site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यी हुन् नेपालले रोक्नैपर्ने स्कटिस खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा नेपालले बिहीबार बलियो टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सुपर सिक्समा पुग्ने लक्ष्य बनाएको नेपालसामु स्कटल्याण्डलाई पराजित गर्नुपर्ने चुनौतीसँगै अवसर पनि छ । 

स्कटल्याण्डको तुलनामा नेपाल निकै कमजोर टिम हो । नेपाल डिभिजन टु को उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको हो भने स्कटल्याण्ड आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छनोट भएको हो । नेपाल उदीयमान टिम हो भने स्कटल्याण्ड अनुभवी टिम हो ।

स्कटल्याण्ड जारी विश्वकप छनोटमा पनि राम्रो लयमा देखिएको छ । स्कल्याण्डले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त राष्ट्र अफगानिस्तानलाई ७ विकेटले हराउँदै प्रभावशाली जित निकालेको थियो । आफ्नो दोस्रो खेलमा हङकङमाथि ४ विकेटको जित निकालेको स्कटल्याण्ड उच्च लयमा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, नेपाल भने आफ्नो पहिलो खेलमा टेष्ट नेशन राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा पराजय भोगेपनि ब्याटिङमा भने सुधार भएको मानिएको छ । 

हेड टु हेड
इतिहासले पनि यही भन्छ, नेपालभन्दा स्कटल्याण्ड निकै अब्बल छ । तर, इतिहास नदोहोरिन पनि सक्छ । अहिलेसम्म स्कटल्याण्डसँग नेपालले ३ खेल खेलेको छ, जसमा सबै खेल स्कटल्याण्डको पक्षमा छ ।

Global Ime bank

यसअघि पहिलो पटक स्कटल्याण्ड र नेपाल सन् २०१४ को विश्वकप छनोटमा आमनेसामने भएका थिए, जुन खेलमा स्कटल्याण्डले नेपाललाई ९० रनले पराजित गरेको थियो । 
सन् २०१५ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले स्कटल्याण्डसँग उसैको भूमिमा २ खेल खेलेको थियो ।

च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग जित नजिक पुगेर पराजित भएको थियो । ३ रनले पराजित हुदा नेपालका ओपनर अनिल मण्डलले शतक प्रहार गरेका थिए । 
च्याम्पियनसिपको दोस्रो खेलमा भने नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजित भएको थियो ।

स्कटल्याण्डका यी खेलाडी नेपालका लागि घातक हुन सक्छन्

कलम म्याक्लोड
कलम म्याक्लोड स्कटल्याण्डका अनुभवी खेलाडी हुन् । उनले जारी विश्वकप छनोटमा अफगानिस्तानसँगको पहिलो खेलमा नै शतक प्रहार गरेका थिए । १४६ बलमा १५७ रन बनाएका म्याक्लोडले २३ चौका र १ छक्का प्रहार गरेका थिए । यद्यपि हङकङसँगको दोस्रो खेलमा भने म्याक्लोड राम्रोसँग चलेनन् । उनले १० रन बनाए ।

२९ वर्षीय टपअर्डर ब्याट्सम्यान म्याक्लोड अनुभवी खेलाडी हुन् । उनले ५२ एक दिवसीय खेलमा ६ शतक प्रहार गरेका छन् भने ५ अर्धशतक बनाएका छन् । लिष्ट ए मा मात्रै उनले ७ शतक र १० अर्धशतक बनाएका छन् ।
निकै फर्ममा रहेको म्याक्लोड नेपालविरुद्ध पनि हावी हुने अनुमान लगाउन सकिन्छ । ठूला प्रहार गर्न निकै माहिर मानिने म्याक्लोड नेपालको लागि घातक सावित हुन सक्छ ।

केली कोइट्जर
केली कोइट्जर स्कटल्याण्डका कप्तान हुन् । ओपनर्स कोइट्जरले जतिबेला पनि आफ्नो टिमलाई जित दिलाउन सक्छन् । हङकङविरुद्धको जितमा उनले अविजित ४१ रन बनाएका थिए । अलराउण्डर कोइट्जरले पहिलो खेलमा अफगानिस्तानसँग भने २ रनमात्रै जोड्न सकेका थिए । 

४५ एक दिवसीय खेलमा कोइट्जरले ४ शतक प्रहार गरेका छन् भने १० अर्धशतक प्रहार गरेका छन् । लिष्ट ए मा मात्रै १० शतक र २६ अर्धशतक बनाएका छन् । नेपालले खेल आफ्नो पक्षमा पार्नका लागि स्कटल्याण्डका कप्तान कोइट्जरलाई रोक्नुको विकल्प छैन ।

रिची बर्रिङटन
रिची बर्रिङटन अलराउण्डर हुन् । उनी आफ्नो टिमलाई जतिबेला पनि जित दिलाउन सक्ने सक्षम खेलाडी हुन् । अफगानिस्तान विरुद्ध पहिलो खेलमा उनले ६७ रन बनाएका थिए भने ३ महत्वपूर्ण विकेट पनि लिएका थिए । यसकारण पनि उनी नेपालका लागि घातक सावित हुन सक्छन् । उनले लिष्ट ए मा मात्रै ३ शतक र १८ अर्धशतक बनाएका छन् । नेपालका खेलाडी यी खेलाडीसँग होसियारी हुन निकै आवश्यक छ ।

ब्राड ह्विल
ब्राड व्हील राम्रो मिडियम फास्ट बलर हुन् । जारी विश्वकप छनोटमा पनि उनले धारिलो बलिङ गरेका छन् । उनले अफगानिस्तान विरुद्ध ३ विकेट लिएका थिए । ९.४ ओभर बलिङ गरेका व्हीलले १ मेडनसहित ३६ रन दिएर ३ विकेट लिएका थिए ।
दोस्रो खेलमा हङकङ विरुद्ध विकेट लिन नसकेपनि उनले उत्कृष्ट बलिङ गरेका थिए । ७ ओभर बलिङ गरेका उनले ३ ओभर मेडन राख्दै मात्र ११ रन खर्चेका थिए ।
निकै कमजोर ब्याटिङ प्रदर्शन रहेको नेपाली खेलाडी सामु व्हील विरुद्ध जोगिएर खेल्नुपर्ने हुन्छ ।

टोम सोले
टोम सोले युवा स्पिनर हुन् । गत जनवरीमा मात्रै आयरल्याण्डविरुद्ध डेब्यु गरेका स्कटल्याण्डका २१ वर्षीय टोम निकै लयमा देखिएका छन् । कम अनुभव भए पनि विपक्षी टिमलाई धरासायी बनाउन निकै माहिर टोले जारी विश्वकप छनोटको दोस्रो खेलमा हङकङ विरुद्ध ४ विकेट लिए ।

उनकै उत्कृष्ट प्रदर्शनमा स्कटल्याण्डले हङकङलाई ९१ रनमा अलआउट गरेको थियो । उनले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राख्दै मात्र १५ रन खर्चेर ४ विकेट लिएका थिए ।
यी बाहेक स्कटल्याण्डका अन्य खेलाडी पनि उत्कृष्ट लयमा रहेका छन् । जुन नेपालका लािग तगारो बन्न सक्छन् ।

नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई पराजित गर्नैपर्ने
नेपाल विश्वकप छनोटको सुपर सिक्समा पुग्न सजिलो समिकरण हो अफगानिस्तानलाई पराजित गर्नैपर्ने । स्कटल्याण्ड र हङकङमध्ये एक टिम र अफगानिस्तानलाई पराजित गरेमा नेपाल सुपर सिक्समा पुग्नेछ । यदि नेपाल यी तीन खेल मध्ये दुई खेलमा पराजित भएमा सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ ।

अफगानिस्तानसँग पराजित भए पनि स्कटल्याण्ड र हङकङलाई पराजित गरे नेपालको सुपरसिक्समा पुग्ने सम्भावना हुन्छ । यस्तो अवस्थामा नेट रनरेटको आधारमा सुपर सिक्समा पुग्ने समूह बीको छिनोफानो हुनेछ ।

नेपाल अहिले समूह बी को पुछारमा छ । एक खेलमा पराजित भएको नेपाल नेट रनरेटमा समान एक खेलमा हार ब्यहोरेको हङकङ र दुई खेलमा लगातार पराजित भएको अफगानिस्तान भन्दा पछि पर्दै पुछारमा परेको हो ।

तस्बीरः आईसीसी र रमन शिवाकोटी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०७४  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय