साहित्य
रेस्टुराँमा हामी जिस्किरहन्थ्यौं
जेम्स प्रधान
मैले सुनिलसँग धेरै लामो समय काम गरें । ऊ रचनाको हिसाबले निकै राम्रो मान्छे हो । क्रिएसनमा कुनै ‘डाउट’ नै थिएन । मेरो स्टुडियोमा उसले धेरै समय बितायो, जहाँ उसले निकै राम्रा राम्रा रचना जन्मायो । मेरो सांगीतिक यात्राको आउटपुटमा उसले निकै सहयोग गरेको छ ।
विशेषतः गिटारमा ऊ यति पोख्त थियो कि म कुन शब्दले बयान गरौं ? कुनै शब्दै छैन । सुनिल र म सँगै धेरै टुरहरु गयौं । देशभित्र र बाहिरका दर्जनौं कन्सर्ट हामीले सँगै गरेका थियौं ।
उसका केही कमजोरी पनि थिए । ऊ धेरै पिउने गथ्र्यो । कहिलेकाहीँ छोड्थ्यो पनि तर, छोड्ने भन्दा पिउने नै धेरै गथ्र्यो । उसको नराम्रो पक्ष यही थियो । उसलाई मैले पटक पटक यसरी पिउनु हुँदैन भनेर सम्झाउँथें । मैले बोल्दा ऊ सुनिरहन्थ्यो र हुन्छ भन्थ्यो । तर, कहिले पनि चटक्कै पिउन छोड्न भने सकेन ।
सुनिल छुट्टै खालको व्यक्ति थियो । ऊ निकै जिद्दि स्वाभावको थियो । आफूले गरेको ठीक छ भन्ने आत्मविश्वासका साथ काम गथ्र्यो । गिटारमा ऊ निकै राम्रो थियो । त्यसमा उसले अरुको कुरा नसुने पनि केही फरक पर्दैनथ्यो । तर, अरु कुरामा पनि उसले हामीले भनेको मानेको भए ऊ सायद आझ हामीसँगै हुन्थ्यो ।
मेरो निकै चलेको गीत ‘आइदेउ आइदेउ’ मा उसैले गिटार वर्क गरेको थियो, जुन दर्शक/स्रोताले निकै मन पराइदिनु भयो । उसले आफ्नो र अरुको कम्पोजिसन गरेर कम्तीमा पनि ५० भन्दा बढी नै गीत गर्यो होला ।
सुनिल रमाइलो स्वाभावको थियो, जिस्किरहनुपर्ने । बाहिर कन्सर्टमा जाँदा होस् या स्टुडियो वा कुनै होटल अथवा रेस्टुराँमा हामी जिस्किरहन्थ्यौं ।
ऊ एकोहोरो आफ्नै क्रिएसनमा लागिरहन्थ्यो । आफ्नो काम नसकेसम्म कसैको कुरा सुन्दैनथ्यो । नेपाली संगीतलाई अगाडि बढाउन अब यसरी काम गर्नुपर्छ भनेर हामी योजना बनाउँथ्यौं । ऊ पनि होमा हो मिलाउँथ्यो, हुन्छ भन्थ्यो । तर, भोलिपल्टबाट फेरि आफ्नै स्वाभावअनुसार काम गथ्र्यो । उसको काम भने निकै राम्रो हुन्थ्यो । कमेन्ट गर्ने कुनै ठाउँ नै दिँदैननथ्यो ।
‘निरमाया तिमीलाई’ उसको सबैभन्दा बढी मलाई मन पर्ने गीत हो । उसले आफ्नोमात्रै होइन, अरुको गीतमा पनि त्यतिकै राम्रो काम गरेको छ । नविन के भट्टराईका धेरै गीतमा उसको आउटपुट छ । नविनको ‘उदासी’, ‘सायद तिमी नै हौ’ उसैले गरेका गीत हुन् ।
हँसिलो स्वभावको हुनुहुन्थ्यो
अराज केशव
सुनिल दाइको समकक्षी जेम्स प्रधान, महाराज थापा हुनुहुन्थ्यो । ओपस स्टुडियोमा उहाँहरुबीच भेट हुन्थ्यो । म पनि त्यही स्टुडियोमा काम गर्थें । म सुनिल दाइको ‘गोरेटो अनि उस्तै छ गल्ली’ को फ्यान नै थिएँ । यो गीत मन नरापराउने कोही नेपाली छ जस्तो मलाई लाग्दैन ।
उहाँ गिटार यति राम्रो बजाउनुहुन्थ्यो, त्यो समय गिटारमा उहाँको छेउछाउ पनि कोही आउँदैनथ्यो । गिटारमा उहाँको एकछत्र राज थियो । गिटार बादन र कम्पोजिसन राम्रो गर्नुहुन्थ्यो । मल्टिट्यालेन्ट व्यक्ति हुनुहुन्थ्यो सुनिल दाइ ।
मेरो र्यापमा सुनिल दाइको एरेन्जमेन्ट थियो । ‘घर हाम्रो पूर्वाञ्चल’ मा मैले र्याप गरेको थिएँ, त्यसमा दाइले एरेन्ज गर्नुभएको थियो । मैले उहाँको एरेन्जमेन्टमा गीत गाउने भनेको थिएँ । तर, त्यो बेला म जेम्स दाइको स्टुडियोमा काम गर्न थालिसकेको थिएँ । त्यही भएर त्यो अवसर भने जुरेन ।
पप विधामा उहाँको विकल्प नै थिएन । कसले राम्रो गिटार बजाउँछ भन्दा एक नम्बरमा सुनिल दाइकै नाम आउँथ्यो । उहाँबाट इन्सपायर भएर गिटार सुरु गरेका धेरै अहिले नेपालका टप गिटारिस्ट भएका छन् । लिड गिटारिस्टका लागि उहाँको हात सफा हात मानिन्थ्यो । पप मेलोडीमा नविन के भट्टराईका धेरै गीत सुनिल दाइकै हुन् । सञ्जिव सिंह उहाँबाटै प्रभावित हो । जेम्स दाइको कम्पोजिसन र सुनिल दाइको एरेन्जमेन्ट नम्बर वानमा थियो । पप गीतमा उहाँहरुको अप्सन नै थिएन । गोपाल रसाइली दाइ उहाँहरु भनदा पछिको जेनेरेसन हो ।
जिन्दगी रमाइलोसँग बिताउनुपर्छ भन्नुहुन्थ्यो । क्रिएसनको काम फ्रेस नभई हुँदैन, त्यसैले उहाँ सधैं रमाइलो गर्नुपर्छ भन्नुहुन्थ्यो । अरुलाई हँसाइरहने उहाँको स्वाभाव नै थियो । हाँसिरहने बानी थियो । उहाँको निधनले नेपाली पप संगीतलाई नै ठूलो क्षति पुगेको छ ।
(कुराकानीमा आधारित)
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३ १२:२०
प्रतिक्रिया दिनुहोस्