राजनीति
काठमाडौं । ठगी तथा सरकारी कागजपत्र किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर्याइएका नुवाकोट रावतबेसी–४ का सरोज केसीलाई सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले संरक्षण दिएर राखेको प्रहरी स्रोतले बताएको छ ।
एक एमबीबीएस डाक्टरलाई एमडी पढाइदिने झुटो आश्वासन र नक्कली कागजसमेत बनाएको आरोपमा काठमाडौं जिल्ला अदालतले जेल सजाय र सात लाख रुपैयाँ जरिवाना गरेका सरोज केसी दैनिक रूपमा सिंहदरबार छिर्ने र सहरी विकास मन्त्रालयमा अड्डा जमाएर बस्ने गरेको प्रहरी स्रोतले पत्ता लगाएको छ । मन्त्रीको संरक्षण भएका कारण केसीको विषयमा सबै कुरा थाहा पाए पनि प्रहरीले ती भगौडाको सूचीमा भएका अपराधीलाई अहिलेसम्म पक्राउ गर्न नसकेको जनाउँदै आएको छ ।
सप्तरी सिमराहा सिगीयौना–४ का जनमैत्री अस्पतालमा कार्यरत डा. मनोज कुमार साहलाई वीर अस्पतालमा एमडी पढ्न इन्ट्रान्स परीक्षामा उत्तीर्ण गराइदिने नाममा नक्कली कागजपत्र पेश गरी सरोज केसी तथा उनको समूहले एक करोड रुपैयाँ ठगी गरेका थिए ।
सो मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले ०७३ जेठ ३१ गते केसीलाई १४ महिना जेल र सात लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
तीनजना वीर अस्पतालका कर्मचारी र अन्य दुईजना बाहिरका गरी पाँच जना मिलेर ०७१ सालमा डा. साहलाई पैसा खर्च गर्न सके एमडीमा नाम निकाल्न सकिन्छ भन्दै ठगेका थिए । ठगी गर्ने क्रममा ती व्यक्तिले कांग्रेस नेता अर्जुन नरसिंह केसी (हाल सहरी विकास मन्त्री) र उनका भाइ वरिष्ठ चिकित्सक केदार नरसिंह केसीमार्फत काम गराउने भन्दै आश्वासनसमेत दिएका थिए ।
प्रहरी स्रोतका अनुसार उक्त घटनामा काठमाडौं जिल्ला अदालतको फैसलाअनुसार राजेश कहार, रवि पौडेल र दीपक मुडभरी जेलमा छन् । तर, सरोज केसी र बारा कलैयाका पिन्टु भन्ने शशिकान्त मिश्र भने फरारको सूचीमा छन् ।
जिल्ला अदालत काठमाडौंले केसीलाई फरार अपराधीको सूचीमा राखी पक्राउका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । तर, फरारको सूचीमा रहेका केसी दिनदिनै सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा आवतजावत गर्ने गरेको स्रोतले जनकारी दिएको छ । यो कुरा प्रहरीलाई पनि थाहा भए पनि मन्त्रीको नजिकको व्यक्ति भएकोले छुन नसकेको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १९, २०७३ ११:२०
प्रतिक्रिया दिनुहोस्