बितेको साढे चार दशकदेखि राजनीतिमा निरन्तर सक्रिय छन्, पशुपति शमशेर जबरा (७७), जो राणाकालिन अन्तिम प्रधानमन्त्री मोहन शमशेर जबराका नाती हुन् ।
मोहन शमशेर जंगबहादुर राणा श्री ३ हुनुपूर्व महाराजगंज स्थित लक्ष्मी निवासमा बस्दथे । त्यही लक्ष्मी निवास भित्रै पशुपति शमशेरको बाल्यकालको अधिकाँश समय बित्यो । पशुपति शमशेरका हजुरबुबा मोहन शमशेरको परिवार ठूलो थियो । पुरा परिवार त्यहीँ बस्दथे । त्यहीँ पशुपतिका ठूलो बुवाका छोराछोरी, उनको पिताजीका छोराछोरीहरु बस्दथे । पढ्थे । खेल्थे । रमाउँथे ।
केही दिन अघि यस पङतिकार र सहकर्मी सौरभसँग लक्ष्मी निवासकै उत्तरतर्फ अवस्थित उनको निवासमा आफ्ना पुराना कुरा सम्झँदै थिए पशुपति शमशेर जबरा, ‘त्यसबेला हामी स्कूल जाँदैनथ्यौं । हामीलाई पढाउन त्यहीँ शिक्षक झिकाइन्थ्यो । हाम्रो पठन पाठन त्यहीँ भित्र हुन्थ्यो । त्यहाँ हामी यति धेरै केटाकेटी थियौं कि एउटा सानो तिनो स्कुल नै चल्थ्यो ।’
बाल्यकालीन अवस्था सबैका लागि रमाइलो हुन्छ । उनको दिन पनि रमाइलो गरिनै बित्यो । आफ्ना हजुरबुबा मोहन शमशेर जबरा प्रधानमन्त्री भएर सिंहदरबारमा सरेको उनलाई झिनो सम्झना छ । उनी सम्झिन्छन् अतितको त्यो पल, ‘हामी केटाकेटी मात्रै सोह्र सत्र जना थियौं होला । फरक फरक उमेरका । म त एकदम सानो थिएँ । म सायद पाँच छ वर्षको हुँला ।’
लक्ष्मी निवासको त्यो ठूलो कम्पाउण्डमै सबै केटाकेटीको दिन बित्दथ्यो । खेल्ने ठाउँ प्रशस्त थियो । तबेला, गोठ र बगैंचा पनि थियो । सानैदेखि अनुशासित जीवन बिताएका पशुपति शमशेर आफूहरुलाई तीन वर्षको उमेरदेखि नै घोडा चढ्न सिकाएको सम्झिन्छन् ।
पशुपतिलगायत अरु केटाकेटीहरुको अधिकांश समय लक्ष्मी निवास परिसरमै बिते पनि कहिले काहीँ उनीहरु बाहिर पनि निस्कन्थे । यसरी बाहिर निस्केर मन्दिर जाने गरेको उनको सम्झनामा छ ।
बाहिर खासै सम्बन्ध हुन्थेन् । कहिले काँही बाहिरका केटाकेटीहरु पनि आउँथे । डा. सिद्धिमणि दीक्षितका छोरा हेमाङ्ग दीक्षितको नामनै लिए उनले । लक्ष्मी निवासमा आएर पढाउने शिक्षकहरुलाई पनि सम्झिन्छन् पशुपति । शिक्षकहरुमा ठाकुरनाथ, मित्रनाथ देवकोटा, शारदाप्रसादको नाम लिन्छन् उनी ।
उनी भन्छन्, ‘मलाई सबैभन्दा बढी छाप परेको ठाकुरनाथ सरबाटै हो ।’
त्यसबेला जो राम्ररी पढ्न चाहन्थ्यो तिनलाई राम्ररी नै पढाइन्थ्यो । घोकेर पढ्नुपर्दथ्यो । कतिपय च्याप्टर पशुपतिले पनि घोकेर सुनाएका छन् । उनले एक पटक नेपोलियनको जीवन कथाको एक पाना घोकेर सुुनाएका थिए, लक्ष्मी निवासमै हुँदा । यसले पनि देखाउँछ उनको रुची पढ्नमा थियो ।
आफूहरुले रमाइलो वातावरणमा पढेको सुनाउँदै उनले आफ्नो बसोबास रहेको अहिलेकोे यो क्षेत्र तत्कालिन अवस्थामा लक्ष्मी निवासको तबेला रहेको बताए । त्यहीँ नजिक गोठ पनि थियो । अनेक रुखहरुले सुशोभित सुन्दर बगैँचा पनि थियो ।
यसरी झण्डै २ सय ३० रोपनीको क्षेत्रफलमा पशुपति शमशेरको बाल्याबस्था बित्यो ।
पशुपति शमशेरका अनुसार उनका पिताजी जिवित रहेको भए उनी इन्जिनियर बन्ने थिए । उनको पिताजीको इच्छा उनलाई इन्जिनियर बनाउने थियो । त्यसैले पढाईका लागि राम्रो भन्दा राम्रो शिक्षकको व्यवस्था गरिएको थियो । कुशल शिक्षकहरुको सानिध्यमा उनले शिक्षादीक्षा पाएका थिए । उनी भन्दै थिए, ‘केटाकेटीलाई के बनाउने, के गर्ने भन्ने सबै हिसाब गरिन्थ्यो ।’
आफूहरुलाई नेपाली शिक्षकहरुले नै घरमा शिक्षा दिएको बताउने पशुपतिको विद्यालय शिक्षाको प्रारम्भ शिमलाको बोर्डिङ स्कूलबाट भयो । त्यसबेला उनको उमेर आठ नौ वर्षको हुँदो हो । उनी शिमलामा एक दुई कक्षामा भर्ना भएका थिए ।
उनका अनुसार २००७ सालको आन्दोलनभन्दा अघि नै उनी पढ्नका लागि शिमला गइसकेका थिए ।
वि.सं. २००७ साल पछि पशुपति शमशेरका पिताजी विजय शमशेर दिल्लीमा राजदूत भएर गए । त्यस पछि उनी शिमलाबाट दिल्ली आए । उनको पढाई दिल्लीकै एउटा स्कूलमा हुन थाल्यो ।
तर कलिलो उमेरमै उनले पिताजीको साथ गुमाउनु पर्यो । ०९/१० साल तिरै उनका पिताजीको निधन भयो । पिताजीका इच्छा आकाँक्षाका बारेमा यथेष्ट जानकारी राख्ने पशुपति पिताजीको निधन पछिको एक वर्ष बैंगलोरमा नै बसे । त्यहाँ रहँदा उनले ट्युशन पढेर नै आफ्नो पढाइलाई निरन्तरता दिए । त्यो समयमा उनी स्कूल गएनन् ।
पिताजीको निधन पश्चात पशुपतिका लागि पिताजीले कोरिदिएको मार्गचित्रमा परिवर्तनको रेखा कोर्यो । पिताजी उनलाई इन्जिनियर बनाउन चाहन्थे । तर उनका पिताजीको इच्छा नेपाल र नेपाली जनताको विकासमा योगदान दिने थियो । कुनै न कुनै रुपमा उनी जनताको हक हितका लागि समर्पित हुन चाहन्थे । राजनीतिमा सक्रिय हुन चाहन्थे । तर असमय मै भएको उनको निधनले इच्छा अपुरो रह्यो ।
त्यसैले पिताजीको यो इच्छा पशुपतिले आफ्नो शिरमा धारण गरे । उनले आफू इन्जिनियर बनेर होइन्, राजनीतिमा सक्रिय भएर पिताजीको सपनालाई साकार तुल्याउने मार्गमा अग्रसर भए । र, १२ वर्षको उमेरमा थप पढाइका लागि उनी बेलायत गए ।
पशुपति शमशेर भन्छन्, ‘बुबाको निधन पछि बुबाले गर्न खोजेको काम म गर्छु भन्ने मलाई लाग्यो । त्यसैले पनि म नितान्त नयाँ सोचका साथ अगाडि बढेँ ।’
यहीँबाट उनको अभिष्ट बन्यो राजनीति । उनी मुलुक र जनताका लागि केही गर्छु भन्ने भावनाका साथ अघि लागे ।
त्यसपछि राजनीति नै उनको लक्ष्य बन्यो । नेपाललाई कसरी विकसित र समृद्ध तुल्याउने ? उनको पिताजीको सोच पनि यहि थियो । त्यसैले पिताजीको निधन पछि उनको दृष्टिकोण परिवर्तन भयो । उनी पनि आफ्ना पिताजीले जस्तै नेपाल र नेपालीको उन्नती भएको हेर्न चाहन्थे । नेपालमा केही परिवर्तन ल्याउँछु भन्ने भावना उनमा थियो ।
उनी भन्छन्, ‘स्कुल भरि अरुलाई थाहा थिएन पछि गएर के गर्ने भनेर, तर मलाई थाहा थियो म पछि के गर्छु भन्ने ।’
कुराकानीको क्रममा उनले आफ्नो पिताजीको राजा त्रिभुवनसँग राम्रो सम्वन्ध रहेको बताए । उनी भन्दै थिए, ‘बुबा र त्रिभुवन महाराज दुबै बाँचिबक्स्या भए सायद बुबा प्रधानमन्त्री होइबक्सिन्थ्यो होला ।’ तर उनका पिताजीको निधन भएको केही समय पछि राजा त्रिभुवनको पनि निधन भयो ।
पिताजीको इच्छालाई निरन्तरता दिने सोचाइका साथ बेलायत पुगेका पशुपति शमशेरले राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रलाई पढाइको विषय बनाए । उनी मुलुकका लागि केही गर्नुपर्छ भन्ने मानसिकताका साथ पढ्दै थिए ।
बेलायतमा पढ्दा नै उनले विश्वका नाम चलेका ठूला ठूला व्यक्तिहरुले मुलुकको निर्माणका लागि कसरी काम गरे भनेर तिनका जीवनी पढे । आर्थिक सामाजिरुपमा मुलुकको विकास कसरी गर्न सकिन्छ भनेरै उनले यी यावत विषय रोजेका थिए । त्यसैले उनले आफूलाई राजनीतिमा स्थापित गर्ने उद्देश्यका साथ आफ्नो पढाइलाई पुरा गर्दै गए ।
यसरी राजनीति गर्ने विचारका साथ बेलायत पुगेका पशुपति वि.सं. ०२२ साल तिर नेपाल फर्किए । त्यसबेला प्रजातान्त्रिक व्यवस्था थिएन्, पंचायती व्यवस्था सुरु भइसकेको थियो । पंचायती व्यवस्था नआएको भए सायद उनी नेपाल फर्केर नेपाली काँग्रेससंग जोडिइसकेका हुन्थे । किनभने उनलाई काँग्रेस नेता बीपी कोइरालाले आफै काँग्रेसमा आउन भनेका थिए ।
बीपीसँग उनको खासै चिनाजानी थिएन् । उनका पिताजीसँग बीपीको नजिकको सम्बन्ध रहेको पशुपति बताउँछन् । बीपीको ज्यान आफ्ना पिताजीले नै बँचाएको उनी भन्दै थिए । बीपीलाई एक चोटी राणा सरकारले थुनेको थियो । थुनामा रहेका बखत बीपी अनसनमा बसे । धेरै जसो भाइ भारदारहरुले कुचोले बढार्नुपर्ने चिज हावाले लग्छ भने लगोस् भन्ने खालका कुरा गरेका थिए । तर पशुपतिका पिताजी त्यस्तो नहोस् भन्ने चाहन्थे ।
पशुपति भन्छन्, ‘मनबुबा (मोहन शमशेर) लाई कसरी ‘कन्भिन्स’ गर्ने, त्यो बाटो पिताजीले खोज्नु थियो । मनबुवा धेरै धार्मिक होइबक्सिन्थ्यो । त्यसैले बुबाले मनबुबालाई ‘बीपी मरे भने ब्रह्महत्या ठहरिन्छ । त्यसको पाप अरु कसैलाई लाग्दैन्, हजुरलाई नै लाग्छ । त्यसैले हजुरले वीपीलाई छोडिदिइबक्सियोस्’ भन्नुभयो । त्यतिबेला राजनीतिक कुराले मनबुबा मानिबक्सिने कुरै थिएन । त्यसैले आध्यात्मिक मार्गबाट बीपीको ज्यान बचाउने बाटो खोजिएको थियो । त्यसरी उनको ज्यान बच्यो ।’
उनी बेलायतमा पढदै गर्दा दुई चार पटक नेपाल आएका थिए । एक पटक छुट्टिमा आउँदा बीपी प्रधानमन्त्री थिए । त्यसैले उनी वीपीसंग भेटन पुगेका थिए ।
वीपी बेलायत जाँदा पनि उनले वीपीसित भेट गरेका थिए । त्यसबेला पशुपति नेपाली विद्यार्थीहरुको युनियनसँग आवद्ध थिए । उनीहरुले नेपाली विद्यार्थीहरुको युनियन खोलेका थिए बेलायतमा । त्यसैबेला एउटा कार्यक्रम गर्दा वीपीसँग भेट भएको थियो । त्यो भेट वीपीका निजी सचिव कुमारमणि दीक्षितका कारण भएको उनी सम्झिन्छन् ।
वीपीलाई अत्यन्तै प्रभावशाली व्यक्तित्व मान्छन् पशुपति शमशेर । उनी ठूला र कुशल राजनीतिज्ञ भएको उनको भनाई छ । मेलमिलापको नीतिका साथ नेपाल आएका बखत तत्कालिन अवस्थामा वीपीलाई राज्य शासन प्रणालीमा समाहित् गराउन सकेको भए मुलुकका लागि धेरै राम्रो हुने उनको कथन छ ।
पशुपति भन्छन्, ‘वीपी कुशल राजनीतिज्ञ हुन् । तर उनले मौका नै पाएनन् । मौका पाएको भए उनले केही गर्ने थिए । तर एउटै जंगलमा दुइ वटा शेर रहन सक्दैन् भनिन्छ । यही भयो, राजा महेन्द्र र वीपीका बिचमा ।’ बेलायतबाट फर्किए पछि उनले राजनीतिमा सिधै प्रवेश गरेनन् । जतिखेर उनी फर्किए राजा महेन्द्रको हातमा शासन सत्ता थियो । त्यसैले आफ्नो लागि यो उपयुक्त समय होइन भन्ने उनलाई लाग्यो र उनले अरु काम थाले ।
बेलायतमा बस्दैगर्दा नै तत्कालिन युवराज वीरेन्द्रसित उनको सम्बन्ध राम्रो रहेको थियो । त्यसैले वीरेन्द्र शाह राजा हुनासाथै उनको राजनीतिक करिअरको पनि सुरुआत भयो । अनि उनले राजनीतिका लागि सिन्धुपाल्चोक जिल्लालाई चुने ।
त्यसबेला अप्रत्यक्ष चुनावबाट निर्वाचित हुने प्रचलन थियो । त्यसैले उनी पहिले गाउँ पंचायतको उपप्रधानपञ्चमा निर्वाचित भए । त्यस पछि जिल्लाको उपसभापति भए । अनि राष्ट्रिय पञ्चायतको सदस्य भए । यसरी पाँच महिनाको बीचमा उनी राष्ट्रिय पञ्चायत सदस्य भएका थिए, २०३० सालमा ।
आफूले सिन्धुपाल्चोकलाई निर्वाचन क्षेत्रकारुपमा चुन्नुको कारण काठमाडौं नजिक रहेर पनि पिछिडिएको जिल्ला भएकोले आफूले सिन्धुपाल्चोकलाई चुनेको बताउँदै थिए । उनी भन्छन्, ‘सिन्धुपाल्चोकमा हाम्रो परिवारसित सम्वन्धित व्यक्तिहरु पनि थिए । अर्को कुरा, त्यो पिछडिएको ठाउँलाई अलिकति भएपनि विकासको मार्गमा डोर्याउन सक्छु कि भन्ने भावना पनि मनमा थियो ।’
वास्तवमा राजधानी नजिक भएर पनि सिन्धुपाल्चोक जिल्ला पिछडिएको थियो । पाँचखाल हुँदै जिल्ला पस्थे उनी । जाँदा दस बाह्र दिनका लागि कम्तीमा पनि जानु पर्दथ्यो । कोसौं हिँड्नु पर्दथ्यो । कोदारी राजमार्ग बने पनि गाउँ गाउँ जाने मोटर बाटो थिएन् ।
चौतारा र बाह्रबिसे गरेर जम्मा दुई वटा मात्रै हाइस्कूल थियो । दुई गाउँमा मात्रै बिजुली पुगेको थियो । अर्थात, जिल्लाको विकास केही भएकै थिएन ।
तथापि उनी गाउँ गाउँ हिँडे । सुख सयलमा जीवन बितेको भएपनि उनले सिन्धुपाल्चोकको विकासका लागि आफूलाई समाहित गरे । उनी भन्छन्, ‘म हिँड्न त सक्थें । तर मलाई खाना र पानीको व्यवस्था मिलाउन गाह्रो हुन्थ्यो । बाथरुम थिएन् । सुत्नलाई पनि समस्या हुन्थ्यो । तर पनि म लाग्दै गएँ ।’
दु:ख देख्दा देख्दैपनि उनी राजनीतिमा होमिए । र जब ०३४ सालमा शिक्षामन्त्री भए, उनले जिल्लामा केही स्कुलहरु थपे । त्यसैबेला ऐशेलुखर्कमा पहिलो हाइस्कुलको स्थापना गरे । कतिपय ठाउँहरुमा निम्न माध्यमिक विद्यालयहरुको पनि स्थापनाको व्यवस्था मिलाउँदै गए । प्राथमिक स्कुलहरुको स्थापनामा पनि उनले ध्यान दिए ।
यातायात र पर्यटन मन्त्री हुँदा उनले बाटोघाटोको निर्माणमा ध्यान दिए भने जलस्रोत मन्त्री हुँदा खानेपानी, विद्युत र सिचाइको व्यवस्था मिलाउँदै गए, सिन्धुपाल्चोकमा । यसरी उनले सिन्धुपाल्चोकको विकासमा सक्दो योगदान दिँदै गए ।
उनी भन्छन्, ‘सिन्धुपाल्चोक जिल्ला अहिले युएनको रेकर्डमा विकसित जिल्लामा पर्छ । त्यो अवस्थामा पुगिसकेको छ ।’
वि.सं. २०२२ सालदेखि ०३० सालसम्मको समयमा उनले विभिन्न काममा हात हाले । राजा महेन्द्रको समय भएकोले तत्काल राजनीति नगर्ने मनस्थिति बनाएका उनले केही समय गोरखापत्र संस्थानबाट प्रकाशित हुने अंग्रेजी भाषाको पत्रिका ‘द नेप्लीज पर्सपेक्टीव्स’को सम्पादन समूहमा रहेर काम गरे । उनी त्यसको ‘फरेन एण्ड इकोनोमिक एडिटर’ थिए । उनी संगै त्यो समूहमा थिए, डा. मोहमद मोहसिन र तीर्थराज तुलाधर पनि । डा. मोहसिन चीफ एडिटर थिए ।
पशुपति हास्दै भन्छन्, ‘म पनि कुनै बेला पत्रकार थिएँ ।’
त्यस पछि डा. तुलसी गिरीले गृह पञ्चायत मन्त्रालयमा सहसचिव भएर काम गर्न भने । उनले पनि ठिकै छ भनेर काम थाले । यसैबीच उनको संगत नेपाली काँग्रेसका साथीहरुसित बढेर गयो ।
उनी एउटा घट्ना सम्झिन्छन् यसरी, ‘त्यसै बीचमा मैले एमएको राजनीति शास्त्रको एउटा कक्षामा एकदिन लेक्चर दिएको थिएँ, पेपर प्रस्तुत गर्दै । जसमा तीन किसिमको शोषणका कुरा उठाएको थिएँ । मैले पेपरमा पहिलो, काठमाडौंले बाँकी नेपालमा गर्ने शोषणको कुरा गरेको थिएँ । दोस्रो, बाहुन, नेवार र क्षेत्रीले बाँकी जातीमा गर्ने शोषणको कुरा उठाएको थिएँ । अनि राणाकालिन ‘क्लाइन्ट फेमिलि’हरु (जस्तै गुरुजु खलक, जमिनदारहरु, या राणा घरानामा काम गर्नेहरु)ले गर्ने शोषणको विषय पनि उठाएको थिएँ । यीनै प्रकृत्ति र प्रवृत्तिका व्यक्तिहरु ठूलो पदमा आसिन रहेका थिए । मैले उदाहरण दिने क्रममा यी वर्गले नै सबैभन्दा महत्वपूर्ण पदहरु ग्रहण गरेको पेपरमा उल्लेख गरेको थिएँ । मैले केही उदाहरण नै दिएको थिएँ, जस्तै तत्कालिन प्रधानमन्त्री ध्रुव शमशेरकोमा काम गर्नेको छोरा र अर्को ठूलो पदमा चाहिँ गुरुजु खलकको मानिस भनेर तोकि नै दिएको थिएँ । यो कसैलाई सह्य भएन् । यही उदाहरणले मेरो सह सचिवको जागिर पनि गयो ।’
उनको जागिर खोसिए पछि त्यो पेपरको साइक्लोस्टाइल पेपर निकालेर खुबै बाँडियो । धेरैले पढे पनि ।
यस पश्चात केही समय उनी केही काम नगरी बसे । त्यसैबेला युवराज वीरेन्द्र नेपाल फर्केका थिए । उनले तिमीमाथि अन्याय भएछ, फेरि जागिर खाउ भनेर पशुपतिलाई भने । पशुपतिले सिधै ‘म सरकारी जागिर खान्न’ भनिदिए ।
पशुपति हास्दै भन्छन्, ‘मैले वीरेन्द्र सरकारलाई म सरकारी जागीरबाट अघाएँ भन्दै सरकारी जागिर खान्न भनेँ ।’
त्यसैबेला सेडाको स्थापना हुँदै थियो । एउटा स्वतन्त्र संस्थाकोरुपमा । त्यसैले उनले त्यहाँ काम थाले ।
तत्कालिन राजा महेन्द्रको निधन पश्चात वीरेन्द्र राजा भए । यहीँबाट पशुपति शमशेरको राजनीतिक यात्रा पनि सुरु भयो । पशुपति आफ्ना पिताजीको सपनाबाट प्रेरित थिए । त्यसैले इन्जिनियरको बाटो छोडेर राजनीतिको मार्गमा होमिएका थिए । आज चार दशक भन्दा बढिको समय राजनीतिमा उनले बिताइसकेका छन् ।
त्यसबेला पञ्चायतकालीन समय भएपनि राजनीतिमा खुट्टा तानातानको अवस्था थियो । आठ जिल्ला ओगटेको बागमति अंचलमै पनि दुइ समूह थियो । एउटा जोगमेहर श्रेष्ठको र अर्को नेत्रविक्रमको । उनी सिन्धुपाल्चोकबाट उठ्दा उनको सम्पर्क नेत्रविक्रमसंग थियो । तर अंचलमा भएको चुनावमा उनलाई जोगमेहरका धेरै मानिसले पनि सघाएका थिए । पछि उनी जोगमेहर संग पनि निकट भए ।
उनी भन्छन्, ‘पंचायतकै राजनीतिमा ०३६ साल पछि त झण्डै झण्डै पार्टीकरण जस्तै अवस्था थियो । एउटा समूह सूर्यबहादुर सित थियो । अर्को समूह हामीसित थियो । हामी सूर्यबहादुर जीको मुख्य विरोधमा उठेका थियौं; म, प्रकाशचन्द्र लोहनी र पद्मसुन्दर लावती । पछि हाम्रो समूहमा लोकेन्द्रबहादुर जीलाई ल्यायौं ।’
पछि मरिचमान श्रेष्ठ प्रधानमन्त्री भए । उनी हार्डलाइनर थिए । त्यसैले पशुपति शमशेरको समूह र सूर्यबहादुर थापाहरुको समूह जुन किसिमले अगाडि बढेको थियो, त्यो त्यहीँ रोकियो । सूर्यबहादुर प्रधानमन्त्री हुँदा आफूहरुले आम सभा गरेको र लोकेन्द्रबहादुर प्रधानमन्त्री हुँदा सूर्यबहादुरहरुले आम सभा गरेको किस्सा उनी सुनाउँदै थिए ।
गुट उपगुटकै कारण एक पटक पशुपति शमशेर जबरा आफ्नै जिल्लामा थुनिए । नेत्रविक्रमले उनकै समूहमा संलग्न १६ जना उछृँखल व्यक्तिहरुलाई लगाएर पशुपति शमशेरलाई बाडेगाउँको एउटा स्कूलमा थुनेर राखेका थिए । पछि उनलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले रेस्क्यु गरेको थियो ।
त्यसबेला नेत्रविक्रमको एउटा पोस्टर गाउँमा टाँसिएको थियो । जस्मा उनले नमस्कार गरेका थिए । पशुपति शमशेरले आफूलाई प्रहरीले छुटाए पछि चौतारामा जिल्लाबासीहरुसित भने, ‘फोटोमा नेत्रविक्रमले नमस्कार गरेर बिदा माँगेका छन् । उनलाई बिदा दिनुस् ।’
यतिभनेर पशुपति शमशेर उन्मुक्त हाँसो हाँसे ।
त्यसबेला उनी धेरै भोटले जिते । ५२ हजार भोट आएको थियो पशुपतिको । पशुपतिले व्यापारमा पनि हात हाले । उनले नेपालमा एलपी ग्यासको व्यापार सुरु गरे ।
उनी भन्दै थिए, ‘राजनीति गर्न पैसा चाहिन्छ । पैत्रिक सम्पति खर्चेर राजनीति गर्ने कुरा आएन । अरु तरिकाले कमाउने कुरा भएन । त्यसैले मैले नेपाल ग्यासको उत्पादनमा लगानी गरेँ । मेरो राजनीतिक यात्रामा आर्थिक सहयोग पुर्याउनैका लागि मैले यो व्यवसायमा हात हालेको थिएँ ।’
अन्त्यमा उनी गम्भीर भएर भन्दै थिए, ‘नेपालको जुन ढंगबाट विकास हुनुपर्ने हो त्यो हुन सकेन ।’