site stats
बाह्रखरी :: Baahrakhari
खेल
कान्तिपुर सिटी कलेजलाई स्व. डम्बर धामी स्मृति टी–१० क्रिकेट उपाधि

काठमाडौं । कान्तिपुर सिटी कलेजले काठमाडौं इन्जिनियरिङ कलेजलाई चार रनले पराजित गर्दै स्व. डम्बर धामी स्मृति टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार सम्पन्न फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कान्तिपुर सिटीले निर्धारित १० ओभरमा तीन विकेट गुमाएर ८१ रन बनाएको थियो । कान्तिपुरका जीवन रायले सर्वाधिक ३० रन बनाए । 

Argakhachi Cement Island Ad

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौं इन्जिनियरिङ कलेजले १० ओभरमा पाँच विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । रायले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए । यस अलराउन्ड प्रदर्शनका लागि जीवन राय ‘प्लेयर अफ द म्याच’ घोषित भए भने प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ पनि बन्न सफल भए । 

प्रतियोगिता गत आइतबारदेखि सुरु भएको थियो । जसमा नेपालका तीन विश्वविद्यालयअन्तर्गतका १२ कलेजका टिम सहभागी थिए । विजेता टिमलाई नगद ३५ हजार रुपैयाँ र उपविजेतालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य सुदेश पराजुलीले वितरण गरेका थिए । 

यो प्रतियोगिता अनेरास्ववियू पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले दिवंगत डम्बर धामीको स्मृतिमा आयोजना गरेको थियो । डडेल्धुराका धामीको जीप दुर्घटनामा घाइते भई उपचारको क्रममा गत वर्ष मंसिरमा निधन भएको थियो । उनले हिस्ट इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ अध्ययन पूरा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्