site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आईसीसी विश्वकप छनोट : लक्ष्य ठूलो, कठिन यात्रा

काठमाडौं । नेपाली क्रिकेट टिम यतिबेला विश्वकप छनोटको संघारमा रहेको छ । इतिहास रच्ने दाउमा रहेको नेपाली क्रिकेटलाई विश्वसामु पुनः परिचित हुने मौका आएको छ । 
‘मौका आउछ पर्खिंदैन, बगेको खोला फर्किदैन’ यो उखान नेपाली क्रिकेट टिमलाई लागु हुन्छ, यतिबेला ।

नेपाली क्रिकेटसामु अवसरको ढोका अघि आएको छ । अब त्यो ढोकालाई नेपालले खोल्न सक्छ या सक्दैन ? केही दिनपछि नै थाहा हुनेछ । यद्यपि नेपालले खेल्न लागेको यो प्रतियोगिता अहिलेसम्मकै माथिल्लो स्तरको हो । किनभने यो प्रतियोगितामा ४ टेष्ट नेशन राष्ट्रसहित ४ एक दिवसीय र २ लिष्ट ए का टिम छन् भने आफ्नै समूहमा जिम्बावे र अफगानिस्तान जस्ता टेष्ट नेशन राष्ट्र छन् ।

विभिन्न संकटबाट गुज्रिएको नेपाली क्रिकेटले आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता राष्ट्रलाई पराजित गर्न सक्ला ?

कप्तान पारस खड्का भनेका छन्, “हामी त्यो लेभलमा पुगि सकेका छौ की सजिलो भन्ने कुरा कहि छैन । सबै टिम बलिया छन् ।”

इतिहास रच्ने मौका
नेपाली क्रिकेट महत्वपूर्ण घडिमा छ । आईसीसी विश्वकप छनोटमा सफलता पाए नेपालको आगामी यात्रा निकै सुनौलो छ । विश्वकप छनोटको सुपर सिक्समा पुगे मात्रै नेपालले थुपै्र अवसर प्राप्त गर्ने छ भने नेपाली क्रिकेटको इतिहास त्यसै बन्ने छ । अहिलेसम्म नेपाल विश्वकप छनोटदेखि सुपर सिक्ससम्मको यात्रा तय गर्न सकेको छैन । 

एकपछि अर्को समस्यामा रुमलिएको नेपाली क्रिकेट आफ्नो अभिभावक नेपाल क्रिकेट संघ (क्यान) विनै विश्वकप छनोट जस्तो ठूलो प्रतियोगिता खेल्दैछ । हुन त, अन्य सहभागी ९ राष्ट्रका खेलाडी आफ्नो अभिभावक क्रिकेट बोर्डका साथ शानमा उपस्थित हुदा त्यो नेपाली खेलाडीसँग नहुदा खेलाडीमा खिन्नता पक्कै आउनेछ । यद्यपी पछिल्लो समयमा नेपाली खेलाडीले गरेको प्रदर्शन उच्चकोटीको र तारिफयोग्य छ ।

खेलाडी तथा प्रशिक्षकको आफ्नै बलबुताले नेपाली क्रिकेट लड्दै, फेरी उठ्दै विश्वकप छनोट सम्मको यात्रा पार गरेको छ । अबको यात्रा के हुन्छ ? 

कप्तान पारस भन्छन्, “डिभिजन टु मा जस्तै राम्रो प्रदर्शन गर्ने हो भने हामी अवस्य राम्रै गर्न सक्छौँ । सजिलो छैन । हरेक टिम राम्रो छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छानिएका राष्ट्र र चार वटा टेष्ट प्लेयिङ राष्ट्र छन् ।”

\"\"
 
सुपर सिक्समा नेपालको सम्भावना कति ?
नेपाल विश्वकप छनोटको सबै भन्दा कमजोर राष्ट्र गनिन्छ । त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि अन्य राष्ट्रलाई जतिको महत्व नेपाललाई दिएको छैन । अन्य देशका मिडियाहरूले पनि त्यहि अनुसारको स्थान दिएका छन् । तर, वास्तविकता के हो भने नेपाल कुनै पनि टिमलाई पराजित गर्न सक्ने टिम हो ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा यु–१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासका अनुसार “नेपाल कुनै पनि बेला, जुनै टिमलाई हराउने क्षमता राख्छ । सबै खेलाडीले आफ्नो क्षमताअनुसार खेले जित सम्भव छ ।”

नेपाली क्रिकेट टिम सुपर सिक्समा प्रवेश गर्ने लक्ष्यसहित जिम्बावे प्रस्थान गरेको हो । सुपर सिक्सम पुग्ने नेपालको सम्भावना पनि छ । समूह बी मा रहेको आफ्नो ग्रुपको टप थ्री मा परे नेपाल सुपर सिक्समा पुग्नेछ । तर त्यो त्यति सजिलो भने छैन । 

\"\"

