विशेष
पोखराकी रिस्मा गुरुङ नेपाली चलचित्रमा सम्भावना बोकेकी नायिका हुन् । तीनवटा नेपाली र तीनवटा गुरुङ भाषाका चलचित्रमा अभिनय गरेकी गुरुङको अर्को चलचित्र ‘झुम्की’ अहिले प्रदर्शनको तयारीमा छ । ‘झुम्की’मा थारु युवतीको रूपमा अभिनय गरेकी रिस्मासँग बाह्रखरीले गरेको कुराकानी ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
खासै व्यस्त छैन । दुई दिनमात्रै भयो काठमाडौंबाट पोखरा घर आएको । खाली नै छु ।
कुनै फिल्मबाट अफर आएको छैन ?
अहिले कुनै फिल्म साइन गरेको छैन । कुराहरु आइरहेको छ । तर, स्क्रिप्ट हात परेको छैन । यस्तो खालको मुभी गर्नुपर्छ है भनेर धेरैले भन्नुभएको छ ।
अहिलेसम्म कतिवटा चलचित्रमा काम गर्नुभयो ?
धेरै छैनन्, ६ वटामात्रै भयो । तीनवटा नेपाली र तीनवटा गुरुङ भाषाका सिनेमा गरें ।
नेपाली र गुरुङमध्ये कुन सिनेमा गर्दा आत्मसन्तुष्टि पाउनुहुन्छ ?
पक्कै पनि नेपाली । नेपाली सिनेमा धेरैले हेर्नुहुन्छ, ठूलो सेट हुन्छ । त्यहीअनुसारको रेस्पोन्स हुन्छ । खारिएको टिम हुन्छ । तर, यसको मतलब गुरुङ भाषाको सिनेमा गर्दा नरमाइलो हुन्छ या रेस्पोन्स आउँदैन भन्ने होइन । कल्चरभित्र बाँधिनुपर्छ भन्नेमात्रै हो । गुरुङ भाषाको सिनेमामा पनि धेरैले प्रतिक्रिया दिनुहुन्छ । आफ्नो संस्कार र संस्कृतिको विषयमा काम गर्दा रमाइलो र आत्मविश्वास बढी हुन्छ । तुलनात्मक रूपमा चाहिँ नेपालीमा बढी आत्मसन्तुष्टि हुन्छ भन्नेमात्रै हो ।
६ वटा सिनेमामा सबैभन्दा राम्रो कुन र सजिलो कुन लाग्यो ?
काम गराइको हिसाबले ‘कबड्डी’ सजिलो लागेको सिनेमा हो । राम्रो लागेको सिनेमाचाहिँ ‘झुम्की’ हो ।
प्रदर्शन हुन लागेकाले ‘झुम्की’लाई राम्रो भन्नुभएको हो कि ?
होइन, त्यस्तो होइन । मैले ‘कबड्डी’लाई नराम्रो भनेको पनि होइन । ‘झुुम्की’ साँचै राम्रो चलचित्र बनेको छ । यो भोलिको दिनले देखाउने कुरा हो । सिनेमा रिलिज भएपछि यो आफैं पुष्टि हुन्छ ।
‘कबड्डी’जस्तो चलचित्रमा कसरी अवसर पाउनुभयो ?
रामबाबु दाइ (‘कबड्डी’का निर्देशक) लाई थकाली फेस चाहिएको रहेछ । उहाँ पोखरा आउजाउ गरिरहनु हुँदोरहेछ । पोखराका स्थानीय कलाकार र सिने नगरीका साथीहरुसँग कुरा गर्दा मेरो कुरा आएछ । मैले पोखराको एउटा वेबसाइटमा फोटो सुट गरेको थिएँ । त्यही फोटो हेरेर उहाँले मलाई खबर गर्नुभएको थियो ।
एक्कासी नेपाली भाषाको चलचित्रबाट अफर आउँदा कस्तो लागेको थियो ?
मैले काम गर्दिनँ भने । मेरो सन्दर्भमा अरुको भन्दा फरक भयो । अरुको परिवारले आफ्नो छोरीलाई सिनेमा गर्न हुँदैन भन्छन् । तर, मेरो ममीले भने मलाई आएको अवसर गुमाउनु हुँदैन, खेल भन्नुभयो । काठमाडौं गएर एक महिनासम्म वर्कसपमा बस्नुपर्छ भन्ने सुन्दै मेरो सातो गएको थियो । ममीले म आफैं काठमाडौं गएर सँगै बस्छु भन्नुभयो । पाँच दिन त उहाँ मसँगै काठमाडौंमा बस्नुभयो । पछि म अभ्यस्त हुँदै गएँ ।
पहिलोपटक आफ्नो सिनेमा कोसँग हलमा गएर हेर्नुभयो ?
काठमाडौंमा सिनेमा शुक्रबार लागे पनि पोखरामा भने बिहीबार नै लागेको थियो । सोल्टिनीसँग हलमा गएको थिएँ । हलमा एकदमै थोरै दर्शक थिए । मलाई सिनेमा नचल्ने भयो भनेर डर लाग्यो । तर, बिस्तारै हलहरू हाउसफुल हुन थाले । चलचित्र राम्रोसँग चल्यो । दर्शकले मन पराइदिनुभयो ।
हलमा दर्शकले चिनेनन् ?
पहिलो दिन मास्क लगाएर गएको थिएँ, त्यसैले कसैले चिन्ने कुरै भएन । दोस्रो दिन मास्क नलगाई गएको थिएँ, तीन–चार जनाले चिन्नुभयो । ‘ओहो ! सिनेमाको हिरोइन पनि हलमा दर्शकसँगै बसेर सिनेमा हेरेको’ भनेर अचम्म मान्नुभएको थियो ।
‘कबड्डी’ र त्यसको सिक्वेलमा काम गरे पनि तपाईं ‘पुरानो डुंगा’को टिममा किन पर्नुभएन ?
सायद यो चलचित्रका लागि प्रियंका कार्की दिदी नै फिट हुनुहुन्छ होला । रामबाबु दाइले मलाई यो सिनेमामा लिनुभएन भनेर मैले चित्त दुखाएको पनि छैन । भोलि म उहाँकै कुनै प्रोजेक्टमा काम पनि गर्न सक्छुु होला । यसलाई मैले नराम्रो लिनुपर्ने कारण छैन ।
तपाईं त पोखराको मान्छे, प्रियंकाभन्दा त्यहाँको माझी समुदायबारे तपाईंलाई बढी जानकारी होला नि हैन ?
म पोखरामा जन्मे र यता बसे पनि मलाई तालवरपरको बस्तीको रहनसहन र चालचलनका साथै त्यहाँको माझी समुदायको बारेमा थाहा पनि छैन । कुरा रह्यो प्रियंका दिदीको, माझी समुदायको अथवा कुनै पनि समुदाय र बस्तीको अभिनय गर्न त्यहीँको स्थानीय हुनुपर्छ भन्ने छैन । कलाकारले जोसुकैको पनि, जस्तोसुकै अभिनय गर्नसक्छ र गर्न सक्नुपनि पर्छ । कलाकारको यो विशेषता पनि हो ।
तपाईं ‘इनोसेन्ट’ केटीको क्यारेक्टरमा मात्रै देखिनुहुन्छ । अरु कस्तो खालको चरित्र निभाउन मन छ ?
यो प्रश्न मलाई धेरैले सोध्नुहुन्छ । वास्तवमा त्यस्तै पनि हो । ‘कबड्डी’ र त्यसको सिक्वेलमा पनि गाउँकी सोझी केटीको भूमिकामा छु । ‘झुम्की’मा पनि त्यस्तै नै छ । अब त योबाहेक हरु गर्ने गर्नै सक्तिन कि के हो भन्ने म्यासेज जालाजस्तो पनि भइसक्यो । मलाई सहरकी मोडर्न केटीको रोल गर्ने इच्छा छ ।
रियल लाइफमा त सोझी र छट्टु दुवै हुनुहुन्छ नि ?
सोझी पनि छु, अलिअलि मोडर्न पनि छु । जे होस्, के गर्न हुने के गर्न नहुने बुझ्छु । फिल्ममा जस्तो साह्रै सोझीचाहिँ छैन ।
‘कबड्डी’ सिनेमा गर्दा तपाईंलाई आँखा लगाउने निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्लमध्ये कोचाहिँ मन पर्छ ?
हाहाहा... । सबै दाइहरु उस्तै हुनुहुन्छ । काम गर्न दयाहाङ दाइ सजिलो हुनुहुन्छ । सुटिङ स्पटमा गफगाफ र रमाइलो कुराकानीका हिसाबले सौगात दाइ रमाइलो मान्छे हुनुहुन्छ ।
नेपाली चलचित्र जगत्को राम्रो र नराम्रो पक्ष के रहेछन् ?
मैले भोगेको भन्दा पनि सुनेको कुरा गर्छु म । चलचित्र क्षेत्रमा नराम्रा मान्छेमात्रै हुन्छन् । यो क्षेत्रमा लाग्ने मान्छेलाई राम्रो सोच्दैनन् भन्ने सुनेर मैले सुरुमा ‘कबड्डी’का लागि अफर आउँदा रिजेक्ट गरेको थिएँ । अहिले आफैं त्यो क्षेत्रमा छु । त्यो कुरा सत्य होइन रहेछ, हल्लामात्रै रहेछ ।
दोस्रो, सिने अवार्डहरुमा चाहिँ भेदभाव हुन्छ रे भनेको सुनेकी छु । म त नयाँ भएँ, मलाई त्यति धेरै थाहा पनि छैन । अरुले भनेको सुनेको मात्रै हो । ‘कबड्डी’ पनि धेरै दर्शकले मन पराइदिनुभयो, सबैले राम्रो भने । तर, अवार्डका सन्दर्भमा यो सिनेमा पछि नै पर्यो । ‘यति हिट चलचित्रकी नायिकाका हिसाबले तिमी ‘डेब्यु एक्टे«स’मा त पर्नुपर्ने’ भनेर धेरैले मलाई सोध्नुभयो, कमेन्ट गर्नु भयो । यो अरुले मलाई गर्नुभएको प्रश्न हो । तर, मलाई त्यति धेरै थाहा छैन यो विषयमा ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७३ १४:२६
प्रतिक्रिया दिनुहोस्