
काठमाडौं । गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको विषयले अहिले राजनीतिक तरंग सिर्जना गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित चार जनालाई नियन्त्रणमा लिएर छाडेको थियो ।
अहिले पनि तीन जना नियन्त्रणमै रहेका छन् । उनीहरुलाई भट्टराईले नै प्रयोग गरेको स्रोतको दाबी छ । खगेन्द्र सुुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई नियन्त्रणमा लिइएको छ । आयोगका अधिकारीले उनीहरुको कम्प्युटर, मोबाइललगायत जफत गरेर अनुसन्धान थालेको जनाइएको छ ।
भिजिट भिसामा जाने नेपालीहरुसँग कम्तिमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै रमेश लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।
भट्टराईलाई विमानस्थलमा मन्त्री लेखकले नै पठाएको उल्लेख गर्दै अख्तियारले छापा मार्ने सुइँको पाएपछि उनलाई हतार हतारमा गृह मन्त्रालयमा तानिएको थियो ।
यसले पनि माथिल्लो निकायसम्म मिलेमतो रहेको प्रष्ट हुने गृहकै एक अधिकारी बताउँछन् ।
अख्तियारका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “हामीले एकदमै गोप्य तरिकाले अनुसन्धान जारी राखेका छौँ । अहिलेसम्म जे जति कुराहरु बरामद भएका छन् । त्यसबाट केही खुल्दै जाने सम्भावना देखिन्छ ।”
तर गृहमन्त्री लेखकले भने अहिलेसम्म मुख खोलेका छैनन् ।
कांग्रेसले पनि अहिलेसम्म औपचारिकरुपमा केही बोलेको छैन । तर कांग्रेसका नेता तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले यतिधेरै प्रश्न उठेपछि संसद्मै पनि जवाफ दिनुपर्ने बताए ।
“यो विषय उठिसक्यो,” उनले भने, “संसद्मै जवाफ दिँदा उचित हुन्छ ।”