आज उत्तम सञ्जेलको बिहे ! यो बिहेको निमन्त्रणा फोनमा आएको थियो, सञ्जेल आफैंबाट । आज बिहान पनि फोन आयो, सम्झाउन । साधारणतया सादा पोशाक मन पराउने मैले आज अलि झिल्के सर्ट लगाएँ । बिहे त आखिर बिहे हो ! उनले पहिल्यै भनेका थिए, केवल १० मिनेटमा बिहे सिध्याउने हो, सोमबार ११ बजे गुह्येश्वरी आइदिनुहोला ।
त्यस्तो १० मिनेटमा सिध्याउने भनिएको बिहे, समयमै पुगौं जस्तो लागेको थियो । तर, पुग्दापुग्दै करिब २० मिनेट ढिला भैसकेको थियो । गुह्येश्वरीको ढोकामा उभिइरहेको अग्लो मानिसको छायाँ टाढैबाट चिनियो । मैलेमात्र हो र, उनलाई नेपालका करिब सबै जनताले चिन्छन्, हरिवंश आचार्य । मन्दिरको बाहिरै फूल पसलनिर यसो हेरेको मदनकृष्ण श्रेष्ठ पनि सानो फलामको स्टुलमा बसिरहेका रहेछन् । हरि दाइ र मदन दाइसँग हात मिलाएर कृतज्ञ भइयो ।
गजुरियल डटकम चलाउने ट्रम्प, मोदी र नेपालका सबै नेताका नक्कली स्वरुप मनोज गजुरेल र उनका दाजु केशव पनि सँगै थिए । त्यहीँ थिए नागरिकका सम्पादक गुणराज लुईंटेल र रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरे । दुलहा कता छन् भनेको तयारी गर्न मन्दिरको सिँढी चढेर माथी गएका छन् भन्ने थाहा भयो । बिहे खान आउनेजस्तो पहिरन, सुट र लामो ह्याट लगाएका एक विदेशी देखिए, उनले आफूलाई जोन भनेर चिनाए ।
जोन नेपाली बोल्न सक्दा रहेछन् । उनी नेपालमा बसेको पनि २५ वर्षभन्दा बढी भैसकेको रहेछ । उनी अलि चित्त दुखाएका जस्ता देखिन्थे, अलि रातो–रातो अनुहार बनाएर बसेका थिए । मनोजले भने, ‘यी विदेशी नेपाललाई साह्रै माया गर्छन् तर मन्दिरमा ‘हिन्दूहरूका लागि मात्र प्रवेश’ लेखेको कुराले सधैं यस्तो अवसरमा उनको मन कँुडिदो रहेछ । नमिठो अनुहार बनाएर त्यसै उभिरहेका करिब ६ दशक पुगेका यी व्यक्ति बिहे सुरु हुन लाग्यो भनेपछि हामीभन्दा विपरीत दिशातिर लागे ।
हामी गुह्येश्वरीको उकालो चढ्यौं, उनी बाग्मतीको पुलतिर सोझिए । हामी देशमा वा विदेशमा कुनैपनि धर्मको आस्था केन्द्र वा भनौं मन्दिरमा जान्छौं र तिनको आस्थाको सम्मान गर्छौ, गर्न पाउँछौं । हाम्रो मन्दिरमा भने अरु आस्थाका व्यक्तिलाई हाम्रो भगवान समक्ष माथा टेक्न जान किन नदिएको हो, मलाई थाहा छैन । कोही भगवानसँग सिधै वार्ता गर्ने मान्छे भए यसो सोध्नु हुन्थ्यो ।
अँ, बिर्सेंछु, दुलहाको रुपको वर्णन गर्न । धेरै कम सर्टमा र अत्यन्त कम कोटमा पनि देखिने दुलहा राजा त समता लेखिएको रातो टिसर्टमा पो देखिए, सबै पाहुनालाई जोर हात उठाउँदै । कति साधारण, कति सहज ।
गुह्येश्वरीको मन्दिरमा निकै कलिला उमेरका केही दुलहा–दुलहीको जोडी देखिए । मनोजले सोधे, “बाल विवाह हो कि क्या हो?” मैले भनेँ, “हाम्रो उमेरका लागि बाल विवाह ।” उनले थपे, “ए, तिनका लागि चाहिँ बबाल विवाह ?”
उत्तमकी बेहुली कला अधिकारी साधारण श्रंंगारमा एउटा प्लास्टिकको कुर्सीमा बसेकी रहिछन् । सँगै गएर बसे उत्तम । दुलहा–दुलहीको उमेरमा एक दशक जतिको फरक देखियो, तर सामीप्यमा कुनै दूरी देखिएन । दुलहाले समाज सेवा गर्न रुचाउने, दुलहीले त्यसमा समर्थन गर्ने । आदर्श जोडी, आदर्श बिहे ।
उद्योगपति उपेन्द्र महतो हतार–हतार गर्दै आइपुगे । महतो आउनेबित्तिकै बिहेको प्रक्रिया शुरु भयो । उत्तमले बिहे कसरी भयो भन्ने विषयमा एकैछिन बोले । उनका अनुसार बिहेमा माला, सिन्दूर र पोते सबै गरेर केवल रु. तीन सय खर्च भयो । उनीहरूले यदि अलि मन फुकाएर खर्च गरेर बिहे गरेको भए कति लाग्थ्यो भन्ने हिसाब गरेका रहेछन् । सो खर्च समता अस्पतालमा आउने बिरामीलाई औषधि किन्नका लागि प्रयोग गर्ने विचार गरेछन् ।
समता अस्पतालमा आउने बिरामी केवल एक सय रुपैयाँ तिरेर डाक्टरलाई देखाउन पाउँछन्, तर औषधि खर्चको समस्या हुँदो रहेछ । त्यसैले यो जोडीले बिहे खर्च भनेर जोगाएको रकम गरिब बिरामीको औषधिमा प्रयोग गर्ने विचार गरेका रहेछन् । बिहे त एकै मिनेटमा सकियो । मदनकृष्ण श्रेष्ठले गुलाफको एक मोहक गुच्छा सबै जन्तीको तर्फबाट दुलहीलाई उपहार दिए ।
बिहेको भोज के त ? मह सञ्चारका तर्फबाट करिब २०–३० वटा चिनी नभएका मुंगका लड्डु आएको रहेछ । सबैले एक–एक वटा टिपे । अब जन्तीको काम सकिइसकेको थियो । पाहुनाहरू विस्तारै बिदा भए ।
उत्तम सञ्जेल विगत दुई दशकदेखि नेपालमा केवल एक सय रुपैयाँ फि लिएर विद्यार्थीलाई पढाइरहेका छन् । उनको समता स्कुल देशभर फैलिएको सबैभन्दा ठूलो स्कुलको चेन हो, जहाँ ४० हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । उनले बंगलादेश श्रीलंका तथा भारतमा पनि समता स्कुल खोलिसकेका छन् ।
उनले गत वर्षदेखि बिरामी जँचाउन पनि केवल रु. १०० तिरे पुग्ने अस्पताल बौद्धमा खोलेका छन् । उनको उत्तरोतर प्रगतिको कामना गर्दै गुणराजजी र सुवाससँगै यो ब्लगर पनि आफ्नो सवारीतिर हिँड्यो । राम्रो काम गर्ने उत्तम सञ्जेलको प्रशंसा गर्दै र कता–कता आफू सुविधाभोगी भइयो कि भन्ने दोषी महसुस गर्दै गुह्येश्वरी अगाडिको बाग्मती पुल तरियो ।