site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
आयोजकले दर्शक भएर कहिल्यै सोचेनन् !

प्रथम दृश्य : 
कार्यक्रम स्थलमा पुग्नुपर्ने ९ बजे नै थियो । खबर त्यही आएको थियो । त्यसैले समयमै पुग्नेगरी यात्रा थालियो । यात्रा थाल्दा समयमा पुगिँदैन कि भन्ने त्रास रहन्छ । काठमाडौंको ट्राफिक जामले सिर्जना गरेको हो यो त्रास । झनै कार्यालय समयमा जामले ठीक समयमा कसैलाई कार्यालय पुग्न दिँदैन । त्यस दिन शनिबार परेकोले अरुदिन जस्तो जामले वाक्कदिक्क भने लगाएन ।

नेपान संस्थाको वार्षिक कार्यक्रम थियो । नयाँ बानेश्वर शंखमुल बागमती छेउको एउटा ब्यांक्वेटमा कार्यक्रम हुँदै थियो । समयमै त कार्यक्रम के सुरु होला र ? यसले केही बेर बानेश्वरतिरै अड्कायो । शनिबार, साथीभाइले केही समय थुते । 

समय धेरै नाघ्न पनि भएन । कार्यक्रम सकिएर पुग्दा कार्यक्रममा गएको अर्थ हुन्थेन । त्यसपछि हतारो लाग्यो । पाइला दह्रो चालेँ ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

कार्यक्रम स्थलमा पुग्दा पौने १० बजिसकेको थिएन । कार्यक्रमका लागि तोकिएको आधाघन्टाभन्दा पनि अबेला पुग्दै थिएँ । त्यसैले ढिलो भयो भन्ने त्रास पनि मनमा थियो ।

कार्यक्रम स्थलमा प्रवेश गर्दा आश्चर्यचकित भएँ । कार्यक्रमका अतिथिहरुलाई अग्रभागमा आसन ग्रहणको कार्यक्रम सुरु गर्ने तरखर भरखर हुँदैथियो । नेपानका अध्यक्ष मेरा मित्र चेतनाथ कँडेल केही कोर्दैथिए कागजमा । मैले उनलाई कार्यक्रममा उपस्थित भएको जनाउ दिएँ । अनि एउटा कुर्सी समाएँ ।

कार्यक्रम सञ्चालन गर्ने जिम्मवारी लिएका फटिकबहादुर थापाले अध्यक्ष कँडेलजीलाई अग्रासनमा बोलाए । यसरी एक दुई गर्दै दस बाह्र जना अग्रभागमा उक्लिए । अग्रभागमा उक्लने जति अधिकांश नेपानका पूर्व अध्यक्ष थिए ।

कार्यक्रमका प्रमुख अतिथिको आगमन भने भइसकेको थिएन । उनी बाटैमा कतै थिए । जाममा थिए वा अरु कुनै काममा थिए । तर, बारम्बार उदघोषकले प्रमुख अतिथि आइपुग्नु भएपछि उहाँलाई आसन ग्रहण गराउने वाचा दोहो¥याई रहे ।
प्रमुख अतिथि को थिए मैले ठम्याउन सकिरहेको थिइन । पछि नाम सुने कोही पौडेल थरका रहेछन् । 

आसन ग्रहण गराएपछि अब त उद्घोषकले कार्यक्रम सुरु गर्लान् भन्ने लाग्यो । तर, सुरु भयो उपस्थितहरुको परिचय कार्यक्रम । मञ्चासीनहरुले आआफ्नो परिचय दिन प्रारम्भ गरे । केहीले परिचय दिने क्रममा आफू नेपानको पूर्व अध्यक्ष र आजीवन सदस्य भएको बताए । आश्चर्य, तिनले पूर्व अध्यक्ष र आजीवन सदस्यको सम्मान आफूलाई भालुको कन्पटझैँ भएझै गरे । लाग्यो, उनीहरु आफ्नो मनको तीतो पोख्न त्यहाँ उपस्थित भएका हुन् । 

त्यो दिन नेपानको २४औं साधारण सभा थियो । पहिलो चरणमा उद्घाटन र दोस्रो चरणमा बन्द सत्र हुने कार्यतालिकामा उल्लेख थियो । हामी उद्घाटनका लागि मात्रै गएका थियौँ । उदघाटन सत्रपछि मात्रै बन्द सत्र हुन्थ्यो । ती आजीवन सदस्य, पूर्व अध्यक्ष र साधारण सदस्यहरुले आफ्नो मनको पीडा वा भनाइ वा भँडास, जे पोखे पनि बन्द सत्रमै पोख्दा बेस हुन्थ्यो । तर, उद्घाटन कार्यक्रममै त्यस्ता भँडास बाहिरिएपछि आश्चर्य लाग्नु स्वाभाविकै थियो ।  

ती पूर्व अध्यक्षलगायतका व्यक्ति एनजीओ आईएनजीओमा राम्रै पदमा काम गरिरहेका वा गरिसकेका भएको तिनले दिएको परिचयबाट थाहा लाग्यो । तिनको परिचय सुनेर झनै पीडा भयो । यसरी उद्घाटन समारोहमा तिनले मनको भँडास पोख्नुले सन्देश पक्कै राम्रो दिएको थिएन । तिनले अलिकति समय पनि पर्खन सकेनन् । उदघाटन समारोहभन्दा बन्द सत्र यस कार्यका लागि उपयुक्त हुन्छ भन्ने पनि तिनले बुझ्न सकेनन् !

त्यो दिन निक्कै बेरपछि मात्रै प्रमुख अतिथि कार्यक्रममा आइपुगे । अनिमात्रै मूल कार्यक्रम सुरु भयो । त्यहाँ उपस्थित सबैको समयको नाश भएको प्रमुख अतिथिले सायद महसुस नै गरेनन् ।   

दृश्य दुई :

सोही कार्यक्रममा म सम्झिरहेको थिएँ, चार वर्ष अघिको एउटा दिन । सुशील कोइराला प्रधानमन्त्री थिए । महोत्तरी परिवारको कार्यक्रम थियो बानेश्वरमा नै । महोत्तरीकै रामकुमारप्रसाद शाह प्रधान न्यायाधीशमा नियुक्त भएका थिए । परिवारले उनैलाई सम्मान गर्दैथियो । प्रमुख अतिथिकारुपमा सुशील कोइराला आमन्त्रित थिए ।

बिहान १० बजे कार्यक्रम सुरु गर्ने भनिएको थियो । प्रधानमन्त्री सबा १० सम्म आइपुग्ने खबर थियो । त्यसै अनुरुप काम हुँदैथियो । बोलाइएका पाहुनाहरु पनि आउँदै थिए । प्रधानमन्त्री ढिलै आउँछन् भनेर सबै अबेला गर्दैथिए ।  प्रधान न्यायाधीश र अन्य अतिथिको आगमन हुँदै थियो । तर पौने १० नबज्दै प्रधानमन्त्री सुशील कोइराला कार्यक्रम स्थलमा आइपुगे । हामी आयोजकहरुलाई के गरुँगरुँ भयो ।

खैर, कार्यक्रम समयभन्दा अगाडिनै सुरु भयो । पाहुनाहरु आउँदै थिए । प्रधानमन्त्रीले तत्कालीन प्रधान न्यायाधीशलाई सम्मान गरे । प्रमुख अतिथिको मन्तव्य दिए । अनि फर्किए । त्यो कार्यक्रममा प्रधानमन्त्रीलाई आधाघन्टासम्म पर्खने मनःस्थितिमा आयोजकहरु थिए । कारण, संविधान सभाबाट संविधान निर्माणको क्रम तीव्रतररुपमा चलिरहेको थियो । त्यसैले आयोजकहरु यो मनःस्थितिमा रहनु अस्वाभाविक थिएन । तर, प्रमुख अतिथिले सबैलाई जिल्याए । 

कतिपय कार्यक्रममा प्रमुख अतिथिले अबेला आइदिएर उपस्थित पाहुनाहरुलाई जिल्याउँदै आएका छन् । यस्तो धेरै कार्यक्रमहरुमा भएको देखिएको छ । यद्यपि, ढिलो आउँदा पनि प्रमुख अतिथिको भूमिका काँधमा लिएका व्यक्तिको अनुहारमा ग्लानिका रेखा रतीभर देखिँदैन । 

पक्कै पनि, कार्यक्रममा मुख्य पाहुना चाँडै आउँदा आयोजक अलमलिन्छन् । उता उपस्थित सहभागीहरुले आफूलाई सहज महसुस गर्छन् । तर, आमन्त्रित पाहुनाहरुको भिड उर्लिँदा पनि प्रमखु अतिथिको आगमन नहुँदा भने उपस्थित सबैले आफ्नो अमूल्य समय बर्बाद भइरहेको महसुस गरेका हुन्छन् । भलै यस विषयमा नबोलुन् । यता आयोजकहरुको ध्यान भने यसमा कहिले पनि गएको पाइँदैन । 

प्रमुख अतिथिको आगमनकै कारण कार्यक्रम ढिलो हुनु वा प्रमुख अतिथिलाई कुर्ने बहानामा समय बिताउन अनेक खेल खेलिनुले उपस्थित सहभागीलाई कहिल्यै सहज बनाउँँदैन । बरु कार्यक्रम समयमा नै सुरु गरिदिएर समय नाघेर आउने प्रमुख अतिथिलाई पछि नै आसन ग्रहण गराउने चलन चलाउने हो भने कार्यक्रममा उपस्थितहरुले आयोजकको प्रशंसा नै गर्छन् । गाली गर्दैनन् । गाली गरेपनि प्रमुख अतिथिले गर्लान्, मलाई कुरेनन् भनेर । 

कुनै पनि आयोजकले कार्यक्रमलाई महत्त्व दिनुपर्छ । प्रमुख अतिथिलाई होइन । प्रमुख अतिथिबिना पनि कार्यक्रम राम्ररी चल्न सक्छ भन्ने उदाहरण आयोजकले दिन सक्नुपर्छ । 

एउटा अर्को प्रसंग जोड्न मनलाग्यो । दुई वर्षअघि महाकाल तीनचुलीमा कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले एउटा कार्यक्रमको आयोजना गरेको थियो । त्यो दिन करिब पचासभन्दा बढी व्यक्तिलाई सम्मान गर्दैथियो आयोजक समूहले । यसरी धेरै व्यक्तिलाई एकैपटक सम्मान गर्दा मञ्चमा नबोलाउँदा पनि हुन्थ्यो । किनभने मञ्चमा बोलाउने समयमा आधा कार्यक्रम सम्पन्न भइसक्थ्यो । तर, आयोजकले यतातिर सोच्दै सोचेनन् । उद्घोषकले नाम लिए जति मञ्चमा उक्लिँदै गए । डर लाग्यो, मञ्चाभिमुख कोही नहुने भए । हुन पनि दर्शक दीर्घामा कमै मानिस रहे ।

कार्यक्रम गर्ने भन्दैमा जथाभावी कार्यक्रम गर्ने प्रचलनले पनि यस्ता अप्ठ्याराहरु सिर्जना हुन्छन् । मञ्चको कार्यक्रम सानो गरिदिने हो भने दर्शकदीर्घामा रहेकाहरुले असहज महसुस गर्न पाउँदैनन् । तथापि कार्यक्रम लम्याउने आयोजक संस्था धेरै देखिएका छन् । भ्याएजति अतिथिलाई कोचाकोच गरेर मञ्चमा बोलाउने परम्पराले कार्यक्रमको साख नै खस्कँदै गएको तर्फ नसोचिनु लाई विडम्बना नै भन्नु पर्छ ।

कहिले काँही मञ्चमा कोही हुँदैनन् । तर, कार्यक्रमका उदघोषक नै यति सर्वेसर्वा भइदिन्छन् लाग्छ तिनले आफ्नोबाहेक अरुका कुरा सुन्ने गरेकै छैनन् । भरखर साइकल मोटरसाइकल सिकेका सिकारुले जथाभावी सवारी कुदाएसरी तिनले आफ्नो मनमा लागेका सबै थोक ओकल्ने ठाउँ त्यही माइक देख्छन् । 

धेरैअगाडिको कुरो होइन । महिना दिनअघि वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको संयुक्त लेखनीमा प्रकाशित ‘नेपालका मन्त्री र सांसदहरु’को लोकार्पण हुँदैथियो । नेपाली चलन भन्दै तोकिएको समयभन्दा केही समय थप भयो नै । त्यसपछि उदघोषकले बोल्न थाले । ती उदघोषकले यति धेरै बोले, मेरा छेउछाउमा बसेका सबैले ‘हैत्तेरिका, कति लामो बोलेको होला’ सम्म भन्न भ्याए । यसरी दर्शकदीर्घामा दिक्क मान्दै भनिएको ‘हैत्तेरिका’ ती उदघोषकको कानसम्म पुग्न सकेको थिएन । उनी बोलीरहेकै थिए ।

उक्त कार्यक्रम तुलनात्मकरुपमा अन्य कार्यक्रमभन्दा अवधिमा छोटो थियो । पाहुनाहरुका मन्तव्य पनि छोटा थिए । विमोचन कार्य पनि सानो समयमा नै सकियो । हुनसक्छ उद्घोषकबाट दिक्क भएकै कारण अरु पाहुनाले छोटो बोलेका हुन् । तर, उद्घोषकले बुझ्नै सकेनन् । 

