भारतको उत्तर प्रदेश कुशीनगरमा स्कुल बस रेलमा ठोकिँदा १३ बालबालिकाको मृत्यु भयो भने १५ भन्दा बढी घाइते भए । रेलवे क्रसिङमा पहरा रहेनछ । बालबालिका लिएर गएको बसको ड्राइभरले इयरफोन लगाएर गीत सुन्दै बस चलाइरहेको छ । ड्राइभरले रेल आए नआएको हेरेन, रेलको आवाज सुनेन । उसको सानो गल्तीले कति ठूलो क्षति भयो ?
रेलवेको क्रसिङमा पहरा नराखेकोमा जनताले आक्रोश प्रकट गरे । जनताको असन्तुष्टिलाई त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले सार्वजनिकरूपमै ‘नौटंकी’ भने । सत्तामा जानेहरू प्रायः यस्तै संवेदनहीन हुन्छन् । त्यसमाथि आदित्यनाथ त अविवाहित योगी । सन्तानको माया तिनलाई के थाहा ? त्यसमाथि चरम दक्षिणपन्थी योगीका लागि उनको विरोध नै नौटंकी लाग्नु के अनौठो भयो र ?
नेपालमा पनि अहिले लाखौँ बालबालिका बसबाट दिनहुँ स्कुल जान्छन् । काठमाडौं उपत्यकामा त झन् पैदल स्कुल जानेभन्दा बसबाट जानेकै संख्या धेरै होलाजस्तो लाग्छ । कतिपय स्कुलले स्तरीय बस पनि राखेका छन् भने कतिपयले सार्वजनिक सवारी भाडामा लिएर विद्यार्थीलाई विद्यालय लाने ल्याउने गर्छन् । बालबालिकालाई भ्यानमा कोचेर लगेको दृश्य बिहान बेलुका जताततै देखिन्छ । बेलाबखत ट्राफिकले भ्यानमा बालबालिकालाई कोच्नेहरूलाई कारबाही गरेको पनि सुनिन्छ । तर, अभिभावकले आफ्ना सन्तानले पाएको सास्तीविरुद्ध बोलेको भने बिरलै सुनिएको छ । यसैले बालबालिकालाई ‘वस्तु’ ठानेर बसमा कोच्नेहरू निर्धक्क त्यही अपराध दोहोर्याइरहेका छन् ।
बालबालिका बोक्ने बस चलाउने चालक अरू सार्वजनिक सवारी चलाउँदाभन्दा बढी सावधान हुनुपर्छ । उनीहरू सिटमै निदाउन सक्छन् विशेषगरी विद्यालयबाट फर्कँदा । साथीहरूसँग चकचक गरिरहेका हुनसक्छन् र अकस्मात् ब्रेक लाग्दा लडेर चोटपटक लाग्न सक्छ । चर्को आवाजले तर्सन सक्छन् । तर, चालकहरू बालबालिकालाई विद्यालय लैजाँदा वा घर फर्काउँदा पनि चक्रपथमा परेको उछिनापाछिन गर्ने बानी छाड्दैनन् । चर्को स्वरमा गीत धन्काएर वा तीव्र गतिमा दौडाएर बालबालिकाको सातो लिने गरेको विद्यालय जाने बसलाई गौर गरेर हेर्ने हो भने सधैँजस्तो देखिन्छ । इएरफोन लगाएर बस चलाउन नपाउने नियम सायद छैन तर विद्यालय बसका चालकले इएरफोन लगाउँदा हर्नको आवाज नसुनेर कुशीनगरको दुर्भाग्य यहाँ पनि त दोहोरिन सक्छ । विशेषगरी राजमार्गहरूको आसपासमा बसेका बस्तीहरूमा विद्यालय बस चलाउने बढी सावधान नहुने हो भने यस्ता दुर्घटनाको जोखिम बढी हुन्छ ।
यतिमात्र हैन, कति आमाबाबुले ख्याल गरेका छन् कुन्नि ? बसमा स्कुल जाने केटाकेटीले नयाँनयाँ गाली सिकेर आउने गर्छन् । घरमा कहिल्यै नसुनेको फोहोर गाली पनि उनीहरूको मुखबाट निस्कन्छ । तिनले यस्तागाली स्कुलमा साथीहरूबाट मात्र हैन बसका चालक र सहचालकबाट पनि सुनेका हुन्छन् । बालबालिकाका सामु फोहोर गाली गर्नु हुँदैन भन्ने चालक र सहचालकलाई सायद थाहा पनि छैन । उनीहरूलाई त्यस्तो तालिम दिइएको थाहा छैन । उनीहरूले सामान्य ठानेको बोली र व्यवहार बालबालिकाका लागि असहज हुनसक्छ । बाल मस्तिष्कमा त्यस्तो व्यवहारको गहिरो असर पर्न सक्छ । कतिपय अवस्थामा त विशेषगरी बालिकाहरूमाथि यौन दुव्र्यवहार पनि हुनेगर्छ । चालक वा सहचालकले आफ्नो व्यवहारबाट दुव्र्यवहार हुनपुगेको ठान्दै नठान्न पनि सक्छन् ।
विद्यालय भर्ना गराएकै भरमा अभिभावकत्व ग्रहण गरेर प्रचार गर्न र गराउन रहर गर्ने शासकहरूको ध्यान एकपटक सहर वा ग्रामीण क्षेत्रमा निजी विद्यालयमा पढ्ने बालबालिकाको दुर्दशामा पनि गए हुन्थ्यो । बसबाट विद्यार्थी ओसार्ने विद्यालयहरूलाई अलग्गै बसको व्यवस्था गर्न र चालकहरूलाई बालबालिकासँग कस्तो व्यवहार गर्ने ? कसरी बोल्ने ? र खासगरी उनीहरू सवार भएका बेला अपनाउनुपर्ने थप सावधानीका बारेमा तालिम दिनुपर्ने व्यवस्था मिलाए हुन्थ्यो । यति गर्न चाहने हो भने स्थानीय सरकार, प्रहरी, विद्यालयहरू, सामाजिक संघसंस्था मध्ये जस्ले पनि सक्छन् । तर, अहिलेसम्म कसैको प्राथमिकतामा परेको देखिएन । केन्द्रीय बालकल्याण समितिले यसका लागि निर्देशिका (म्यानुएल) तयार गरे पनि हुन्थ्यो ।
सार्वजनिक यातायातका लागि बनाइएका बसहरू बालबालिकाका लागि उपयुक्त हुँदैनन् । यसैले विद्यालयहरूलाई आफ्नै बस राख्न लगाउनु उचित हुन्छ । अभिभावकले पनि आफ्ना सन्तानले सास्ती नपाउन् भन्ने चाहने हो भने विद्यालय छान्दा कस्तो बस चलाउने गरिन्छ भन्ने बुझ्नु जरुरी हुन्छ । सार्वजनिक रुटका बसहरू विद्यालयका बालबालिका ओसार्न चलाउँदा एकातिर व्यस्त रहने बेलामा सडकमा यात्रुवाहक बसको अभाव हुन्छ । यसैले पनि तिनलाई रुटका बसहरू अन्यत्र चलाउन दिनु हुँदैन । विद्यालयकै बस र चालक भए तिनलाई बालमनोविज्ञानअनुसार गर्नुपर्ने व्यवहारका बारेमा तालिम दिन पनि सजिलो र सम्भव हुन्छ ।
विद्यालय भर्नाको लहर सकिएपछि तीनै तहका सरकार र सरोकारवालाको ध्यान बालबालिकाको सुरक्षा जोखिम कम गर्नमा जान्छ कि ? कि कुनै ठूलै दुर्घटना पर्खने हो केही गर्नका लागि ?