देश
कोरान्मे क्याथलिन (५६) क्यानडेली नागरिक हुन् । २३ वर्ष उनले स्टाफ नर्स बनेर बिरामीको सेवा गरिन् । जीवनको सबैभन्दा ऊर्जाशील समय उनले बिरामीको स्याहार–सुसारमा बिताइन् ।
समय क्रममा उनले मानिसमात्रै नभएर जनावरका पनि दुःख बुझ्न थालिन् । उनका हात मान्छेको घाउहरुमा मात्रै होइन, जनावरका शरीरसँग पनि खेल्न थाले ।
जनावरको अधिकार र रेखदेखका लागि काम गर्ने अमेरिकी गैरसरकारी संस्था ‘चेन फ्रि पेन फ्रि’ मा आबद्ध भइन् क्याथलिन । त्यही संस्थाबाट उनी डेढ सालअघि नेपाल आइन् र चितवन नेसनल पार्क पुगिन् । उनले त्यहीँ हो, पहिलो पटक आँखैअगाडि हात्ती देखेको र हात्तीले मोहनी लगाएको । त्यही हात्तीले हो उनको जीवनको बाटो नै बदलिदिएको ।
पहिलोपटक हात्ती देख्दा क्याथलिनलाई हात्ती र मान्छेमा केही भेद लागेन । अर्को हात्तीले खोलो तर्न नसक्दा गर्ने सहयोग, साथी मर्दा दशौं दिनसम्म रुँगेर बस्ने बानी र घाइते तथा बिरामीलाई नछोड्ने हात्तीको स्वाभाव मान्छेको भन्दा फरक लागेन क्याथलिनलाई । त्यसैले उनले निर्णय गरिन्– म हात्तीसँगै जीवन साट्छु । बाँकी जिन्दगी यिनैको सेवामा अर्पण गर्छु ।
‘चेन फ्रि पेन फ्रि’ सीमित समयको परियोजना भएकाले उनी आफ्नै घर फर्किन् क्यानडा, जहाँ उनको जन्मसँग जोडिएको नाता थियो । जहाँ थिइन् उनकी २९ वर्षीया छोरी कोलिभया । क्याथलिन क्यानडा त गइन्, तर उतै बस्न भने गएकी थिइनन् । उनलाई हात्तीले मोहनी लगाएको थियो । सपनामा पनि उनी हात्ती नै देख्थिन् रे ! त्यसैले उनले त्यहाँको आफ्नो सम्पत्ति बेचिन् र त्यो लिएर नेपाल फर्किन् ।
‘हात्तीप्रति किन यत्रो अगाध प्रेम ? कस्तो फिल हुन्छ हात्तीलाई देख्दा र नदेख्दा ?’ भन्ने मेरो प्रश्न सुनेर उनका आँखाभरि आँसु आए । आँखाका डिल भरिएर बलिन्द्र धारा आँसु गालाको बाटो हुँदै गलातिर झरे । सँगै रहेका ‘हेन्डस् टु हेल्प’ चितवनका जहिर शाहले क्याथलिनलाई ‘नो प्रोब्लम, टेक अ रेस्ट एन्ड टक आफ्टर सम टाइम्स’ भने । उनले आँसु पुछिन् । मलाई छल्न उनका आँखा बाह्रखरी गेष्ट रुमको झ्यालबाट एकछिन बाहिर टहलिए । र, ‘सरी’ भन्दै अवरुद्ध गलाले बोल्न थालिन्, “खै किन मलाई हात्तीको यति धेरै माया लाग्छ, थाहा छैन आफैंलाई । यिनीहरुमा जादु छ । यिनीहरुले पनि पढ्न सक्छन्, दिमाग छ । मलाई मेरो शरीरको जस्तै गणेश भगवान (हात्ती)को माया लाग्छ ।” क्याथलिनले अगाडि भनिन्, “मलाई हात्ती नदेख्दा कोलिभया (उनकी छोरी) नदेख्दा जस्तै अनुभूति हुन्छ । अरु त खै के भनौं र ?, देख्न मन परिरहन्छ ।”
जनवारप्रति उनको खुब मोह रहेछ । बाह्रखरी आउँदा उनले कुकुर पनि आफूसँगै बोकेकी थिइन् । घरीघरी मायाले सुमसुम्याउँथिन् ।
उनले पहिलोपटक चितवनमा आउँदा देखिन् सानो–सानो घरजत्रै हात्तीमा ५/७ जना मान्छे चढेर जंगल सफारी गरेको । त्यतिसम्म त चलन होला, ठीकै छ । तर, जब माउतेले फलामको हुकले कोर्रा हान्न थाल्यो, त्यो भने उनलाई असह्य भयो । त्यसैले त्यही क्षण उनले सोचिन्– यस्तो क्रुर चलनको अन्त्य गर्नुपर्छ । र, अठोट गरिन्– यो पाशविक प्रथाको अन्त्य गर्न पहल गर्छु ।
क्याथलिनले अहिलेसम्म हात्ती चढेकी छैनन् । उनलाई हात्ती चढ्नु भनेको मान्छेमाथि चढ्नु सरह लाग्छ । त्यसैले उनले नयाँ योजना बनाएकी छन्, एलिफेन्ट राइडिङका ठाउँमा एलिफेन्ट वाक । उनको यो योजनाले हात्तीमाथि चढ्ने होइन, हात्तीलाई डोर्याएर आफूसँगै हिँडाउने । आफूसँगै खाजा खुवाउने र उसैगरी फर्काएर ल्याउने । यसका लागि उनले चितवनका स्थानीय व्यवसायी जो हात्ती पालेर बसिरहेका छन्, उनीहरुसँग पनि कुरा गरिसकेकी छन् । “ओम रिजालले प्रतिबद्धता पनि जनाइसक्नु भएको छ एलिफेन्ट वाकका लागि,” क्याथलिनले भनिन्, “गर्दै जाने हो, भन्दै जान्छु अब प्रशासनसँग कुरा गर्नुछ । हेरौं, मेरो योजना कहिलेसम्म साकार हुन्छ ।”
मान्छे साह्रै निष्ठुरी र निर्दयी हुन्छ । अरुलाई रुवाएर आफू रमाइलो गर्ने र त्यसमै मज्जा ठान्दै जितको महसुस गर्ने मान्छेको स्वाभाव रैछ । आफ्नै बाबुआमा, दाजुभाइलाई समेत पराइसरह व्यवहार गर्ने मान्छे जनावारप्रति कति निर्दयी हुन्छ, त्यो भन्नै पर्दैन । यही क्रुरता हात्तीप्रति पनि रहेको क्याथलिनले देखिन् चितवनमा । त्यसले उनको मन थामिएन । उनले ‘सेङचुवरी’ को अवधारणा ल्याउने योजना कल्पिएकी छन् । ‘सेङचुवरी’ भनेको बुढेसकाल लागेका हात्तीलाई स्याहार सुसार गर्ने ठाउँ हो । “यो हात्तीका लागि सानो स्वर्ग हो,” उनले भनिन्, जुन म बनाउने सपना देखिरहेकी छु । सुनेको थाइल्यान्डमा यस्ता ‘सेङचुवरी’ धेरै छन् त्यसलाई कसरी नेपालमा पनि बनाउने भन्नेबारे अध्ययन गर्न म केही समयपछि त्यहाँ जाँदैछु ।”
चितवनमा सामान्य तथा भारतबाट जवान हात्ती किनेर ल्याएर बूढो हुन्जेल काममा लदाउने र काम गर्न नसक्ने भएपछि जहाँ मर्छ, त्यही गाड्ने चलन छ । क्याथलिन भने बूढो भइसकेका हात्तीलाई स्याहार गरेर थप आठ दश वर्ष बचाउन सकिन्छ कि भनेर ‘सेङचुवरी’ निर्माण अभियानमा जुटेकी हुन् ।
क्याथलिन भन्छिन्, “हात्ती मान्छे जस्तै जनावर हो । हाम्रो मनोरञ्जनका लागि जन्मिएको हुँदै होइन । उसलाई राम्रो गर्यो भने हामीलाई सहयोग गर्छ । हामीले नराम्रो व्यवहार गर्यौं भने रिसले छोडेर हिँड्दिन्छ ।” उनले आफ्नो सपना पूरा गर्न यहाँका मान्छेको मनैदेखिको सहयोग र सोचमा परिवर्तन आउनुपर्ने बताइन् ।
क्याथलिनले अन्तिममा भनिन्, “म बाह्रखरी आएर तपाईंलाई भेटेँ अब तपाईं चितवन आउनुस् हामी त्यहीँ भेट्नुपर्छ ।”
प्रकाशित मिति: आइतबार, असोज १६, २०७३ १३:१८
प्रतिक्रिया दिनुहोस्