क्याम्बोडियाका प्रधानमन्त्रीसँग वार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको फेसबुकबाट
काठमाडौं । अफ्रिकातिर राजनीतिक दाउपेचको एउटा अनौठो शैली छ । देशको कार्यकारी प्रमुख विदेश भ्रमणमा गएका बेलामा स्वदेशमा अनेक चलखेल गर्ने र पर्यो भने उसलाई अपदस्थ गरेर सत्ताको बागडोर नै आफ्नो हातमा लिइहाल्ने । सत्तारुढ दल नेकपामा भएका पछिल्ला कतिपय गतिविधिले अफ्रिकी उदाहरणलाई सम्झाएपनि यी गतिविधिले सत्ता परिवर्तनकै ल्याकत भने राख्ने अवस्था छैन । तथापि, नेपाली राजनीतिमा केही तरंग भने ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन गएको बेलामा स्वदेशमा भने उनी आफ्नै पार्टीका नेताहरुको घेराबन्दीमा पर्नुले अफ्रिकी प्रवृत्तिको झल्को दिएको हो । प्रधानमन्त्री ओलीले विदेशबाटै आफ्नो पार्टीभित्रको ‘चलखेल’ लाई प्रहारसमेत गरिसकेका छन् ।
उनले अमेरिकाबाटै भनेका छन् – ‘‘म नहुँदा कसैलाई छटपटी भयो देश डुब्न लाग्यो भन्ने लागेको होला । म फर्केर आउँदैछु । त्यो असन्तुष्टिका लागि असन्तुष्टिमात्रै हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि भन्ने हुँदैन ।”
प्रधानमन्त्री ओलीले असोज ११ गते संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा बोल्दा नेपालको संसद्को तीन चौथाइ समर्थन प्राप्त आफ्नो नेतृत्वमा बलियो सरकार भएको अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराएका थिए । तर, उनको पार्टीका तेस्रो वरीयतामा रहेका नेता माधवकुमार नेपाल र अन्य सांसदहरुले संघीय संसद्मा सरकार कहाँ छ ? भन्ने प्रश्न उठाएर प्रधानमन्त्रीको भनाइ सार्वजनिक हुनुअघि नै त्यसको खण्डन गरिसकेका थिए ।
अहिलेको जनअसन्तोषलाई हेर्दा नेता नेपाल र सांसदहरुले उठाएका कुरालाई नाजायज भन्ने अवस्था नरहे पनि समय अलि मिलेन कि भन्ने प्रश्न भने उठेको छ । त्यसको भोलिपल्ट पनि नयाँ बानेश्वरमा रहेको इन्द्रेणी फुडल्यान्डमा पार्टी स्थायी कमिटीका केही नेताहरुलाई बोलाएर पार्टी अध्यक्षहरुका गतिविधिप्रति नेता नेपालले असन्तोष व्यक्त गरेका थिए ।
ओली नजिकका नेम्वाङ्गको प्रश्न – नेपालको जबाफ
फुडल्यान्डमा भएको भेलामा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले नेता नेपाललाई सोधेका थिए – “तपाईँले संसद्मा ती कुराहरु आफैँले बोलेको हो ? हो भने ठीक भएन । यस्ता कुरा यहाँले पार्टीको सचिवालय बैठकमा राख्नुपथ्र्यो । सार्वजनिकरुपमा भन्नु हुँदैनथ्यो ।’’
संयोग कस्तो परेको थियो भने पार्टीका अध्यक्ष दुवैजना विदेश गएका बेलामा संसद्का गतिविधिमा संयोजन संसदीय दलको उपनेता नेम्वाङ्गले गर्नुपथ्र्याे । तर, काम विशेषले दुई दिनका लागि उनी पनि गृहजिल्ला इलाममा थिए ।
उनले आइतवार बाह्रखरीसँगको कुराकानीमा भने – ‘‘मैले सोध्दा उहाँले आफूले सरकारकै पक्षमा कुरा गरेको बताउनुभयो । उहाँ खुसी मूडमा हुनुहुन्थ्यो । मैले सरकार चाहीँ माझी जस्तो हुनुपर्छ भनेर भनेको हुँ । सुझाव पनि दिन नपाउने हुन्छ भनेर भन्नुभयो ।”
नेम्वाङ्गले आफू एकजना वरिष्ट नेताले चियापानका लागि बोलाएकोले सो बैठकमा गएको कुनै गुटको बैठकमा नगएको बताए । प्रधानमन्त्री विदेश भ्रमणमा गएको बेलामा पार्टीभित्रै यस्ता गतिविधि हुनु उपयुक्त हो कि होइन भन्ने प्रश्नमा नेम्वाङ्गको भनाइ थियो – ‘‘यसबारेमा म सार्वजनिकरुपमा बोल्न चाहन्न । पछि पार्टीको स्थायी कमिटी बैठकमा कुरा राख्छु ।’’
अन्तर्राष्ट्रिय जगत्मा राम्रै
स्वदेशमा उनीविरुद्ध जे जस्ता गतिविधि भए पनि प्रधानमन्त्रीको विदेश भ्रमण भने कतिपय दृष्टिकोणले सकारात्मक नै देखिएको थियो । महासभामा गएको बेलामा अमेरिकी राष्ट्रपतिसँग फोटो खिचाउने कुरा त्यति अनौठो मानिँदैन तर, विश्व रंगमञ्चमा प्रभावशाली मानिने बेलायतका प्रधानमन्त्री, क्यानडाका प्रधानमन्त्री, स्वीजरल्यान्डका राष्ट्रपतिदेखि, इजरायलका प्रधानमन्त्रीसँग यसपालि धेरैपछि नेपालका सरकार प्रमुखलाई दुईपक्षीय वार्ता गर्ने अवसर जुटेको छ । विगतमा चीन वा भारतका सरकार प्रमुखसँग मात्रै प्रायः यस्ता भेटघाट हुने गरेको थियो । भलै यसपालि ती दुवै देशका सरकार वा राष्ट्र प्रमुख महासभामा भाग लिन गएका थिएनन् । उनले महासभामा गरेको प्रस्तुति पनि केही शाब्दिक गडबडी जस्तो वेदरलाई वाटर , साउण्डलाई सेकेन्ड भन्ने बाहेक ‘बोल्ड’ देखिन्थ्यो ।
यसरी विदेश भ्रमणमा गएको देशको प्रतिनिधिमण्डलको नेतालाई जे जस्तै भएपनि विदेशमा हुन्जेल उसको मनोबल घटाउने गरी स्वदेशमा गतिविधि गर्नुलाई राम्रो मानिँदैन । यसरी मनोबल गिराउँदा उसले दुईपक्षीय रुपमा गर्ने वार्तामा पनि असर पर्न सक्ने मानिन्छ ।
तर, नेपालका हकमा भने पछिल्ला दिनमा यसप्रकारका गतिविधि जानेर वा नजानेर दोहोरिन थालेका छन् । यसअघि प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएका बेलामा पुष्पकमल दाहालले पनि यस्तै घटना बेहोरेका थिए । त्यसैले ओलीको प्रसंगमा यो दोस्रो संस्करण हो ।
पहिलो संस्करण
सन् २०१६को सेप्टेम्बर १५ देखि १८ सम्म तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी भारतको भ्रमणमा थिए । उनले भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए । त्यही दिन साँझ त्यताको गतिविधिलाई छायाँमा पार्ने गरी अनौठो गतिविधि नेपालमा भयो । साँझ ८ बजेतिर अचानक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तथा सहसचिव गणेशराज कार्कीले पत्रकार सम्मेलन गरेर भने – “लडाकुको शिविरमा भएको अनियमितताका बारेमा अख्तियारले छानबिन थालेको छ ।”
छानबिन हुनु राम्रो कुरा भएपनि जुन समयमा त्यसको घोषणा गरियो त्यसलाई अनौठो मानिएको थियो । छिमेकको भ्रमणमा गएको मुलुकको प्रधानमन्त्रीको तेजोबध गर्ने गरी एउटा संवैधानिक निकायले त्यसो गरेकोले त्यसलाई अनौठो मानिएको हो । तत्कालीन प्रधानमन्त्री दाहाल भारत भ्रमणबाट फर्केपछि अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की समक्ष असन्तोष समेत व्यक्त गरेका थिए ।
अफ्रिकी शैली
अफ्रिकी मुलुकहरुमा भने यसखालका घटनाको शृंखलावद्ध उदाहरण भेट्न सकिन्छ । त्यहाँ त विदेश गएका बेलामा ‘कु’ नै गरेर नेतृत्वलाई अपदस्थ गर्ने गरिएका उदाहरण छन् । सभ्य समाजमा राष्ट्रको रणनीतिक हिसाबले पनि आफ्नो देशको प्रतिनिधित्व गर्दै कुनै नेता विदेश गएको बेलामा उसको नाममा स्वदेशमा तनावको वातावरण सिर्जना गरिँदैन । तर, अफ्रिकामा गाली गलौज गर्ने मात्रै होइन, पदबाट ‘कु’ नै गर्ने चलनको लामो शृंखला छ ।
