल बितेको साता । अझै केही साता यस्तै होला जस्तो छ ।
अस्थिर राजनीतिको उचित फाइदा उठाँउदै छन् अहिलेका राष्ट्रिय कलाकार । आफ्नो मुख देखाउन नसक्ने अवस्था आएपछि विषयवस्तु परिर्वतन गरिँदै छ ।
राज्यमा विश्वास गर्ने कोही छैनन् । एक न एक काम बिगारेर सात पुस्ता पुग्ने कुम्लाउन लागिपरेकाहरूका लागि देशको के चिन्ता ? मौकामा चौका हान्ने दाउमा छन् सबै ।
लोकमानको कारण अर्बाैं बाहिर गएकोमा चिन्ताको बाढी चलाउनेहरूले पुष्पकमल दाहालले विदेशी बैंकमा राखेको पैसो आउँदा चाहिँ भाग पाउँछन् कि के हो ? चाइँचुइँ केही छैन ।
प्रहरीले आफ्नो संगठनमा चाहिने चियापत्तीदेखि गोलीसम्म किन्दा पनि कमिसन खान्छ भनिन्छ । विश्वविद्यालयका पदाधिकारी विदेशी प्रकाशनका पुस्तक कोर्समा राख्न कमिसन खान्छन् । सेना, निजामती, टेलिकम, यातायात कतै कोही चोखो देखिँदैन ।
नेपालमा भष्टा«चारलाई संस्थागत रूपमै व्यवस्थावन गर्ने चलन छ । खाने र खुवाउनेका बीचमा मतो मिल्दासम्म कुनै कुरा बाहिर आउँदैन । भागबिलोमा कुरा नमिल्नेबित्तिकै भन्डाफोर अभियान सुरु हुन्छ ।
‘हामीलाई जाक्ने ?’ – नेता भन्दैछन् त्यसलाई किन छोड्ने ? स्वतन्त्र छानबिन हुने हो भने कुनै सार्वजनिक व्यक्ति पनि वर्त बसेका भेटिने छैनन् । शान्ति प्रक्रियाका नाममा, लोकतन्त्रका नाममा, संविधान निर्माणका नाममा । नेपाली जनताको मुखको खाना लुछेर खाने खाइदेउहरू नै विभिन्न नाममा सदाचारको देउसी खेल्दैछन् ।
रुखमा बसेको कागको मुखबाट मासु खस्ला र खाउँला भनी कुरी बसेको स्यालको कथाजस्तो भयो हामी नेपालीको जिन्दगी । राणा गए खाउला भनेर आन्दोलन गरे जनताले खाइदियो अर्कैले । पञ्चायत गए केही पाइन्छ कि भनेर आन्दोलन गरे जनताले तर पायो अर्कैले । बन्दुक चलाएपछि चाहिँ फल पाइएला कि भनेर बन्दुक चलाए केहीले तर रगतको होली महङ्गो प¥यो जनतालाई । बन्दुकको फाइदा त झन् देशैबाहिरकालाई भएजस्तो छ । काम गर्ने कालु मकै खाने भालु भनेजस्तै भयो । यस्तो छ हाम्रो कथा र कथा ।
नेपालका मिडिया पनि कम छैनन् । तिललाई पहाड र पहाडलाई तिल बनाउन सक्छन् सजिलै लाजै नमानी । अरूका बारेमा खोजेर सही सूचना दिनुपर्ने मिडियाकै विषयमा खोज गर्नुपर्ने भयो । यिनको रिमोट कहाँ छ ? दानापानी कहाँबाट आउँछ ?
कांग्रेस, एमाले र माओवादी केन्द्र बेलाबेलामा एकअर्काको भन्डाफोर गर्ने भन्छन् । तर कहिल्यै गर्दैनन् । किनभने एउटै धम्की र घुर्कीपछि यिनको भागबन्डा मिल्छ । अहिले लोकमानसँग चाहिँ मिलेनजस्तो छ । महाअभियोगको संक्रमण पैmलिएपछि आफैँलाई पनि सल्केला है विचार गरौँ !
एउटा राम्रो राजमार्ग बन्दैन । विश्वविद्यालयलाई व्यवस्थित गर्न सक्दैनन् । भूकम्प गएको डेढ वर्ष भइसक्ता पनि सहायताको उधारो कुरा गरेर जनतालाई अनन्तकालसम्म प्रतीक्षा गराउँदै छ सरकार ।
हाम्रै भोटले उनीहरूले अर्बाैं लुट्ने लाइसेन्स लिएका छन् । हमीले रगतपसिना बगाएर जम्मा गरेको ढुकुटी सुम्पिदिएका छौँ । मोज गर बेला यही हो । खाना, खाजा खान नपुगे हात पसार तर विश्वकै धनी बन्न विश्वकै गरिब मुलुकमा लामो हात नगर ।
हामी नेपाली जनताको लागि लोकमान, शेरबहादुर, केपी, पुष्पकमल, सबै नाम एकै हन् । गधा नुहाएर गाई हुँदैन, दूध दिँदैन । कुरो बुझाैं विकासका लागि आफैं अघि बढौँ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३ १५:१७
प्रतिक्रिया दिनुहोस्