कप्तान पारसले सुपर सिक्स र एक दिवसीय मान्यता पाउने लक्ष्य रहेको बताएका छन् । कप्तान पारसले भने “हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्स पुग्ने हो । त्यसपछि हामी विश्वकपको सपना देख्न सक्छौँ । त्यति सजिलो हुने छैन । २ वटा राष्ट्र मात्रै विश्वकपमा छनोट हुने भएकाले कतिपय राष्ट्रले करिब २ वर्षदेखि नै अभ्यास थालेका छन् । अहिलेको लागि भनेको एक दिवसीय मान्यता पाउने र सुपर सिक्समा पुग्ने नै हो ।”

त्यसो त, नेपालले आफ्नो पहिलो खेल फागुन २० गते नै आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । जिम्बावे नेपालको लागि बलियो र नौलो टिम हो । उमेर समूहमा जिम्बावेसँग नेपालले प्रतिस्पर्धा गरेपनि सिनियर टिमसँग खेलेको छैन । 

‘पहिलो गाँसमै ढुंगा भने झै’ पहिलो खेलमा हारिन्छ भन्ने एक प्रकारको नेपाली खेलाडीमा मानसिक दबाब हुन सक्छ । तर, नेपाली क्रिकेट टिम जिम्बावे जानुअघि कप्तान पारसले आफूहरू निकै उत्साहित रहेको बताएका छन् ।  
 \"\"

“हामी निकै उत्साहित छौँ । किनभन्दा हामी सन् २००८ सालमा म आफै कप्तान हुदा यु–१९ मा जिम्बावेलाई हराएका थियौ । फेरी एउटा अवसर पाएका छौँ जिम्बावेका सिनियर टिमसँग खेल्ने । यदी हामी ग्राउण्डमा गएर राम्रो खेल्ने हो भने जिम्बावेलाई च्यालेन्ज गर्न सक्छौ ।” कप्तान पारसले भने ।

विगतको नमिठो हार
सन् २०१४ मा नेपालले विश्वकपमा प्रवेश गर्ने सुनौलो अवसर पाएको थियो । सन् २०१३ सालमा बर्मुडामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री को उपाधि नेपालले जितेसँगै विश्वकप छनोटमा प्रवेश गरेको थियो ।

नेपालसामु एक दिवसीय विश्वकप खेल्ने अवसर थियो । तर त्यो अवसर न्यूजील्याण्डमा सम्पन्न विश्वकप छनोटले साकार पार्न सकेन । त्यसपछि नेपाली क्रिकेट फेरि पछि धकेलिएको थियो । हुन त त्यसबेला नेपालको ‘दुर्भाग्य’समेत थियो । नेपालका कप्तान पारस खड्का घाइते थिए भने मुख्य अन्य खेलाडी पनि घाइते तथा विरामी परे । डिभिजन थ्री को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल विरामी परेका थिए ।

सन् २०१४ मा भएको विश्वकप छनोटमा नेपाली खेलाडी एमेच्योर भएको तर अहिले सबै खेलाडी फर्ममा रहेको कप्तान पारस बताउछन् । विगतको जस्तो नहुने उनको तर्क छ ।
कप्तान पारसले भने “लाष्ट टाइमको विश्वकप छनोटमा भने ३–४ जना खेलाडी घाइते थिए । त्यतिबेला खेलाडीहरू एमेच्योर थिए । पहिलो पटक डिभिजन वानको टिमसँग खेल्दा नेपाललाई निकै गाह्रो भएको थियो । त्यसपछि हामीले निकै राम्रो खेल्न पाएका छौ ।”

\"\"

त्यसबेला विश्वकप छनोटबाट २ राष्ट्र स्कटल्याण्ड विजेता र युएई उपविजेता बन्दै विश्वकप खेलेको थियो भने नेपाल नवौ स्थानमा पर्दै पुनः डिभिजन थ्री मा घटुवा भएको थियो ।
त्यसबेला नेपालको समूह ‘ए’ मा स्कटल्याण्ड, युएई, हङकङ र क्यानडा थियो । अहिले पनि नेपालको समूहमा स्कटल्याण्ड र हङकङ छन् । त्यसबेला नेपालले आफ्नो समूहमा खेलेको कुनै पनि खेल जित्न सकेन । 

त्यसबेलाको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ९० रन र हङकङसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै, युएईसँग १०२ र क्यानडासँग १२ रनले पराजित भएको नमीठो हार नेपालसामु छ । प्ले अफको नवाँै स्थानको लागि भएको खेलमा भने नेपालले युगाण्डालाई १६० रनले पराजित गरेको थियो ।

नेपालले विश्वकप छनोटमा सहभागिता जनाएको यो तेस्रो पटक हुन्छ । यद्यपी सन् २००१ मा नेपालले भाग लिएको बेला आईसीसी ट्रफीको नाम थियो । त्यसबेला पनि नेपालले विश्वकप खेल्ने मौका खेर फालेका थिए । त्यसबेला नेपाल नामिवियासँग पराजित भएपछि विश्वकप खेल्ने अगाडीको ढोका बन्द भएको थियो । 

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro