ब्लग
बाह्रखरीबाट घर फर्कने बेला कुपन्डोलबाट गाडी चढ्दा सजिलो पर्छ । अझ साझा बस भेटियो भने त एउटै गाडीमा घर नजिकै पुगिन्छ । गएको आइतवार घर फर्कने बेलामा कुपन्डोलबाट रत्नपार्क जाने माइक्रो बस चढेँ । ड्राइभरको सिट पछाडिपट्टि बस्न अप्ठेरो हुने गरी एउटा बेन्चजस्तो तेर्स्याएको हुन्छ अचेल धेरै सार्वजिक यातायातका माइक्रो बसमा । त्यसो त अरू सिट पनि सारेर र साँटेर भित्रको संरचना कुरूप बनाइएको हुन्छ । टोयोटाका मालिकले देखे भने रुन्थे होलान् । त्यस्तै अप्ठेरो ठाउँमा पनि बस्न पाउँदा 'भाग्योदय चिट्टा' परेजस्तो हुन्छ । मैले पनि बस्ने ठाउँ भेट्टाएँ । उल्टो बस्नुपर्ने हुन्छ त्यस सिटमा । अगाडि महिलाहरूको आरक्षित सिट हुन्छ । हलचल नगरी बस्नुपर्छ ।
म छेउमा थिएँ । कुनामा एक जना लामो तीलचामले दाह्री भएका सज्जन थिए । मास्कले मुख ढाकेको थियो उनको । काँधमा झोला पनि थियो । त्यसो त अचेल सार्वजिनक यातायातमा भेटिने धेरैले 'ब्याक प्याक' बोकेका हुन्छन् । झोला पनि टन्नै हुन्छ । के बोकेर हिँड्दा हुन् कुन्नि ? तर ती मेरा सहयात्रीले भने उहिलेको जस्तो काँधे झोला बोकेका थिए । उनको सामुन्ने महिला सिटमा तिनै दौँतरी उमेरकी यस्तै ४५-५० वर्षकी महिला बसेकी थिइन् रातो पहिरनमा । दाह्रीवालले तिनको हात समातेका थिए अलि अस्वाभाविक लाग्ने गरेर । उनीहरू परिवारका सदस्यहरूका बारेमा कुराकानी गर्दैथिए । लाग्यो, निकै मायाप्रेम भएका दम्पती रहेछन् । बेलाबखत अनुराग र वैरागका कुरा पनि गरेजस्तो लाग्यो तर सबै कुरा स्पष्ट भने सुनिदैन थियो । पतिपत्नी भन्दा पनि प्रेमीयुगल जस्ता लाग्थे । करिब १० मिनेट उनीहरूलाई चियो गर्दै बाटो काटियो । वायु सेवा निगम नजिकै माइक्रो बस रोकियो । म सफा टेम्पो भएतिर लागेँ । संयोगले त्यो जोडी पनि त्यही टेम्पोमा आयो । कुनामा ती दाह्रीवाल सज्जन बसे । त्यसपछि ती अधवैँसे महिला बसिन् । तिनको हाउभाउ हेर्दा कुराकानी सुन्न मन लाग्यो र म ती महिलासँगैको सिटमा बसेँ । म बसेपट्टि अर्को एउटा सिट बाँकी थियो । छेउको सिटमा अर्का एक जना पहिले नै बसेका थिए ।
यत्तिकैमा अर्का एक जना अधवैंसे देखिए । ती महिलाले दाइ ! भनेर बोलाइन् । ती सज्जन पनि टेम्पोमा चढे । उनले मलाई उता सर्न भनिन् र ती दाइलाई सँगै राखिन् । त्यसपछि उनीहरू परिवारका बारेमा बातचित गर्न थाले । दुवैका छोराछोरी विदेशमा रहेछन् । सबैका बारेमा सोधपुछ गरे । घरबनाउन लागेकी रहिछन् ती महिला । घर बनाउँदाको कहरको वर्णन गरिन् । मलाई उनीहरूको वार्तालापमा बढी नै चाख लाग्न थाल्यो । कारण, ती दाह्रीवाल सज्जन र दाइले एकअर्कालाई चिनेजस्तै लागेन । नत्र त, कम्तीमा उनीहरू कुराकानी गर्थे होलान् । ती महिलाले पनि एकअर्कासँग चिनाजानी गराइनन् । माइक्रोमा उनीहरू ढुकुरका जोडीजस्ता थिए । अहिले एक अर्कासँग अपरिचितजस्ता ।
ती दाइ लाजिम्पाटमा ओर्ले । बहिनी र आफ्नो भाडा तिरेर । अब झन् त्यो जोडीको सम्बन्ध थप रहस्यमय लाग्यो । उनीहरूबीच एकछिन ती दाइको जीवनको विरक्तलाग्दो पक्षमा कुराकानी भयो । कुराकानी पनि के भन्नु महिलाले पुरुषलाई पत्नीको मृत्युका बारेमा बताइन् ।
म रानीबारी ओर्लेँ ।
यी दुईको बीचको सम्बन्ध कस्तो होला ? अनरागपूर्ण सम्बन्ध हो भन्ने त बुझिन्थ्यो । त्यस अनुरागमा यौनको भूमिका कति होला ? ती दाह्रीवाल सज्जनको परिवारका सम्बन्धमा केही चर्चै भएन । दुवैले कसै न कसैलाई धोका दिएका पो थिए कि ? दुवैको सम्बन्ध 'अवैध' पो थियो कि ? यद्यपि वयस्क व्यक्तिबीचको सम्बन्धमा यौनको प्रत्यक्ष स्थान भए पनि नभए पनि त्यसमा वैधता खोज्नु बेइमानी हो जस्तो लाग्छ । संकीर्ण सामाजिक मान्यताकै आँखाबाट किन हेर्नु सबैले ? समाज अलि द्रूत गतिले बदलिँदै गएको हो ? व्याख्या र अनुमान पाठककै जिम्मा । त्यसो त, समाजशास्त्री र मनोविश्लेषकले पनि टाउको दुखाउन मिल्छ होला ।
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७३ १२:४६
प्रतिक्रिया दिनुहोस्