अचेल मानिससँग समय कम छ । धेरैतिर पुग्नुपर्ने बाध्यता सबैलाई छ । कार्यक्रममा नजाँदा पनि आयोजक रिसाउने जाँदा कार्यक्रमको समयले सबैतिर असर पु¥याउने । कति त पुगेको केहीबेरमै पनि निस्किने गरेको पाइन्छ ।

आयोजकले कार्यक्रमको समयलाई अलिकति ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने हो भने र निश्चित समयमा कार्यक्रम सकिने जानकारी गराउने हो भने कार्यक्रम अवधिभर पाहुना बस्न सक्छन् । हैन, आयोजकले जबरजस्ती नै गर्ने सोच राखेर कार्यक्रम सञ्चालन गर्ने हो भने त्यसले टीकाटिप्पणीमात्रै बढाउँछ । अरु केही दिन सक्तैन ।

एउटा अर्को प्रसंग । हरेक महिना आयोजना हुने ‘सिर्जना संवाद’ कार्यक्रम बस्नुपर्ने, समय दिनुपर्ने कार्यक्रम हो । यस कार्यक्रममा नयाँ प्रकाशित पुस्तक माथि अन्तक्र्रिया गरिन्छ । पुस्तकका कमि कमजोरीलाई केलाइन्छ । छलफल हुन्छ । बस्, यसको एउटै मात्रै कमजोरी हो, दिउँसो २ बजे सुरु भएको कार्यक्रम कहिले काहीँ सकिँदा ६ पनि बज्छ ।

निश्चयपनि कार्यक्रमलाई छोटो र छरितो बनाउने हो भने महिनाको पहिलो साता एउटा उपलब्धिपूर्ण कार्यक्रम भएको मान्न सकिन्छ । तर, यसको समय घट्दो क्रममा झरेको देखिँदैन । झन्झन् उक्लँदो छ ।  सिर्जना संवाद कार्यक्रमका संयोजक प्रा.डा. सनतकुमार वस्तीको कार्यक्रम संचालन शैलीको प्रशंसा सबैले गर्छन् । त्यही कार्यक्रम एक सबा घन्टामा सक्याउनेतिर आयोजकहरुले सोचीदिए त्यसको प्रशंसा सबैले गर्ने थिए ।

हामी अहिले परिवर्तित समयको चर्चा गर्छौं । हरेकतिर नयाँ नयाँ प्रयोग भइरहेका छन् । लेखनदेखि कार्यसम्पादनसम्ममा प्रयोगधर्मी सोच बढ्दै गएको छ । नयाँ र नौलो तरिकाबाट केही गरौँ भन्ने मानसिकतामा सबै सक्रिय छन् । तर, समय समयमा हुने विभिन्न कार्यक्रमहरुमा आयोजक संस्था वा व्यक्तिले कार्यक्रमको समयलाई ध्यान दिन चाहिरहेको देखिँदैन । कतैकतै कहिले काँही यस्ता नयाँ सोच र अवधारणाका साथ कार्यक्रम सम्पन्न भएका होलान् । तथापि, अधिकांशतः कार्यक्रमलाई लम्याउने काममा नै आयोजक संस्था सक्रिय रहेको देखिन्छ । 

यहाँ त केही कार्यक्रमका चर्चामात्रै गरिएको हो । यस्ता धेरै संघसंस्था छन्, जस्ले कार्यक्रमका नाममा दुई चार घन्टा थन्क्याएरै राखिदिन्छन् । सुन्दा तीतो लाग्न सक्छ तर यथार्थ हो । कार्यक्रमका आयोजकहरुले आफूलाई दर्शक दीर्घामा राखेर कहिले पनि कार्यक्रम गरेनन् । जहिले पनि उपस्थित सहभागीलाई कार्यक्रमका नाममा सकस दिने काममात्रै भयो । कतिपय कार्यक्रम त सकसपूर्ण मात्रै होइन् यातनै जस्तो पनि भइदिएको छ । के एउटा कार्यक्रममा गएको सहभागी वा दर्शकले त्यही चाहन्छ त ? अवश्य पनि चाँहदैन ।

कुनै पनि कार्यक्रमलाई छोटो छरितो र मीठो बनाउनुपर्छ भन्नेतर्फ आयोजक संस्थाहरुले अब सोच्नुपर्छ । आयोजकले पनि अब कार्यक्रम सञ्चालन गर्दा दर्शक भएर सोच्नुपर्छ । अनिमात्रै कार्यक्रम राम्रो र सफल हुन सक्छ । अन्यथा कार्यक्रम सकिए छि टीकाटिप्पणी गर्ने क्रममा कमी आउँदैन ।   

   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०७५  १४:३२
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro