
काठमाडौं । थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलको निम्ति नेपाली राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकमा श्यामकृष्ण मानन्धर नियुक्त भएका छन् । शुक्रबार अखिल नेपाल फुटबल संघ(एन्फा)ले मानन्धरलाई राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।
शनिबार एन्फाका महासचिव किरण राईले सहायक प्रशिक्षक मानन्धरलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । नेपालले अस्ट्रेलियामा हुने एएफसी एसियन कप छनोटको तयारी स्वरूप थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले आगामी मे ३० र जुन २ मा थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्नेछ । एन्फाका अनुसार, मे ३० मा बन्द रंगशालाभित्र नेपाल र थाइल्यान्डबीच अभ्यास खेल हुनेछ । त्यसैगरी, नेपालले जुन २ मा थाइल्यान्डसँग आधिकारिक फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ ।
शुक्रबारै राष्ट्रिय महिला टोलीको २३ सदस्यीय अन्तिम टोली पनि घोषणा भएको छ । एन्फाले गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको छ । टोलीमा राजेन्द्र तामाङ प्रमुख प्रशिक्षक र श्याम मानन्धर सहायक प्रशिक्षक छन् ।