बुरुण्डीका राष्ट्रपति पियर निकुरुन्जिजा विदेश भ्रमणमा गएको बेलामा ‘कु’ को प्रयास गरिएका पछिल्ला नेता हुन् । सन् २०१५ मा उनको विमानलाई तान्जानियामा ‘फोर्स रिटर्न’ को प्रयास गरिएको थियो । उनी त्यहाँ क्षेत्रीय शिखर सम्मेलनमा भाग लिन गएका थिए । उनको विमानलाई बुरुण्डीको विमानस्थलमा ओर्लन दिन इन्कार गरिएको थियो । पछि ‘कु’ असफल भयो । उनी अहिले पनि (२००५ देखि २०२० सम्मका लागि) लगातार राष्ट्रपति छन् ।
नाइजेरियामा सन् १९६६ मा राष्ट्रपति नाम्दी अजीकिवे त्यहाँको पहिलो राष्ट्रपतिका रुपमा सन् १९६३ देखि १९६६ सम्म काम गरेका थिए । अजीकिवे र उनको सहयोगी दललाई सैनिक अफिसर कादुना नोगुवु नेतृत्वको टोलीले सन् १९६६मा ‘कु’ गर्यो । उनी निकै महत्त्वपूर्ण नेता मानिन्छन् । ‘कु’ पछि उनको हत्याको प्रयास भए पनि उनी जोगिएका थिए ।
घानामा १९६६ मा राष्ट्रपति क्वामे निक्रुमाहलाई शक्तिबाट हटाइएको थियो । उनलाई सैनिक अधिकारीको एक समूहले फेब्रुअरी १९६६ मा हटाएको हो । उनी त्यतिबेला अफ्रिकाको औपचारिक भ्रमणमा थिए । ‘कु’ पछि उनले गुयनामा शरण लिए । उनले जीवनको बाँकी समय त्यहीँ बिताए । क्यान्सरबाट सन् १९७२ मा बुखारेष्टमा उनको मृत्यु भएको थियो ।
घानामै सन् १९७२ मा आर्मी कमान्डर आइके अचेम्पोङ्को नेतृत्वमा सन् १९७२ को जनवरीमा शक्ति लिइयो । त्यतिबेला प्रधानमन्त्री कोफी बुसिया लन्डनमा औषधोपचारका क्रममा थिए ।
लिबियामा सन् १९६९ मा त्यहाँको सेनाको एउटा समूह फ्री अफिसर मुभमेन्टले राजा इद्रिसलाई हटायो । विद्रोहको नेतृत्व कर्णेल मोहम्मद गद्दाफीले गरेका थिए । राजा इद्रिसलाई पदबाट हटाएको घोषणा गरिएको बेला उनी टर्कीमा स्वास्थ्य उपचार गराउँदै थिए । त्यही बेला लिबियाको राजतन्त्र फालिएको थियो ।
युगान्डामा सन् १९७१ मा राष्ट्रपति मिल्टन अबोटेलाई सैनिक ‘कु’ मार्फत् हटाइयो । उनले युगान्डालाई सन् १९६२ मा ब्रिटेनबाट स्वतन्त्र गराएका थिए । जनरल इदी अमिनले त्यो ‘कु’ को नेतृत्व गरेका थिए । ओबेटे त्यतिबेला सिंगापुरमा भएको कमनवेल्थ हेड्स अफ स्टेटको शिखर सम्मेलनमा भाग लिइरहेका थिए ।
गाम्बियामा पूर्व राजनीतिज्ञ कुकोइ साम्बा सन्याङ्ले सन् १९८१मा ‘कु’ गरेका थिए । त्यतिबेला प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित राष्ट्रपति ददा जवारा नेतृत्वको सरकार थियो । जवारा बेलायतमा राजकुमार चाल्र्सको विवाह समारोहमा गएका बेलामा ‘कु’ मा परेका थिए । यद्यपि त्यो ‘कु’ को प्रयास सेनेगलका सैनिकले विद्रोहीलाई हराएपछि विफल भएको थियो । जवारा सन् १९९४ सम्म शक्तिमा रहे । पछि लिउटको नेतृत्वको सेनाले उनलाई शक्तिबाट हटाएको थियो ।
सुडानमा सन् १९८५ मा राष्ट्रपति गफर एन निमेरी रक्तविहीन ‘कु’ मार्फत अपदस्थ गरिए । उनी त्यतिबेला अमेरिकाको औपचारिक भ्रमणमा थिए । त्यसपछि उनी इजिप्टमा निर्वासनमा बसेका थिए । निमेरी सन् १९९९मा सुडान फर्किएका थिए । एक वर्षपछि भएको राष्ट्रपतीय निर्वाचनमा भाग लिएपनि उनी त्यसमा हारे ।
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मार्च २००३ मा एउटा ‘कु’ भएको थियो । जसमा जनरल फ्रान्कोइज बोजी र उनको फोर्सले राजधानी बान्गुईमा मार्च गरेको थियो । त्यतिबेला राष्ट्रपति एन्जे फेलिक्स पटासे नाइजरको एउटा क्षेत्रीय सम्मेलनमा सामेल थिए ।
माउरितानियामा सन् २००५ मा सेनाले त्यहाँका राष्ट्रपति माओयुवा आउल्ड सिदी अहमद ताया साउदी राजा फाद बिन अब्दुलाजीज्को अन्त्येष्टिमा भाग लिन गएका बेला उनीविरुद्ध ‘कु’ भयो । गाम्बियामा २०१४मा पूर्व सैनिक अधिकारीले त्यहाँका राष्ट्रपति याहया जमेह विरुद्ध ‘कु’ गरे । जतिबेला उनी विदेशमा थिए । विद्रोहीहरुले आफ्नो नियन्त्रण कायम राख्न नसकेपछि ‘कु’ निस्तेज भएको थियो ।
नेपालमा त्यो तहको ‘कु’ कै सम्भावना त होइन । तर, शक्तिशाली सत्तारुढ दलका नेताहरुबीच खिचातानी बढेको छ । त्यसले त्यसपार्टीलाई लोकतान्त्रिक ढंगले अघि बढ्न र देश तथा जनताको पक्षमा काम गर्न उत्प्रेरित गर्ने हो भने त राम्रै हुन्छ तर दुई हात्तीको लडाइँमा घाँस माडिने अवस्थामात्रै भयो र जनता झन् मारमा परे भने त्यो झन् खतरनाक हुनेछ ।
प्रधानमन्त्रीको अर्थपूर्ण भेट
आफ्नै पार्टीका नेताहरुले असन्तोष जनाएको कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले न्युयोर्कमा एक जना त्यस्ता नेतालाई भेटेका छन् जसले धेरैलाई झसँगसमेत पारेको छ । ती नेता ‘कु’ बाट सत्तामा पुगेका क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन हुन् ।
क्याम्बोडियन पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका उनी सन् १९८५ देखि क्याम्बोडियामा उनी निरन्तर प्रधानमन्त्री छन् र उनलाई विश्वकै सबैभन्दा लामो समय प्रधानमन्त्री हुने व्यक्तिका रुपमा समेत लिइन्छ । हुन सेनसँग ओलीको भेटघाट गएको शुक्रबार भएको थियो । उतिबेला सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने व्यक्तिका रुपमा पनि हुन सेन चर्चित थिए । ३२ वर्षको उमेरमा नै उनी प्रधानमन्त्री भएका हुन् ।
आफ्ना विपक्षीहरुलाई ध्वस्तै पार्ने गुण भएका व्यक्तिको रुपमा समेत उनलाई चिनिन्छ । तत्कालीन प्रजातान्त्रिक कम्पुचियामा खमेरुज आन्दोलनका क्रममा बटालियन कमान्डरका रुपमा उनले काम गरेका थिए । उनीमाथि भियतनामको उक्साहटमा लागेर कम्पुचियामा आक्रमण गरेको आरोप छ । खमेरुज पराजित भएपछि भियतनामको सहयोगमा बनेको सरकारमा उनी परराष्ट्रमन्त्री बनाइए १९७९ मा । सञ्चार माध्यमको र विपक्षीमाथिको नियन्त्रणको आरोप उनी खेपिरहेका छन् ।
हुन सेन आउँदो नोभेम्बर वा डिसेम्बर महिनामा नेपाल भ्रमणमा आएर बुद्ध जन्मभूमि लुम्बिनी जान पनि इच्छुक पाइएको जनाइएको छ । भ्रमणको तयारीका लागि दुवै प्रधानमन्त्रीले आ–आफ्ना परराष्ट्रमन्त्रीलाई निर्देशन दिएको पनि अधिकारीहरुले जनाएका छन् ।
नेपालमा विपक्षीले ओलीमाथि लगाइरहेको आरोप पनि कतिपय हुन सेनलाई त्यहाँ लगाइएका जस्तै छन् । तथापि, नेपालमा विपक्षीले ओलीमाथि लगाइरहेको आरोप पनि कतिपय मिल्छन् । त्यसैले, नेपालमा १४ वर्ष लोकतन्त्रका लागि जेल बसेका प्रधानमन्त्री ओलीले हुन सेन शैली भने नसिकून् । अहिलेलाई यही कामना !